२६ बैशाख २०८१, बुधबार

एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी खारेज, केन्द्रीय कमिटीमा रूपान्तरण


एमालेको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटी खारेज गर्दै सोलाई केन्द्रीय कमिटीमा रूपान्तरण गरेको हो ।

हिजो मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले पार्टीलाई जेठ २ गते फर्कने गरेको निर्णयलाई आज महाधिवेशन आयोजक कमिटी बैठकले अनुमोदन गरेको हो ।

बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनीत गर्ने निर्णय पनि गरेको छ ।

रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते शुक्रबार काठमाडौंमा बस्ने गरी आह्वान गरिएको विघटित महाधिवेशन आयोजक कमिटीका एक सदस्यले बताए । आजको निर्णयसँगै एमाले २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रूपान्तरण भएको हो ।

नेकपा एमालेले दशौ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रुपान्तरण गरी पूर्ववत् केन्द्रीय कमिटीको बैठक आव्हान गरेको हो । पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको हिजो सम्पन्न स्थायी कमिटीले आज बस्ने आयोजक कमिटीको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही शर्तसहित गत जेठ २३ गते पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ गते नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको संरचनामा सञ्चालन गर्न तप्पर भएको घोषणा गरेका थिए ।

सर्वाेच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी एकतापूर्वको अवस्थामा रहेपछि एमालेको गत फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेको थियो । उक्त निर्णयमा नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट रहँदै आएकामा वार्ता र संवादबाट पार्टी एकतालाई कायम राख्ने कोशिश भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !