५ जेष्ठ २०८१, शनिबार

सभामुख र सांसदको अराजकता रोक्न संसद विघटन गरेँ : प्रधानमन्त्री ओली


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा र सांसदहरु अराजक बनेकाले त्यसलाई रोक्न संसद विघटन गर्नुपरेको जिकीर गरेका छन् ।

आज शुक्रबार नेकपानिकट प्रवासी नेपाली मन्चका कार्यकर्तालाई अंग्रेजी नयाँ बर्षको शुभकामना सन्देश दिने क्रममा जुममार्फत सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ओलीले सभामुख र सांसदहरू अनुशासनहीन भएको तथा आफूविरुद्ध अराजक काम गरेकाले संसद् विघटन गर्नु परेको भन्दै आफ्नो कदमको बचाउ गरे ।

प्रधानमन्त्री ओलीले नेकपामा कुन पक्ष बहुमतमा छ भन्ने अब हुने चुनावले टुंगो गर्ने भएकाले केही समय धैर्य गर्न सल्लाह पनि दिए । संसद भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि विभाजनको प्रमाण पत्र कुर्दै गरेको नेकपामा प्रचण्ड-नेपाल समूहले आफूहरु बहुमतमा रहेको दाबी गरिरहेका सन्दर्भमा ओलीले जवाफ फर्काएका हुन् ।

पार्टी विवादको निकासका लागि आफूले धेरै काँध थापेको तर्क गर्दै ओलीले पार्टी फुटेको नभई केही नेता अलग भएर सडकमा गई तमासा देखाएको मात्र हो भने । दाहाल नेपाल पक्षले लोकतान्त्रिक प्रणाली ठीक होइन, संघीयता ठीक होइन भन्ने निष्कर्ष निकालेको आरोप लगाउँदै उनले ‘राजा चाहिन्थ्यो भन्नेलाई ठाउँ दिन राष्ट्रपतिको हुर्मत लिन खोजिएको बताए ।

ओलीले प्रचण्ड-नेपाल समूहले पार्टीको खाताबाट पैसा गायब पारेको आरोप लगाएका छन् । पार्टी कार्यालय कब्जा गर्ने तथा खाताको पैसा गायब गर्ने कार्य अर्को पक्षले गरेको आरोप उनले लगाएका हुन् । पार्टीका कार्यकर्ताले दुःख गरेर जम्मा गरेको पैसा गायब पार्ने कार्य भएको समेत उनले बताएका हुन् ।

सभामुख अग्नि सापकोटाले पदीय मर्यादाअनुसार काम नगरेको भन्दै ओलीले भन्दै संसद्ले गर्नुपर्ने निर्णय नगरेर सभामुखले रोकेर राखेको पनि बताए । सभामुख सापकोटामाथि किर्ते गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सभामुख जस्तो मर्यादित पदबाट वैधानिकता दिनका लागि झुठो सनाखत सभामुखबाट किर्ते काम गरेर लज्जास्पद भएको बताए ।

प्रदेशहरूमा पनि अस्थिरता ल्याउन प्रचण्ड-नेपाल पक्ष लागिरहेको भन्दै ओलीले अविश्वासको प्रस्ताव मार्फत् अशान्ति सिर्जना गराएको आरोप लगाए । ओलीले संविधान रक्षा र कार्यान्वयनका लागि संसद विघटन गरेको जिकीर गर्दै यसले नै प्रणालीको रक्षा गर्ने तर्क गरे ।

अदालतमा विचाराधीन मुद्दामा आफ्नो फैसला सुनाउँदै प्रधानमन्त्री ओलीले संसद् पुनःस्थापना नहुने भएकोले सबैलाई निर्वाचनमा भाग लिन आग्रह गरे । प्रधानमन्त्री ओलीले पुस ५ गते संसदको तल्लो सदन प्रतिनिधि सभा विघटन गर्न गरेको सिफारिश सोही दिन राष्ट्रपति विद्या भण्डारीबाट सदर भएको थियो ।

यो पनि पढ्नुहोस्

पार्टीको खाताबाट पैसा गायब पारियो : प्रधानमन्त्री ओली

प्रचण्डलाई ओलीको चेतावनी : बहुमत अल्पमतको टुंगो चुनावपछि हुन्छ, सडकमा तमासा नदेखाए हुन्छ”

निर्वाचन आयोगले प्रचण्ड-नेपाल समूहको निवेदन फिर्ता गरेको प्रधानमन्त्री ओलीको दावी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !