८ बैशाख २०८१, शनिबार

ओली-प्रचण्ड बीचको ‘वान टु वान’ वार्ता सकियो, भोलि फेरि बस्ने


ओली-प्रचण्ड बीच बालुवाटारमा भएको छलफल

काठमाडौं, असार ३१ । पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बुधवार भएको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको आजको बार्ता पनि विना निष्कर्ष टुंगिएकोले कुनै सहमित हुन् नसकेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षहरू बीच केहिबेर अघि सकिएको छलफलमा पार्टीमा जारी गतिरोध अन्त्य र स्थायी कमिटिका लागि सहमति जुटाउने प्रयास गर्ने ठानिएको थियो । आज भएको छलफलमा सहमतिमा पुग्ने आशा गरिएको थियो ।

दिउँसो साढे दुई बजेसम्म चलेको छलफल सकिएपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । बालुवाटार स्रोतका अनुसार अघिल्लो बुधबारको छलफलपछि मंगलबार प्रचण्ड र ओलीले एक्लाएक्लै छलफल गरेका थिए । मंगलबार कुरा नमिलेपछि बुधबारका लागि छलफल तय भएको थियो ।

पार्टीभित्र आन्तरिक विवाद चर्किदै जाँदा शुक्रबारका लागि बोलाइएको स्थायी समिति बैठक साउन २ गतेसम्म सरेको छ । स्थायी समिति बैठक स्थगित भएपछि प्रचण्ड शनिबार चितवन गएका थिए । सोमबार काठमाडौं फर्किएपछि प्रचण्ड भेट र छलफलमा सक्रिय छन् ।

बुधबार बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल गर्नुअघि प्रचण्डले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए । प्रचण्डले सोमबार समेत वरिष्ठ नेता नेपालसँग भेट गरेका थिए । मंगलबार बिहान भने उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेर प्रचण्ड बालुवाटार पुगेका थिए ।

पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व सक्रिय भएपनि नेताका अडानले सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन् । प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !