१० जेष्ठ २०८१, बिहिबार

रासस सम्पूर्ण सञ्चारमाध्यमको पहिलो रोजाइ बन्न सकोस् : सञ्चार सचिव डा. अर्याल


डा. वैकुण्ठ अर्याल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले राष्ट्रिय समाचार समितिले आफूलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाई आधिकारिक, प्रामाणिक र सही सूचना सम्प्रेषण गर्न थप मेहनत गर्नुपर्ने बताएका छन् ।

राससको ६२औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिँदै उनले आगामी दिनमा आफूलाई प्रतिस्पर्धी र विश्वसनीय बनाइ सम्पूर्ण सञ्चारमाध्यमको पहिलो रोजाइ बनाउन सकोस् भनी कामना गरेका छन् ।

उनले विदेशी सञ्चारमाध्यमले समेत उपयोग गर्ने खालका समाचार उत्पादनमा समेत समितिले जोड दिनुपर्ने बताए । समय क्रममा राससले आफ्नो क्षमता पनि बढाउँदै लगेको र यसले सम्प्रेषण गर्ने समाचारमा व्यावसायिकता देखिन थालेको जनाउँदै उनले यसै वर्षदेखि थालनी गरिएका श्रव्यदृश्य सामग्री उत्पादनबाट देशभित्रका रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यम लाभान्वित हुने विश्वास व्यक्त गरे । आफ्नो स्थापनाकालदेखि अनेक आरोहअवरोहका बीच समाचार निर्माण, सम्पादन, प्रकाशन र प्रसारणमा पुर्याएको योगदानको उहाँले प्रशंसा गरेका छन् ।

सूचना प्रविधिको विकाससँगै सञ्चारका क्षेत्रमा व्यापक परिवर्तन आएको जनाउँदै सचिव अर्यालले सञ्चारमाध्यमका स्वरुप बदलिएका मात्र नभई प्रतिस्पर्धासँगै समाचारको गुणस्तर पनि वृद्धि भएको उल्लेख गरेका छन् । छिटो समाचार सम्प्रेषण गर्ने होडबाजीमा सञ्चारमाध्यम बेलाबखत सही र आधिकारिक सूचना पाउनबाट वञ्चित भई भ्रमित हुन पुगेकाप्रति उनले ध्यानाकर्षण गराएका छन् ।

सचिव अर्यालले समितिको ६२औँ वार्षिकोत्सवका अवसरमा कर्मचारी, व्यवस्थापन, आमसञ्चारमाध्यम, पत्रकार, पाठक, स्रोता, दर्शक र शुभेच्छुकमा शुभकामना व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !