२३ बैशाख २०८१, आइतबार

आज बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने


नेकपा स्थायी समिति बैठक फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार बस्ने स्थायी कमिटी बैठकमा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार आज आइतबारको बैठक प्रधानमन्त्रीको स्वास्थ्यको दृष्टिकोणले धुम्बाराहीमा बैठक बस्न उपयुक्त नभएको चिकित्सकले दिएको सुझाव अनुसार प्रधानमन्त्री सहभागी हुने भएर नै बैठक बालुवाटारमा नै बस्ने भएको हो ।

यसअघि मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन् । उनले स्थायी कमिटीमा पत्र पठाउँदै आफ्नो विवेक प्रयोग गर्न स्थायी कमिटी सदस्यहरूलाई आग्रह समेत गरेका थिए ।

पार्टी स्थायी कमिटीको मंसिर २१ गते बसेको बैठकमा लिखितपत्र पठाउँदै अध्यक्ष ओलीले गत कात्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्तावले पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथा पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको जनाएका थिए ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको आरोप पत्रमाथि हुने छलफलमा भाग लिन नसक्ने समेत उनले पत्रमा उल्लेख गरेका थिए । स्थायी कमिटी बैठकको एजेन्डा पार्टीमा देखिएका समस्याबारे छलफल गर्ने भन्ने तय भएपछि प्रधानमन्त्री पनि सहभागी हुने उनी निकट स्रोतले बताएको छ ।

पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रचण्डलाई भेटेका छन् भने लुम्बिनी प्रदेश मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेल शनिबार प्रचण्ड निवास खुमलटार पुगेका थिए । स्रोतका अनुसार प्रचण्ड र पोखरेलबीच केहीबेर मात्रै छलफल भएको थियो ।

आइतबार बिहान प्रचण्ड र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङबीच भेटघाट हुने बताइएको छ । यसअघि दुई अध्यक्षबीच विवाद बढ्दा दोस्रो पुस्ताका नेताहरू सक्रिय हुने गरेका थिए । यसपटक भने उनीहरूको पनि गतिविधि देखिएको छैन ।

मंसिर २० गते शनिबार बसेको सचिवालय बैठकमा ओलीले आफूले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडान दोहोर्‍याएका थिए । उनले पार्टीभित्र बहुमतका आधारमा आफूलाई हटाउन नसकिने समेत बताएका थिए । ओलीले अडान नछाड्ने संकेत गर्दै पार्टीको एकता महाधिवेशनसम्म आफू अध्यक्षमा रहने र अर्को संसदीय चुनाव नभएसम्म प्रधानमन्त्री हुने स्पष्ट पारेका थिए ।

ओलीले आफू सधै पदमा रहिरहने नभनेको र आगामी महाधिवेशन र संसदीय चुनावपछि पार्टी नेतृत्व र सरकारको नेतृत्व दुवै हस्तान्तरण गर्न तयार रहेको बताएका थिए । गोप्य स्रोतका अनुसार ओलीले विगतमा जस्तै पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न आफू तयार रहेको बताएका थिए ।

त्यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका थिए । मंसिर २१ गते आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकमा बोल्दै प्रचण्ड गणतान्त्रिक प्रणाली र पार्टी एकतालाई संस्थागत बनाउन व्यक्ति र पद ठूलो कुरा नभएको बताएका थिए ।

यो पनि पढ्नुहोस्

नेकपा स्थायी कमिटीको अर्काे बैठक २८ गते

म पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु : प्रचण्ड

स्थायी कमिटीमा ओलीको पत्र, सत्यसँग लड्दिनँ, शक्तिसँग झुक्दिनँ (पत्रसहित)

धुम्बाराहीमा ओली बिनै नेकपा स्थायी समिति बैठक शुरु, आज के होला ?

ओलीलाई अर्को धक्का : साझा कार्यदलको प्रस्ताव सचिवालय बैठकबाट अस्वीकृत

अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्दिन, स्थायी कमिटीको काम छैन : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !