२० बैशाख २०८१, बिहिबार

नेपालमै कोरोनाको औषधी बनाइएको दाबी


कोरोना भाइरस

हेटौंडा १७ वैशाख । कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गर्नुभएको छ ।

प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दाबी गर्दै राससलाई बताउनुभएको हो ।

भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेस्टी«मा पिएचडी उपाधि हासिल गर्नुभएका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी गराउनुभयो ।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदैै डा. दासले सरोकारवालासँग सहयोगको आव्हान समेत गर्नुभएको छ । उहाँले कोरोना भाइरसको औषधी निर्माण गर्न कडा मेहनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दाबी पनि गर्नुभयो ।

यसअघि उहाँले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाउनुभएको थियो । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उहाँले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत लिनुभएको छ ।

चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा कोरोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ । नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दाबीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ ।

विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !