१३ बैशाख २०८१, बिहिबार

स्थायी कमिटीमा ओलीको पत्र, सत्यसँग लड्दिनँ, शक्तिसँग झुक्दिनँ (पत्रसहित)


केपी शर्मा ओली

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी पत्रमार्फत् पठाएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि औपचारिक रूपमा छलफल गर्न नसकिने उल्लेख गर्दै अध्यक्ष ओलीले पत्र पठाएका हुन्।

ओलीले पार्टीमा आफूविरुद्ध आएको प्रस्ताव सम्बन्धमा स्थायी कमिटीले विवेकपूर्ण निकास दिने विश्वास व्यक्त गरेका छन् । पार्टी स्थायी कमिटीको आजदेखि शुरु भएको बैठकमा लिखितपत्र पठाउँदै अध्यक्ष ओलीले गत कात्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्तावले पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथा पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको जनाएका छन् ।

अध्यक्ष ओलीले आफूलाई स्थायी कमिटीका सदस्यको सामूहिक विवेकमाथि विश्वास रहेको जनाउँदै गतः भदौ २६ गते उक्त कमिटीले पार्टीलाई यस्तै सङ्कटबाट सकुशल अवतरण गराएको पनि स्मरण गरेका छन् ।

अध्यक्ष ओलीको उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको स्थायी कमिटी बैठकमा वाचन गरेर सुनाएका थिए । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गरेर आफ्नो अनुपस्थितिको कारण देखाउँदै पत्र पठाएको जानकारी दिए।

अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डको प्रस्तावलाई औपचारिक रूपमा बैठकमा छलफल गर्न नसकिने धारणा रहेको र त्यसै कारणले आफू बैठकमा नआएको उल्लेख गरेको प्रवक्ता श्रेष्ठले बताए । त्यसपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठकमा बोलेका थिए । उनले पार्टी संकटमा रहेको बताएका थिए ।

आज बसेको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित थिए । उनले आफू बैठकमा उपस्थित नहुनाको कारणसहित दुई पेजको पत्र पठाएका थिए । कोभिड-१९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी बैठकमा नआएको बुझिएको छ । ओलीले स्थायी समितिको बैठकको औचित्य नभएको बताउँदै आएका छन् ।

हिजो शनिबार बसेको सचिवालय बैठकमा ओलीले आफूले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडान दोहोर्‍याएका थिए । उनले पार्टीभित्र बहुमतका आधारमा आफूलाई हटाउन नसकिने समेत बताएका थिए । ओलीले अडान नछाड्ने संकेत गर्दै पार्टीको एकता महाधिवेशनसम्म आफू अध्यक्षमा रहने र अर्को संसदीय चुनाव नभएसम्म प्रधानमन्त्री हुने स्पष्ट पारेका थिए ।

यस्तो छ स्थायी कमिटीलाई ओलीले लेखेको पत्र
स्थायी कमिटीमा ओलीको पत्र
स्थायी कमिटीमा ओलीको पत्र

यो पनि पढ्नुहोस्

धुम्बाराहीमा ओली बिनै नेकपा स्थायी समिति बैठक शुरु, आज के होला ?

ओलीलाई अर्को धक्का : साझा कार्यदलको प्रस्ताव सचिवालय बैठकबाट अस्वीकृत

अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्दिन, स्थायी कमिटीको काम छैन : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !