२० बैशाख २०८१, बिहिबार

फ्रान्स प्रवेश गर्ने १६ देशका आगन्तुकलाई कोरोना परीक्षण अनिवार्य


फ्रान्स

पेरिस, १० साउन । फ्रान्समा कोरोना भाइरसको दृष्टीले धेरै जोखिममा रहेका देशहरुबाट आउने आगन्तुकहरुलाई परिक्षण विना प्रवेश गर्न कडाई गरिने भएको छ । प्रधानमन्त्री जेन कस्टेक्सले यो व्यवस्था आगमी अगस्ट १ देखि लागु हुने शुक्रबार जानकारी दिनुभएको हो ।

सिमानामा सुरक्षा र सतर्कता कायम राख्ने सरकारको नीति अन्तर्गत परीक्षणलाई कडाई गर्ने व्यवस्था गर्न लागिएको उहाँको भनाई छ । उहाँका अनुसार अमेरिका, ब्राजिल, भारत, अल्जेरिया, बहराईन, इजरायल, दक्षिण अफ्रिका, कुवेत, कतार, युएई, ओमन, पनामा, पेरु, सर्बिया, टर्की र मडागास्करबाट आउने यात्रुलाई परीक्षण अनिवार्य गर्न लागिएको हो ।

फ्रान्सले ती देशहरुलाई कोरोनाको दृष्टीकोणले खतरापूर्ण अवस्थामा रहेका देशहरुको सूचीमा राखेको अधिकारीहरुले जनाएका छन् । “ती देशहरुमा परीक्षण नगर्ने रणनीति लिइएको छ । त्यसैले हामीले परीक्षण गर्नु पर्ने व्यवस्था गर्न लागिएको हो । यो कार्यान्वयन गर्न धेरै गाह्रो छ भन्ने हामीलाई थाहा छ । तै पनि गर्ने निर्णयमा पुगेको छौँ,” उहाँले भन्नुभयो ।

सिमाना जोडिएको स्पेनबाट हुने आवतजावतलाई कसरी सुरक्षित बनाउने भन्ने बारेमा छलफल भइरहेको र आवत जावतलाई अति न्युन बनाउने प्रयास गरिने पनि उहाँले जानकारी दिनुभयो ।
फ्रान्समा शुक्रबारसम्म एक लाख ८० हजार ५२८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये एकैदिनमा एक हजार १३० जना थपिएको अधिकारीहरुले जनाएका छन् । यो संख्या एक दिन अगाडी एक हजार ६२ मात्रै रहेको थियो ।

कोरोनाभाइरसका कारण फ्रान्समा अहिलेसम्म तीस हजार १९२ जनाको मृत्यु भएको छ । ती मध्ये दश जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !