२६ बैशाख २०८१, बुधबार

ट्युनिसियामा राजनीतिक गतिरोधबीच नयाँ प्रधानमन्त्री नियुक्त


हिचेम मेचिची

ट्युनिस, ११ साउन । ट्युनिसियाका गृहमन्त्री हिचेम मेचिचीलाई देशको भावी प्रधानमन्त्रीमा मनोनयन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा प्रमुख राजनीतिक दलहरुबीच राजनीतिक गतिरोध उत्पन्न भएसँगै राष्ट्रपति कार्यालयले उक्त सूचना सार्वजनिक गरेको छ ।

यसै महिनाको शुरुमा प्रधानमन्त्री एलिस फाखफाखले राजीनामा गर्नु भएको थियो । सत्तारुढ राजनीतिक दलहरुले भने राष्ट्रपति काइस साइद समक्ष ४६ वर्षीय गृहमन्त्री मेचिचीको नाम प्रस्ताव गरेका थिएनन् ।

राष्ट्रपति कार्यालयको शनिबारको वक्तव्य लगत्तै एक विज्ञप्ति जारी गरी नवनियुक्त प्रधानमन्त्री मेचिचीले सबै ट्युनिसियालीको भावनालाई समेटी नयाँ सरकार गठन गरिने बताउनुभएको छ ।

सन् २०११ को अरब क्रान्तिपछि सफल लोकतान्त्रिक रुपान्तरण गरेको दृष्टान्त ट्युनिसियाले प्रस्तुत गरेको छ । तर कोरोनाभाइरसका कारण सीमाहरु बन्द गरिएपछि मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्न थालेको र जनतामा सरकारप्रति नैराश्यता देखिन थालेको छ ।

कोरोनाभाइरसका कारण ट्युनिसियामा करिब ५० जनाको मृत्यु भएको छ भने एक हजार ४०० भन्दा बढी संक्रमित भएका छन् ।

यसअघिको सरकारमा गृहमन्त्री रहेका मेचिचीले राष्ट्रपति काइसको कानुनी सल्लाहकारका रुपमा समेत जिम्मेवारी निर्वाह गरिरहनु भएको थियो । यसअघि उहाँ यातायात मन्त्रालयको प्रमुख अधिकृत तथा समाज कल्याण मन्त्रालयमा समेत सेवा गर्नु भएको थियो ।

प्रधानमन्त्री मेचिचीलाई नयाँ सरकार गठन गर्न एक महिनाको समय दिइएको छ ।

प्रधानमन्त्री मेचिचीले संसदमा विश्वासको मत लिनु पर्नेछ र बहुमत सिद्ध गर्न सक्नु पर्नेछ । विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा संसद नै विघटन हुनेछ र तीन महिनाभित्र संसदको नयाँ चुनाव हुनेछ ।

गत अक्टोबरमा सम्पन्न आम चुनावमा इस्लामिक कट्टरपन्थी इन्नाधा पार्टीले सबैभन्दा बढी स्थान जितेको थियो तर बहुमत हासिल गर्न सकेको थिएन । अन्ततः गठबन्धन सरकार बनाउन इन्नाधा तयार भएको थियो । पाँच महिना पनि सरकार चलाउन नपाई प्रधानमन्त्री फाखफाखले जुलाईमा राजीनामा दिनु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !