१२ आश्विन २०८१, शनिबार

ओलीपछि बामदेव पनि एकाएक किन पुगे खुमलटार ?


ओली, प्रचण्ड र बामदेव फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भइरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि एकाएक खुमलटार पुगेका छन् ।

ओली खुमलटार पुगेको आधा घण्टापछि गौतम पुगेका हुन् । ओली दाहाललाई भेट्न खुमलटार पुगेको आधा घण्टापछि गौतम पनि पुग्नुलाई विशेष अर्थपूर्ण रुपमा हेरिएको छ । अहिले तीनै नेताबीच खुमलटारमा भेटवार्ता भइरहेको छ ।

ओली बिहान ११ बजे अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । पार्टीमा जारी गतिरोधका वीच ओली दाहाल निवास गएका हुन् । हिजो शुक्रबार दाहाल र ओलीवीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

बालुवाटारमा भएको भेटमा दाहालले ओलीलाई ‘म मात्रै आइरहन्छु तपाईं पनि मेरोमा आउन हुन्छ नी’ भनेपछि ओली खुमलटार गएको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ । प्रचण्डको सचिवालय स्रोतले प्रधानमन्त्री गएको पुष्टि गरेको छ ।

नेपालमा कोरोनाको महामारी सुरू भएदेखि प्रधानमन्त्री ओली बालुवाटरबाट विरलै बाहिर निस्कने गरेका छन् । यसअघि पार्टीभित्र उनीदेखि असन्तुष्ट रहँदै आएको माधव नेपाल तथा दाहाल समूहले सचिवालयमा अल्पमतमा पारेपछि वामदेव गौतमलाई आफ्नो पक्षमा मनाउन साउनमा गौतम निवास भैंसेपाटी पुगेका थिए ।

नेकपाका कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल समूहले हिजो प्रदेश १ को पार्टी भेला आयोजना गरेका थिए । पेरिसडाँडामा आयोजना हुन् लागेको सो भेलामा प्रचण्ड-नेपाल समूहले प्रदेश-१ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरुका साथै प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई समेत भेलामा बोलाइएको थियो ।

पार्टीभित्र सहमति खोज्नका लागि स्थायी कमिटी बैठक पर सारिरहेका बेला दुवै समूहले गुटगत गतिविधिलाई जारी राख्दै आफ्नो शक्ति सञ्चयलाई निरन्तरता दिएर दाहाल-नेपाल समूहले संगठित विरोधमा उत्रिन निर्देश गरेका थिए ।

दाहाल-नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई पद त्याग्न दबाब दिँदै आएतापनि ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडान लिदै आएका छन् । तथापी पार्टीभित्र अल्पमतमा परेका उनीमाथि दाहाल-नेपाल पक्षको दबाब तीव्र रुपमा बढेको छ ।

पछिल्लोपटक ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि दाहाल-नेपाल पक्ष झन् रुष्ट भएको छ । अध्यादेश फिर्ता नलिए ओलीमाथि एक्सन लिने चेतावनी प्रचण्डले दिएका छन् ।

कतिपयले यसलाई प्रधानमन्त्री ओली थप लचक भएर आएको रुपमा राजनीतिक विश्लेषकले यसलाई विश्लेषण गरेका छन् । प्रचण्ड र नेपालले शुक्रबार गुट भेला पश्चात कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरेपछि ओली गलेको हो कि भनेर पनि विश्लेषण गर्न सकिन्छ ।

यसका साथै ओली र प्रचण्डको भेटवार्तामा बामदेव पनि सहभागी हुनुलाई एकदम चासोपूर्ण रुपमा हेरिनुको साथै नेकपामा के को खिचडी पाकिरहेको छ भन्ने जिज्ञाषा बढेको छ । सत्ता हस्तान्तरण गर्ने कुरा उठिरहेको बेला के नेताहरु यसको लागि तयार भएका हुनकी भन्ने अनुमान पनि गर्न सकिन्छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर २१ गते आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकमा बोल्दै आफू पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका थिए । सो बैठकमा प्रचण्डले गणतान्त्रिक प्रणाली र पार्टी एकतालाई संस्थागत बनाउन व्यक्ति र पद ठूलो कुरा नभएको बताएका थिए ।

यसअघि प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले आफूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहेको बताएका थिए । ओलीले फेरि नेकपाका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई प्रधानमन्त्रीको ललिपप देखाएका थिए । पुस १ गते बुधबार साँझ बालुवाटारमा बसेको स्थायी समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा ओलीले वामदेव गौतमको नामै लिएर बामदेवलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए ।

सो बैठकको अन्तिममा प्रधानमन्त्री ओलीले हामी ५ जनामध्ये बामदेवजी प्रधानमन्त्री नभएको उहाँलाई कतैबाट चुनाव लडाएर प्रधानमन्त्री बनाउन भनेर प्रस्ताव गरेका थिए । आफूले प्रधानमन्त्री छोड्न परे नयाँ पुस्तालाई मात्र हस्तान्तरण गर्ने उनको अडानका कारण ओलीले बामदेवलाई सत्ता सुम्पिने आफ्नो इच्छा अभिव्यक्त गरेको बुझ्न गार्हो छैन ।

यसअघि पनि ओलीले गौतमलाई पटक-पटक प्रधानमन्त्री बनाउने आश्वसन दिदै आएका थिए । कोरोना महामारीको वेला लकडाउनमा भएको बेला वैशाखमा पनि उनले गौतमलाई कोरोनाको महामारी सकिएपछि भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर ललिपप देखाएका थिए ।

प्रधानमन्त्री ओलीले आफूले यदि प्रधानमन्त्री पद छोड्नुपर्ने अवस्था आएमा गौतमका लागि छोड्ने बताएका थिए । तर यसलाई दाहाल-नेपाल समूहले ओलीले अल्झाउन फालेको कार्डमा रुपमा लिने गरेका छन् । गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावमा कुनै कानुनी र व्यवहारिक आधार नदेखिएपनि उत्साहित भएका गौतमको सामाजिक संजालमा चर्को आलोचना भएको थियो ।

नेकपामा गौतमलाई अडान नभएको नेताको रुपमा हेरिन्छ । यसभन्दा अघि पनि गौतमले प्रतिनिधि सभामा जान अनेक जस्केला प्रयोग गर्न खोजेपनि जनताले गरेको चर्को आलोचनाले पछि हटेका थिए । नेकपामा विवाद चर्किदै गर्दा प्रधानमन्त्री ओलीले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताउँदै आएका छन् । यसअघि प्रधानमन्त्री ओलीले आफूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहेको बताएका थिए ।

नेकपामा अव ओली र प्रचण्डले नेतृत्व हस्तान्तरण गरेमा नेतृत्व लिन सक्ने नेताको रुपमा बामदेव गौतमलाई हेरिएको छ । साथै ओली-दाहाल र गौतम मिलेर कतै नेपाललाई एक्ल्याउन खोजेको त होइन भन्ने शंका पनि बढेको छ । यस्ता विभिन्न शंका उपशंकाको आंकलन हुदै गर्दा त्यो अव केहि समयभित्र नेकपामा देखिने विकसित घटनाक्रम र धुर्वीकरणले अझ प्रष्ट हुनेछ किनकी विगतमा नेपालको राजनीतिक विश्लेषण गर्ने कतिपय माहिर राजनीतिक विश्लेषकको विश्लेषण समेत झुट्टा सावित हुने गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली किन अचानक पुगे खुमलटार ?

ओलीले फेरि किन देखाए वामदेवलाई प्रधानमन्त्रीको ललिपप ?

म पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु : प्रचण्ड

पेरिस डाँडामा अचानक प्रचण्ड-नेपाल समूहको भेला, अव के गर्लान् ओलीले ?

नेकपा विवाद फेरि बल्झिने संकेत : अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

नेकपाको आन्तरिक विवाद के समाधानतर्फ नै उन्मुख भएको हो त ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !