१२ जेष्ठ २०८१, शनिबार

नेपाली काँग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा शुरु


नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक शुरु भएको छ । पछिल्लो राजनीतिक घट्नाक्रम र पार्टीको महाधिवेशनमा केन्द्रित रहेर छलफल गर्न लागिएको काँग्रेसका एक नेताले बताएका छन् । बैठक आज दिउसो २ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने भनिएपनि ४ बजेदेखि शुरु भएको हो ।

काँग्रेसमा विवाद चुलिएर असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेलले हिजो दिउसो आफूनिकट नेताहरूको बैठक पौडेल निवास बोहराटारमा बोलाएपछि थाकेका कांग्रेसका सभापति देउवाले पदाधिकारी बैठक बोलाएका थिए । पौडेल पक्षले छुट्टै भेला राखेर दबाब बढाएपछि देउवाले पदाधिकारी बैठक बोलाउन बाध्य भएका थिए ।

आज बसिरहेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग छलफल गर्न लागिएको हो । मातहतका समितिबाट क्रियाशील सदस्यता वितरण र नवीकरणको सूची बुझाउने मिति नजिकिएसँगै केन्द्रमा छलफल हुन लागेको हो ।

क्रियाशील सदस्यता सम्बन्धमा विवादित जिल्लाबारे शीर्षस्थ नेताहरूसँगको छलफलबाट छानबिन समितिले निकास माग गरेको छ । आजको बैठकले समसामयिक विषयमा छलफलका लागि केन्द्रीय कमिटी बैठकको माग गर्ने बुझिएको छ ।

पौडेल निवास हिजो भएको बैठकमा देशको पछिल्लो राजनीतिक संक्रमण, सत्ता साझेदारी, पार्टीको आगामी महाधिवेशन, ओली सरकारको विकल्प र कांग्रेसको भूमिकाबारे छलफल भएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवा नयाँ गठबन्धन निर्माणमा अग्रसर नदेखिएको भन्दै सक्रिय भूमिका निर्वाह गर्न पार्टीभित्रैबाट दबाब दिँदा पनि उनी मौन रहेकामा पौडेल पक्ष असन्तुष्ट रहेको थियो । ओलीको विकल्प खोज्न देउवालाई दबाद दिने रणनीति अनुसार पौडेल पक्षले सो बैठक बोलाइएको थियो ।

नेपाली कांग्रेस अग्रसर नहुँदा राजनीतिक संक्रमण झन् गहिरिँदै गएको र ओली सरकारको स्वेच्छारिता बढ्दै गएको आरोप लागिरहेका बेला देउवाले बोलाएको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक शुरु भएको हो ।

यो पनि पढ्नुहोस्

पौडेलको दबाबले अन्तत: गले देउवा, बाध्य भएर बोलाए कांग्रेस पदाधिकारीहरुको बैठक

कांग्रेसमा चुलियो विवाद, पौडेल पक्षले बोलायो छुट्टै बैठक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !