३ असार २०८१, आइतबार

संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी


कार्यदलको बैठक

काठमाडौं । सहकारीको रकम अपचलन, ठगी र हिनामिना लगायतका विषयमा छानबिनका लागि गठन गर्ने संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक जारी रहेको छ ।

सिंहदरवारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी कार्यदलको बैठकमा संसदीय छानबिन समितिको क्षेत्राधिकार र कार्यादेशबारे टुंगो लगाउने सहमतिको प्रयास हुने बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनको नाम मुछिएको सहकारीमा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राखेपनि सत्ता पक्षका दलहरु नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने असहमति प्रकट गर्दै आएका छन् ।

नेकपा एमालेका नेता एवं कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित चार सदस्यीय कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !