१९ बैशाख २०८१, बुधबार

कांग्रेसमा चुलियो विवाद, पौडेल पक्षले बोलायो छुट्टै बैठक


शेर बहादुर देउवा र रामचन्द्र पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा विवाद चुलिएर असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरूको बैठक आफ्नो निवास बोहराटारमा बोलाएका छन् । २ बजेपछि बसिरहेको बैठकमा देशको पछिल्लो राजनीतिक संक्रमण, सत्ता साझेदारी, पार्टीको आगामी महाधिवेशन, ओली सरकारको विकल्प र कांग्रेसको भूमिकाबारे छलफल हुने बताइएको छ ।

नेपाली कांग्रेस अग्रसर नहुँदा राजनीतिक संक्रमण झन् गहिरिँदै गएको र ओली सरकारको स्वेच्छारिता बढ्दै गएको आरोप लागिरहेका बेला हुन लागेको यो बैठकलाई विशेष चासोका साथ हेरिएको छ । सो बैठकले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन सभापतिको ध्यानाकर्षण गराउने पौडेलनिकट नेताहरू बताउँछन् ।

बैठकमा महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा.मिनेन्द्र रिजाल लगायत नेताहरू बैठकमा सहभागी रहेको बताइएकाे छ ।

पार्टी सभापति शेरबहादुर देउवा नयाँ गठबन्धन निर्माणमा अग्रसर नदेखिएको भन्दै सक्रिय भूमिका निर्वाह गर्न पार्टीभित्रैबाट दबाब दिँदा पनि उनी मौन रहेकामा पौडेल पक्ष असन्तुष्ट रहेको छ । ओलीको विकल्प खोज्न देउवालाई दबाद दिने रणनीति अनुसार यो बैठक बोलाइएको स्रोतको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !