१९ बैशाख २०८१, बुधबार

बालकोटमा ओली र माधव नेपाल छाडेका तेस्रो धारका नेताहरुबीच वार्ता


भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे

काठमाडौँ । अन्तत: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल छाडेका एमालेको तेस्रो धारका नेताहरु भेटेका छन् । ओलीले भेट नदिएर निराश भएर पार्टी छोड्ने मनस्थितिमा पुगेका तेस्रो धारका नेताहरु र ओली समूहका नेताहरुवीच निर्णायक वार्तामा जुटेका हुन् ।

उनीहरुले ओली समूहका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेल लगायतका नेतामार्फत ओलीलाई भेटेर छलफल शुरु गरेका हुन् । वार्ताका लागि ओली निवास बालकोटमा भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य ,रघु पन्त लगायतका तेस्रो धारका नेताहरु पुगेका हुन् ।

तेस्रो धारका नेताहरु १० बुँदे कार्यन्वयनको विषयमा छलफल गर्न बालकोट पुगेका हुन् । माधव नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निवेदन दिएपछि सो समूहबाट पनि अलग भएका उनीहरुले यसबीचमा एकता पक्षधर केन्द्रीय सदस्य र सांसदहरुको भेला राखेर १० बुँदे सहमति अक्षरशः कार्यन्वयन गर्न अध्यक्ष अ‍ोलीलाई अल्टिमेटम दिएका थिए ।

सोमबार या मंगलबारसम्म पनि अध्यक्ष ओलीले भेट नदिए र १० बुँदे कार्यान्वयनबारे प्रतिवद्धता नजनाए पुनः आफ्नो समूहका नेताहरुबीच छलफल गरेर आगामी बाटो तय गर्ने तेस्रो धारका नेताहरुले बताएपछि ओलीले सोमबार नेताहरुलाई छलफलमा बोलाएका हुन् ।

ओली पक्षका केही नेताहरुले १० बुँदे कार्यान्वयन भइसकेको र बाँकी कुरा पार्टी बैठकमा आएर राखे भइहाल्छ भन्नेजस्ता हल्का टिप्पणी गरेको भन्दै ओलीको पनि त्यही कुरा भए एकता कुनै हालतमा सम्भव नहुने तेस्रो धारका नेताहरुले अडान राख्दै आएका छन् ।

तेस्रो धारका नेताहरुले आफूहरु एकताकै पक्षमा रहेकाले मिलनबिन्दु १० बुँदे हुन सक्ने भन्दै त्यसको अक्षरशः पालना हुनुपर्ने बताएका छन् । माधव नेपाल लगायत १४ जनाको कारवाही फिर्ता हुनुपर्ने र अलग दल दर्ताका लागि गरेको प्रयासबाट माधव नेपाल पछाडि हट्नुपर्ने आफूहरुको बटमलाइन भएको सो धारले बताएको छ ।

माधव नेपालले एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । उक्त निवेदनमा आयोगले आउँदो बुधबार सनाखत गर्न बोलाएको छ । आयोगले त्यसै दिन दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेकाले त्यसअघि नै तेस्रो धारका नेताहरुले ओलीसँग भेटेर निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् ।

१० बुँदे कार्यान्वयन हुँदा नेकपा एकतासँगै एमालेमा मिसिएका कमिटी र नेताहरुसहितको बैठक बस्ने बताइएको छ । १० बुँदे कार्यान्वयनको मोडालिटीबारे बालकोटमा छलफल भइरहेको छ । १० बुँदे कार्यान्वयनका क्रममा जहाँ समस्या आउँछ त्यसको समाधानका लागि कार्यदल बनाउने बताइएको छ ।

यो पनि पढ्नुहोस्

ओलीले भेट नदिएपछि एमालेको तेस्रो धारका नेताहरु निराश, पार्टी छोड्ने मनस्थितिमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !