२६ बैशाख २०८१, बुधबार

सीमामा हुलहुज्जत गर्ने भारतीयलाई धपाउन हवाई फायर


हवाई फायर

भद्रपुर, २३ वैशाख । बन्दाबन्दीलाई अटेर गरी सीमा क्षेत्रमा हुलहुज्जत गर्ने भारतीय नागरिकलाई धपाउन नेपाली सुरक्षाकर्मीले सोमबार झापाको दक्षिणी सीमाक्षेत्रमा दुई राउण्ड हवाई फायर गरेका छन् ।

झापा गाउँपालिका–४ स्थित दक्षिणी सीमान्त गाउँमा सोमबार अपराह्न ४ः३० बजेतिर १५० भन्दा बढीको सङ्ख्यामा घरेलु हतियारसहित नेपाली सुरक्षा चौकीमा आएका भारतीय नागरिकलाई धपाउन अस्थायी सीमा सुरक्षा चौकीमा तैनाथ नेपाली सुरक्षाकर्मीले हवाई फायर गरेको गाउँपालिकाका अध्यक्ष जयकुमार साहले बताउनुभयो ।

उहाँका अनुसार दिउँसो दुई भारतीय नागरिक नेपाल पस्न खोज्दा सुरक्षाकर्मीले सम्झाइबुझाई फिर्ता पठाएका थिए । केहीबेरपछि सयौँको सङ्ख्यामा भारतीय घरेलु हतियारसहित नेपालतिर पस्न खोजेका थिए । हवाई फायरपश्चात भारतीयहरु तितरवितर भएर आफ्नै मुलुकतिर फर्किएको गाउँपालिकाका अध्यक्ष साहले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले कोभिड–१९ को सङ्क्रमण रोक्न सीमा क्षेत्रमा आवतजावत पूर्णरुपमा बन्द गराइएको जनाउँदै अटेर गरी हुलहुज्जत गर्नेलाई रोक्न हवाई फायर भएको बताउनुभयो । घटनापछि सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ रानाले जानकारी दिनुभयो ।

राज्यमन्त्रीको पहलमा आश्रम लगिए सडकका महिला
सडकमा बस्ने मानसिक सन्तुलन गुमेका झापाका आठ असहाय महिलाको सोमबार उद्धार गरिएको छ । प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको पहलमा विर्तामोडबाट दुई, मेचीनगरबाट पाँच र अर्जुनधाराबाट एक महिलालाई सडकबाट उद्धार गरी स्थानीय तहको एम्बुलेन्समार्फत विराटनगर लगिएको हो ।

कोरोना सङ्क्रमणको उच्च जोखिम र लकडाउन भएका बेला सडकमा असुरक्षितरूपमा बस्दै र सुत्दै आएका उनीहरुलाई उपचार तथा आश्रय प्रदान गर्नका लागि उद्धार गरिएको राज्यमन्त्री गजमेरले बताउनुभयो । उनीहरुको कोरोना परीक्षणका लागि सोमबार नै स्वाब सङ्कलन गरिएको राज्यमन्त्री गजमेरले बताउनुभयो । उनीहरुमा स्वाब परीक्षण गर्दा कोरोनाको सङ्क्रमण देखिए कोभिड अस्पताल विराटनगरमा उपचार गरिने र नदेखिए मानव सेवा आश्रममा राखिने उहाँको भनाइ छ ।

उद्धार गरिएकाहरुमा विर्तामोडकी देविका थारू, कुन्ती खतिवडा र अर्जुनधारा–५ मा बस्दै आएकी सन्तोषी दनुवार रहेका छन् भने मेचीनगर क्षेत्रबाट पाँच महिलाको उद्धार गरिएको हो । सडकमा असुरक्षितरूपमा बस्दै आएका ती महिलालाई लकडाउनमा सामाजिक अभियानकर्मी तथा प्रहरीले खानाको व्यवस्था मिलाउँदै आएका थिए ।

राज्यमन्त्री गजमेरको यो अभियानमा विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईं र मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले साथ दिनुभएको थियो ।

–––


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !