२२ बैशाख २०८१, शनिबार

धुम्बाराहीमा ओली बिनै नेकपा स्थायी समिति बैठक शुरु, आज के होला ?


धुम्बाराहीमा नेकपा स्थायी समिति बैठक

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको छ । बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली भने उपस्थित भएका छैनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा प्रधानमन्त्री ओली सहभागी नहुने जानकारी दिए ।

नेताहरुले केही समय ओलीलाई कुरेपनि नआउने निश्चित भएपछि उनी बिनै बैठक शुरु भएको हो । कोभिड- १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी नआएका हुन् । ओलीले स्थायी समितिको बैठकको औचित्य नभएको बताउँदै आएका छन् ।

हिजो शनिबार बसेको सचिवालय बैठकमा ओलीले आफूले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडान दोहोर्‍याएका थिए । उनले पार्टीभित्र बहुमतका आधारमा आफूलाई हटाउन नसकिने समेत बताएका थिए । ओलीले अडान नछाड्ने संकेत गर्दै पार्टीको एकता महाधिवेशनसम्म आफू अध्यक्षमा रहने र अर्को संसदीय चुनाव नभएसम्म प्रधानमन्त्री हुने स्पष्ट पारेका थिए ।

ओलीले आफू सधै पदमा रहिरहने नभनेको र आगामी महाधिवेशन र संसदीय चुनावपछि पार्टी नेतृत्व र सरकारको नेतृत्व दुवै हस्तान्तरण गर्न तयार रहेको बताएका थिए । गोप्य स्रोतका अनुसार ओलीले विगतमा जस्तै पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न आफू तयार रहेको बताएका थिए ।

उनले पार्टीभित्र आफूलाई घेराबन्दी पारी अप्ठ्यारो परिस्थिति सिर्जना गरी पद छाड्न वाध्य पार्न खोजिएकोमा त्यसको सामना गर्ने चुनौती समेत दिएका थिए । सचिवालय बैठकमा बोल्दै ओलीले अधिकांश सदस्यहरुले सचिवालयबाट निकास ननिस्केपछि दुवै अध्यक्षका प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्न दिएको सुझावलाई प्रतिवाद गर्दै स्थायी समितिलाई ‘रत्यौली’को संज्ञा दिएका थिए ।

ओलीलाई दुईमध्ये एक पद छाड्न बाध्य बनाउने रणनीति दाहाल-नेपाल समूहको छ । ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न लगाएर सहमति निकाल्ने प्रयास भइरहँदा उनले कुनैपनि पद नछाड्ने अडान लिएका छन् । यसले नेकपाभित्रको विवादलाई अझ जटिल मोडमा लागेको छ । नेकपाकै नेताहरुले विवाद फुट उन्मुख भएको बताउन थालेका छन् ।

यो पनि पढ्नुहोस्

ओलीलाई अर्को धक्का : साझा कार्यदलको प्रस्ताव सचिवालय बैठकबाट अस्वीकृत

अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्दिन, स्थायी कमिटीको काम छैन : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !