२१ बैशाख २०८१, शुक्रबार

प्रदेश सरकार पुनर्गठनमा कांग्रेस जता, प्रदेश त्यतै


नेपाली कांग्रेस

काठमाडौं । संघीय सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भएको विभाजनको असर प्रदेशमा देखिन थालेको छ । नेकपाले नै नेतृत्वको गरिरहेका ६ प्रदेशमध्ये अधिकांशमा सरकार टिकाउन र नयाँ बनाउन नेपाली कांग्रेसको साथ चाहिने देखिएको छ । कांग्रेसले समर्थन नगरे कतिपयमा परिस्थिति जटिल बन्ने अवस्था छ ।

प्रदेश १ मा अहिलेको समीकरण अनुसार प्रचण्ड-नेपाल पक्ष एक्लैको बहुमत पुग्न सक्ने देखिन्छ । त्यो अवस्थामा सरकार परिवर्तन हुनेछ । बागमती प्रदेशमा त अविश्वासको प्रस्ताव नै दर्ता भएको छ । यहाँ कांग्रेसको साथ जसलाई हुन्छ उसले नै सरकार बनाउनेछ ।

गण्डकी र लुम्बिनीमा ओली पक्ष, कर्णाली र सुदूरपश्चिममा प्रचण्ड-नेपाल पक्ष बलियो देखिए पनि अन्य राजनीतिक दलको साथबिना सरकार टिकाउन र नयाँ बनाउन गाह्रो देखिन्छ । प्रदेश २ मा भने नेकपा प्रतिपक्षमा रहेका कारण त्यहाँ सरकार फेरबदल हुने देखिएको छैन।

बागमतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ। सत्तारुढ नेकपाकै दाहाल–नेपाल समूहका ४५ सांसदले हस्ताक्षर गरी शुक्रबार बिहान ११ः२५ बजे अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।

उनीहरूले मुख्यमन्त्री पौडेललाई पदमुक्त गर्न माग गर्दै नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदका लागि प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेका छन्। उनीहरूले तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेका छन् ।

प्रदेश १ मा आ-आफ्नै तयारी

नेकपा विभाजनको असर प्रदेश १ सरकारमा पनि देखिन थालेको छ। दाहाल–नेपाल समूहले सरकार परिवर्तन गर्न सक्रियता बढाएको छ। ओली समूह सरकार र पार्टी दुवैमा कमजोर देखिए पनि सरकारमा टिक्ने उपायको खोजीमा देखिन्छ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव लैजानेसम्मको तयारीमा प्रचण्ड-नेपाल समूह लागेको छ । मुख्यमन्त्री राई पनि आपूmलाई कसरी सुरक्षितमा राख्न सकिन्छ भनेर आफूनिकट नेता र सांसदसँग दैनिक छलफलमा जुटेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !