३ असार २०८१, आइतबार

उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट


रामसहाय प्रसाद यादव र हानान गोडर गोल्डबर्गर

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरले शिष्टाचार भेटवार्ता गरेका छन् । उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उनीहरुबीच दुई पक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोगलगायत आपसी हित र चासोका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले नेपाल र इजरायलबीच १ जुन १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता मित्रता, सद्भाव, समझदारी र सहयोगको सम्बन्ध रही आएको उल्लेख गरे । “इजरायलले विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा नेपाललाई गरेको सहयोग प्रशंसनीय छन्”, उनले भने, “नेपाल–इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने विश्वास लिएको छु ।” उनले द्विपक्षीय व्यापार अभिवृद्धिका लागि थप प्रयत्नशील हुन आवश्यक रहेको समेत बताए ।

उपराष्ट्रपति यादवले भने, “इजरायल सरकारले नेपाली युवाहरु (खासगरी महिला) लाई ‘केयरगिभर’ सेवा क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराएकामा धन्यवाद दिनुभएको थियो ।” उनले बहुपक्षीय सम्बन्धको चर्चा गर्दै नेपाल मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा सधैँ रहिआएको बताए ।

इजरायलका राजदूत गोल्डबर्गरले नेपाल र इजरायलबीच विभिन्न क्षेत्रमा समानता रहेको उल्लेख गर्दै दुई देशको सम्बन्ध वर्षौंयता सुमधुर र प्रगाढ रहेको बताए । “जहाँसम्म विपिन जोशीको रिहाइको विषय छ, त्यसका लागि इजरायल सरकार हरसम्भव प्रयासरत छ”, उनले भने, “इजरायलबाट एउटा प्रतिनिधिमण्डल नेपाल आएर विपिनको घरमै गई परिवारलाई भेट्ने कार्यक्रम पनि छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !