१३ बैशाख २०८१, बिहिबार

भारतीय टेलिभिजन जी न्यूजले भन्यो – सगरमाथामा भारतले दाबी गर्नुपर्छ

‘जी न्यूज’ का चौधरी भन्छन् - सगरमाथाको नाम माउन्ट सिकदर हुनुपर्छ


‘जी न्यूज’ का प्रधान-सम्पादक सुधीर चौधरी सगरमाथा रिपोर्ट

काठमाडौं । जी न्यूजले नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर आपत्तिजनक समाचारहरू पटक-पटक प्रसारण गर्दै आएकोमा फेरि विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको छ ।

नेपालका प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिन नेपाल आएका भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ का प्रधान-सम्पादक सुधीर चौधरीले हिजो सगरमाथावारे कालापत्थर पुगेर गरेको एक स्थलगत रिपोर्ट प्रसारण गर्दै सगरमाथाको पून: नामकरण गरेर भारतीयको नाममा ‘माउन्ट सिकदर’ राख्नुपर्ने भन्दै अभियान थालेका छन् ।

यो पनि पढ्नुहोस् : प्रधानमन्त्री ओलीकै अगाडि भारतीय पत्रकार चौधरीले लगाएको ‘उपरखुट्टी’ को सर्वत्र आलोचना

नेपालको शिर सगरमाथा तथा राष्ट्रियतामाथि नै आघात पुर्‍याउने गरी पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेकोमा नेपाली मिडिया र सामाजिक संजालमा फेरि उनको आलोचना शुरु भएको छ । हिजो मात्र नेपालका प्रधानमन्त्री ओलीकै अगाडि चौधरीसँग अन्तर्वार्ता लिएपछि तस्वीर खिचाउदा लगाएको ‘उपरखुट्टी’ को सामाजिक संजालमा सर्वत्र आलोचना भएको थियो ।

सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर चौधरीले भने, ‘आज यो ठाउँबाट तपाईंहरूलाई म केही बताउन चाहन्छु । म भन्न चाहन्छु कि माउन्ट एभरेष्टमाथि भारतको पनि दाबी हुनुपर्छ ।’ उनले भारतसँग सगरमाथाको साइने भएको पनि दाबी गरे ।

यो पनि पढ्नुहोस् : भारतीय टेलिभिजनमा प्रधानमन्त्री भने, ‘हाम्रो भूमि र आकाश कसैलाई दिइन्न’

सन् १८४७ मा तत्कालीन भारतीय सर्वेयर जनरल कर्णेल जर्ज एभरेष्टको नाममा विश्वको सर्वोच्च हिमशिखरलाई अङ्ग्रेजीमा ‘माउन्ट एभरेष्ट’ नामाकरण गरिएको थियो । तर चौधरीका अनुसार राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेकोले सगरमाथाको नाम पनि उनैको नामबाट ‘माउन्ट सिकदर’ राख्नुपर्ने चौधरीको धारणा छ ।

चौधरीका अनुसार राधानाथ सिकदर बंगालका प्रख्यात गणितज्ञ थिए । उनले माउन्ट एभरेष्टको उचाइ नापेको बेला भारतमा अंग्रेजको शासन भएकोले उनीहरूले आफ्नो हिसाबले सगरमाथाको नाम ‘माउन्ट एभरेष्ट’ राखिदिएको चौधरीको तर्क छ । चौधरीका अनुसार यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपर्दथ्यो ।

यो पनि पढ्नुहोस् : नेपाल र भारतको सीमा विवाद वार्ताबाट समाधान हुन्छ : प्रधानमन्त्री ओली

उनी भन्छन्, ‘यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने ।’

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय टेलिभिजन च्यानल जी न्युजले विवादित सामग्री प्रकाशित गरेर ‘राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर प्रसारण गरेको कार्यक्रम सुधीरले नै चलाएका थिए । यतिसम्म कि चिनिया राजदूत होउ यान्छीसंग प्रधानमन्त्री ओलीले चक्कर चलाएको भन्दै भ्रामक सामाग्री समेत उनकै च्यानलले प्रसारण गरेको थियो ।

यो पनि पढ्नुहोस् : चुनाबपछि आफ्नै पार्टीको सरकार बन्छ : प्रधानमन्त्री ओली

पछि च्यानलले माफी माग्दै सामग्री हटाएको भन्दै भिडियो बाहिरिएको थियो भने जी न्युजको आधिकारिक च्यानलमा भने उक्त भिडियो भने भेटिएको थिएन । चौधरीले पनि नेपालबारे विवादित ट्वीट पनि गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको मानहानी र दुष्प्रचार गरेको भन्दै नेपालका केही मल्टी सिस्टम अपरेटरहरुले भारतीय समाचार च्यानलको प्रसारण बन्द गरेपछि चौधरीले विवादित ट्वीट गरेका थिए ।

नेपालका प्रधानमन्त्री ओलीको अगाडि चौधरीले लगाएको ‘उपरखुट्टी’ अमर्यादित हर्कतको पराकाष्टा देखिन्छ । पत्रकार चौधरीले सार्वजनिक गरेको उक्त तस्वीरमा प्रधानमन्त्री ओलीसंग उनले ‘उपरखुट्टी’ लगाएका छन् । मर्यादा र साधारण अर्थले पनि प्रधानमन्त्री जस्तो सम्माननीय पदमा आसिन व्यक्तित्वको अगाडि ‘उपरखुट्टी’ लगाउने चलन छैन । उक्त तस्वीरमा प्रधानमन्त्री ओली स्वयं ‘उपरखुट्टी’ नलगाई सामान्य हिसावमा बसेको देखिएको छ ।

यो पनि पढ्नुहोस् :ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग आफूलाई यसरी गरे तुलना

छिमेकी मित्रराष्ट्र देश नेपालमा के चलिरहेको छ भनेर थाहा पाउनु महत्त्वपूर्ण भएकोले नेपालका प्रधानमन्त्री ओलीसँग राम्रो कुराकानी गर्न नेपाल आएको उनले आफ्नो फेसबुक पेजमा लेखेका थिए । साथै अब नेपालले भारतलाई किन ठूल्दाजुका रुपमा व्यवहार गर्न चाहँदैन भन्ने बारेमा पनि बुझ्नु जिज्ञाषाको विषय भएकोले उनी नेपालका प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिन आएको पनि उनले बताएका छन् ।

तर स्रोतका अनुसार ‘रअ’ प्रमुख सामन्त गोयललाई नेपाल ल्याउन मध्यस्ता गर्ने टोलीले नै चौधरीलाई ल्याएर प्रधानमन्त्रीसँग अन्तरवार्ता गर्ने चाजोपाजो मिलाएको थियो । नेपाल र भारतवीचको सम्वन्ध सुधार गर्न बिजेपी र भारत सरकारको प्रवक्ता जस्तो बनेर नायक बन्न नेपाल आएका चौधरी खलनायक भएर निस्केका छन् । फेरि उनले यस्तो आपत्तिजनक रिपोर्ट प्रशारण गरेर सवै नेपालीको चित्त दुखाएका छन् । उनको यस्तो कदम र हर्कत नेपालको शिर सगरमाथा तथा राष्ट्रियतामाथि नै आघात पुर्‍याउने भएकोले निन्दनीय छ ।

यो पनि पढ्नुहोस्

चीन र भारतबीच मध्यस्थता गर्न तयार छु : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !