१५ बैशाख २०८१, शनिबार

गण्डकी प्रदेशमा थप २५२ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु


कोरोना भाइरस

पोखरा, कार्तिक १० । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६७११ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार थप २५२ जनामा कोरोना संक्रकमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

निर्देशनालयका अनुसार यो प्रदेशमा कोरोना सङ्क्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) कावासोतीका ७७ वर्षीय पुरुषको आज बिहान २ः३० बजे मध्यबिन्दु अस्पताल नवलपरासीमा र सोही जिल्लाको गैंडाकोटका ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार निधन भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै कोरोना सङ्क्रमणबाट पोखरा महानगरपालिका–१५ का ७८ वर्षीय महिलाको आइतबार राति ११ः०० बजे चरक मेमोरियल अस्पताल पोखरामा र पोखरा–५ का ५५ वर्षीय पुरुषको आइतबार राति ९ः१० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको भएको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !