३ असार २०८१, आइतबार

कार्यादेश टुंग्याउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार फेरि बस्ने


कार्यदलको बैठक

काठमाडौं । सहकारीको रकम अपचलन, ठगी र हिनामिना लगायतका विषयमा छानबिनका लागि गठन गर्ने संसदीय छानबिन समितिका लागि कार्यादेश (टीओआर) टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।

सिंहदरवारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलबीच आ-आफ्ना अडान कायम राखेकोले सहमति हुन नसक्दा भोलि शुक्रबार फेरि बैठक बस्ने गरी कार्यदलको बैठक सकिएको हो ।

कार्यदलको बैठक शुक्रबार बिहान ८ः३० बजे फेरि बस्ने कार्यदल सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । भोलि शुक्रबार बिहान बस्ने बैठकमा सहमति गरेर ११ बजे संसद् बैठक खुलाउने प्रयास हुने उनले बताए ।

उनले सहकारी छानबिन समितिका ‘टीओआर’ निर्माणमा गृहमन्त्री रवि लामिछानेको नाम हटाउन कांग्रेस तयार भएको बताएका छन् । बर्तौलाले लामो छलफलपछि नेपाली कांग्रेस सहकारी ठगीको छानबिनका लागि बनेको संसदीय समितिको टीओआरमा लामिछानेको नाम हटाउन लचक भएको बताए ।

उनले बैठकमा सत्ता पक्ष सहकारीको नाम राख्न सहमत भए पनि रवि लामिछानेको नाममा असहमति भएको बताए ।

नेकपा एमालेका नेता एवं कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित चार सदस्यीय कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !