२२ बैशाख २०८१, शनिबार

जनप्रतिनिधिको सुविधा कटौती गरी आइसोलेशन कक्ष स्थापना


आइसोलेशन वार्ड

कञ्चनपुर, १२ चैत । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जनप्रतिनिधिको सुविधामा खर्च हुने रकम कटौती गरी दुई ठाउँमा पाँच÷पाँच शय्याका आइसोलेसन कक्ष स्थापना गरेको छ ।

नगरपालिका–१० स्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको भवन र वडा नं ४ को राष्ट्रिय माध्यमिक विद्यालयमा आइसोलेशन कक्ष निर्माण गरेको हो । आइसोलेशन कक्षका लागि आवश्यक सामग्री खरिदका लागि जनप्रतिनिधिको सेवा सुविधाबाट कटौती हुने गरी रु २० लाख बजेट परिचालन गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो । “आज साँझसम्म आवश्यक सामग्री खरिद गरी आइसोलेशन कक्षमा राखिसक्छौँ”, उहाँले भन्नुभयो, “कक्षका लागि स्वास्थ्यकर्मीको दुई टोली तयारी अवस्थामा राखिएको छ ।” आइसोलेशन कक्षको व्यवस्थापनका लागि कार्यान्वयन टोलीसमेत छुट्टै गठन गरिएको नगर प्रमुख ऐरले जानकारी दिनुभयो ।

भारतमा कोरोना भाइरसको महामारी फैलिएपछि होटेल, बजार, उद्योग बन्द भएसँगै त्यसमा कार्यरत नेपालीहरु धमाधम घर फर्किन थालेकाले जोखिमलाई मध्यनजर गर्दै आइसोलेशन कक्ष तयार गरिएको उहाँको भनाइ छ । “भारतबाट फर्केकाहरुलाई घरमै क्वारेन्टाइनमा बस्न भनेका छौँ”, उहाँले भन्नुभयो, “कोरोनाका लक्षण देखा परे तत्कालै एम्बुलेन्समार्फत आइसोलेशन कक्षमा ल्याएर उपचार गर्ने व्यवस्था गरिएको छ ।”

यसैबीच, नेपाल रेडक्रस सोसाइटी उपशाखाले समेत नगरपालिकाका ठाउँ ठाउँमा पुगेर कोरोनाका लक्षण, सर्ने तरिका र यसबाट बच्ने उपायबारे स्थानीय बासिन्दाका घर घरमा पुगेर सचेत गराउने कार्यसमेत गरिरहेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित हुने तरिकाबारे स्थानीय बासिन्दालाई बताउँदै आएको उपशाखाका सभापति शेरबहादुर साउदले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाका १२ वटै वडामा पुगेर पर्चा पम्प्लेट, ब्यानरबाट सचेतना गर्ने कार्य भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !