३ असार २०८१, आइतबार

बुद्धधर्मको महत्व विश्वभर छ : परराष्ट्रमन्त्री श्रेष्ठ


नारायणकाजी श्रेष्ठ फाइल फोटो

लुम्बिनी । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध धर्मको प्रचारप्रसार गर्न सके विश्वमा बढ्दो द्वन्द्व र हिंसालाई न्यूनीकरण गर्न सहयोगी हुने धारणा राखेका छन् । २५६८औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवसका अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा उनले लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रियस्तरमा सरकारले पहल गरिरहेको बताएका छन् ।

कार्यक्रमका सभापति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बृहत्तर लुम्बिनीको गुरुयोजना शीघ्र सफल बनाउने बताउँदै अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन सञ्चालन गर्ने कुरामा जोड दिए ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले विश्वकै बौद्ध धर्मावलम्बीको एक पवित्र ठाउँ, एसियाका ज्योतिका रूपमा परिचित विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनी क्षेत्र हुनु प्रदेशका लागि ठूलो गौरवको विषय भएको बताए । उनले धार्मिक पर्यटनको माध्यमबाट यस क्षेत्रमा मात्रै आयआर्जन बढाउन सकिने धारणा राखे ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुद्धजन्मस्थल लुम्बिनी बौद्ध धर्मालम्बीका लागि मात्र नभएर सारा मानवजातिको लागि भएको बताए । संयुक्त राष्ट्रसङ्घका स्थायी प्रतिनिधि हाना सिङ्गर ह्याम्डीले बुद्धजन्मस्थल लुम्बिनी बुद्धदर्शन फैलाउने उर्वर भूमिको रूपमा रहेको बताउँदै विश्व शान्तिको कामना गरे । नेपालका लागि श्रीलङ्काका राजदूत एयर चिफ मार्सल सुर्दशना पाथिरानाले बुद्धदर्शन विश्व शान्तिको लागि अत्यन्तै महत्त्वपूर्ण रहेको बताए ।

सो अवसरमा नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरीसनले बुद्ध पूर्णिमाको महत्वबारेमा बताउँदै पवित्रस्थल लुम्बिनीको पावन जन्मभूमिमा आउनु भाग्य भएको जिकिर गर्नुभयो । बिमिस्टेकका महासचिव इन्द्रमणि पाण्डेले विश्वलाई बुद्ध दर्शनको आवश्यकता रहेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख, प्रतिनिधिसभाका सदस्यहरू, राष्ट्रियसभाका सदस्यहरू, विभिन्न देशका प्रतिनिधि, भिक्षु, भिक्षुणीलगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृतसमेत गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !