१४ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा ओली, प्रचण्ड र नेपालबीच छलफल जारी


ओली, प्रचण्ड र नेपाल

काठमाडौं, साउन १। पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अर्का बरिष्ठ नेता माधव कुमार नेपाल बीच आज बिहिवार पनि छलफल जारी रहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि ३ जना नेताहरु वीच छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । बुधबार अध्यक्षद्वयबीचको छलफलमा पार्टीका वरिष्ठ नेता नेपाललाई पनि राखेर पुन : छलफल गर्नुपर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले राखेकाले नेपाल पनि सहभागी भएका हुन्।

यसअघि हिजो दुई अध्यक्षबीच छलफल भएको थियो । सहमतिका लागि र बाढी पहिरोका कारण भन्दै १ साता नेकपाको स्थायी समिति बैठक स्थगित भएको थियो । स्थायी समिति बैठक भोलि साउन २ गते बोलाइएको छ । पार्टीभित्रको विवादका कारण असार १८ गतेदेखि नेकपा स्थायी समिति बैठक बस्न सकेको छैन ।

बालुवाटारमा जानु अगाडि प्रचण्डले आज बिहान खुमलटारमा वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’सँग सामुहिक छलफल गरेका थिए । बुधबार ओलीसँग छलफलका लागि बालुवाटार जानुअघि दाहालले खुमलटारमा नेपालसँग भेट गरेका थिए । त्यसलगत्तै दाहालले उपाध्यक्ष गौतमसँग उनकै निवास भैसेपाटीमा पुगेर छलफलको बिफ्रिड गरेका थिए ।

साँझ भने दाहालले फेरि नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । उता प्रधानमन्त्री ओलीले पनि दाहालसँगको छलफलपछि बुधबार साँझ आफूनिकट केही नेता र दाहाल र नेपाल निकटका अन्य केही स्थायी समिति सदस्यसम्मलाई पनि बोलाएर बालुवाटारमा छलफल गरे ।

पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व सक्रिय भएपनि नेताका अडानले सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन् । प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।

यो पनि पढ्नुहोस्

ओली-प्रचण्ड बीच आज पनि बालुवाटारमा छलफल जारी

ओली-प्रचण्ड बीचको ‘वान टु वान’ वार्ता सकियो, आज पनि सहमति भएन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !