१८ बैशाख २०८१, मंगलबार

ललिता निवास प्रकरण : ५ पूर्वसचिवसहित ४ सय भन्दा बढीलाई पक्राउ पूर्जी


युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगो

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बालुवाटार जग्गा प्रकरणमा ५ पूर्वसचिवसहित ४ सय भन्दा बढीलाई पक्राउ पूर्जी भएको हो ।

ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा संलग्न तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको हो ।

बालुवाटार जग्गा प्रकरणमा १७ पूर्वसहसचिवसहितका कर्मचारी जोडिएका छन् । उनीहरूविरुद्ध पनि यसअघि नै पक्राउ पुर्जी लिइएको प्रहरीले जनाएको छ । त्यसमध्येका एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् ।

अदालतबाट अन्तरिम आदेश लिएकाले तत्कालीन सहसचिव कलाधर देउजालाई कागज गराएर छाडिएको छ भने बाँकी आरोपितको खोजबिन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो प्रकरणमा २०७६ माघ २२ मा अख्तियारले पूर्वउपप्रधानमन्त्री गच्छदारसहित ११० जनालाई बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

सोही प्रकरणमा पूर्वसहसचिव तथा पूर्वनिर्वाचन आयुक्त सुधीर शाह र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित चारवटा मिसिलमा ४ सयभन्दा बढीलाई आरोपित बनाएर अदालतबाट पक्राउ पुर्जी लिइसकेको प्रहरीले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !