जनकपुर, ७ वैशाख । आर्सेनिकयुक्त पानी निस्कने यहाँका सार्वजनिक टयुवेल प्रयोग गर्न दर्जनौँ गाउँका बासिन्दा डराउन थालेका छन् ।
आर्सेनिक भेटिएको एक दशकभन्दा बढी समय भइसके पनि जिल्ला खानेपानी कार्यालयले विकल्प नदिएपछि त्यस क्षेत्रका बासिन्दा डराईडराई आधा पेट मात्र पानी खाएर दिन काट्ने गरेको छ ।
मन्द विषका रुपमा रहेको आर्सेनिकयुक्त पानी खाँदा विभिन्न रोगको सिकार हुने डर रहेको सिरहा नगरपालिका-११ भलुवाहीका शेखरप्रसाद अर्यालको गुनासो छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहानको पछिल्लो तथ्याङ्कअनुसार जिल्लाको भलुवाही, बेलहा, हनुमान नगर, खिरौनालगायत ३७ वटा गाउँ आर्सेनिकको जोखिममा रहेका छन् । त्यस गाउँमा रहेको सार्वजनिक टयुबेलको विकल्प दिन ठोस पहल नभएपछि प्रभावित क्षेत्रका हजारौँ बासिन्दा आर्सेनिकयुक्त पानी खान बाध्य रहेको प्रेस काउन्सिल नेपालका सदस्य चन्द्रदेव कामतीले बताए ।
जिल्लाका एक हजार २३४ वटा टयुवेलको पानीमा मापदण्डभन्दा अत्यधिक आर्सेनिक तत्व पाइएको छ । सम्बन्धित निकायले टयुवेलको पानीको प्रयोग गर्न अयोग्य प्रमाणित गरेपनि त्यसको विकल्प नहुँदा स्थानीयवासी आर्सेनिकयुक्त पानी खान बाध्य छन् ।
जिल्लामा करिब ४६ हजार ६२५ टयुवेल छन् । त्यसमध्ये २.८३ प्रतिशत टयुवेलमा ५० पिपिबी (पाटस पर विलियम) भन्दा बढी आर्सेनिक भएको पाइएको छ । जिल्लामा सिरहा नगरपालिका हनुमाननगर प्रध, खिरौना, हक्पारा, बेलहा, सुखचैना, मारडरलगायत ३७ गाविसमा रहेको टयुवेलमा बढी आर्सेनिक भएको अनुमान गरिएको छ । खिरौना गाविसको ३५ वटा सार्वजनिक टयुवेलमा ५० पिपिबीभन्दा बढी आर्सेनिक तत्व पाइएको छ । दक्षिणी भेगका कतिपय गाविसमा ३०० पिपिबीसम्म आर्सेनिक पाइएको छ ।
राष्ट्रिय आर्सेनिक निर्देशन समितिको सन् २००८ को तथ्याङ्कअनुसार तराईका २० वटा जिल्लाका ११ लाखभन्दा बढी टयुवेलको पानी जाँच गर्दा ७.५ प्रतिशतमा आर्सेनिकको मात्रा बढी पाइएको थियो । यो विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा निकै बढी हो । दुईसय पिपिबीभन्दा बढी आर्सेनिक भेटिएको टयुवेलको पानी खाएर सिरहा हकपाडा गाविस सागरपुर गाउँका एकजनाको मृत्यु भइसकेको रेडक्रस सिरहाले जनाएको छ ।
चिकित्सकका अनुसार आर्सेनिक भएको पानी पिउँदा सुरुमा पाखुरा छाती, ढाडमा सेता र कालो दाना देखिन्छ । रोग बढ्दै गएपछि हत्केला र पैतालामा गिर्खा देखापर्दछ । समयमै उपचार नभए गिर्खाबाट क्यान्सर भएर मानिसको मृत्युसमेत हुन जान्छ । एक अध्ययनअनुसार आर्सेनिकयुक्त पानीको निरन्तर प्रयोगले छालाको क्यान्सर हुने, कलेजो र मिर्गाैलाले काम गर्ने छाड्ने र सास फेर्न गाह्रो हुने हुन्छ । आर्सेनिक रोगको उपचारको अहिलेसम्म कुनै औषधि उपलब्ध छैन ।
नेपाल रेडक्रस सोसाइटी सिरहाले पछिल्लो समयमा ३६ मध्ये २९ गाविसमा आर्सेनिक न्यूनीकरण र शुद्धीकरणका लागि जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिरहेको छ । आर्सेनिक प्रभावित गाविसमा पानी शुद्धीकरणका लागि एक हजारभन्दा बढी बचत फिल्टर निःशुल्क वितरण गरिएको छ ।
सरकारले आर्सेनिक प्रभावित क्षेत्रमा विकल्प दिन वाषिर्क लाखौँ रुपैयाँको बजेट दिए पनि सम्बन्धित निकायले उक्त रकम सो काममा खर्च नगरी सकिन्छ भन्छन् खानेपानी तथा सरसफाइ उपभोक्ता समिति भलुवाहीका सचिव रामबहादुर भुजेल ।