७ जेष्ठ २०८१, सोमबार

पौडेलको दबाबले अन्तत: गले देउवा, बाध्य भएर बोलाए कांग्रेस पदाधिकारीहरुको बैठक


शेर बहादुर देउवा र रामचन्द्र पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा विवाद चुलिएर असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरूको बैठक पौडेल निवास बोहराटारमा बसिरहँदा कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

पौडेल निवास बोहराटारमा ३ बजेपछि बसिरहेको बैठकमा देशको पछिल्लो राजनीतिक संक्रमण, सत्ता साझेदारी, पार्टीको आगामी महाधिवेशन, ओली सरकारको विकल्प र कांग्रेसको भूमिकाबारे छलफल हुने बताइएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा नयाँ गठबन्धन निर्माणमा अग्रसर नदेखिएको भन्दै सक्रिय भूमिका निर्वाह गर्न पार्टीभित्रैबाट दबाब दिँदा पनि उनी मौन रहेकामा पौडेल पक्ष असन्तुष्ट रहेको थियो । ओलीको विकल्प खोज्न देउवालाई दबाद दिने रणनीति अनुसार यो बैठक बोलाइएको स्रोतको भनाइ छ ।

पौडेल पक्षले छुट्टै भेला राखेर दबाब बढाएपछि देउवाले पदाधिकारी बैठक बोलाउन बाध्य भएका हुन् । सभापति देउवाले भोलि सोमबार दिउसो २ बजे बस्नेगरी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका हुन् ।

नेपाली कांग्रेस अग्रसर नहुँदा राजनीतिक संक्रमण झन् गहिरिँदै गएको र ओली सरकारको स्वेच्छारिता बढ्दै गएको आरोप लागिरहेका बेला देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका हुन् ।

यो पनि पढ्नुहोस्

कांग्रेसमा चुलियो विवाद, पौडेल पक्षले बोलायो छुट्टै बैठक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !