१४ बैशाख २०८१, शुक्रबार

सङ्क्रमणमुक्त किशोरीको अभिभाकत्व ग्रहण


कोरोना भाइरस

काभ्रेपलाञ्चोक, १३ भदौ । नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले कोरोना सङ्क्रमणबाट मक्त भएकी एक किशोरीको शिक्षाका लागि अभिभावकत्व ग्रहण गर्नुभएको छ । सङ्क्रमणमुक्त भई घर फर्केकी नमोबुद्ध नपा–५ को किशोरीको शुक्रबार घरमै गई तिमल्सिनाले स्नातकसम्मको शिक्षाका लागि अभिभावकत्व ग्रहण गर्नुभएको हो । किशोरीको आर्थिक अवस्था कमजोर रहेको थाहा पाएपछि उनको शिक्षाको अभिभावकत्व ग्रहण गरेको तिमल्सिनाले बताउनुभयो । “चिकित्सक एवं स्वास्थ्यकर्मीलाई दुव्र्यवहार भइरहेका बेला कोरोना सङ्क्रमितलाई दुव्र्यवहार हैन, हौसला प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले उनको अभिभावकत्व ग्रहण गरेको हुँ”, उहाँले भन्नुभयो । किशोरी हाल कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । किशोरीको परिवारमा छ सदस्य छन् । परम्परागत रुपमा सामान्य खेतीपाती गर्दै आएको परिवारको आर्थिक अवस्था एकदमै कमजोर रहेको छ ।

नगरप्रमुख तिमल्सिनाले आफ्नो घरसम्मै आएर हौसला प्रदान गरेकोमा सङ्क्रमणमुक्त किशोरीले खुशी व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “मेरो शिक्षाका लागि उहाँले अभिभावकत्व ग्रहण गर्नुले आफूलाई अझै अध्ययनमा हौसला मिलेको छ ।” किशोरीमा कोरोना सङ्क्रमण देखिएपछि गत साउन ३१ गतेदेखि धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो । नमोबुद्ध नगरमा हालसम्म भएका छ सङ्क्रमितमध्ये चार सङ्क्रमणमुक्त भैसकेका छन् ।

नगर प्रमुख तिमल्सिनाले विगतदेखि नै व्यक्तिगत तर्फबाट विपन्न र जेहेन्दार विद्यार्थीको शिक्षाका लागि सहयोग गर्दै आउनुभएको छ । उहाँले आफ्नो जन्मदिनको अवसर पारेर गत बुधबारमात्रै रु एक लाखभन्दा बढी रकम विद्यार्थीको शिक्षाका लागि प्रदान गर्नुभएको थियो ।

यसैबीच, काभ्रेपलाञ्चोकमा हालसम्म २१९ लाई कोरोना सङ्क्रमण भएको छ । यसमध्ये एक पुरुष र एक महिलाको मृत्यु भैसकेको छ भने ८१ उपचारपछि घर फर्किएको र १३६ विभिन्न स्थानको आइसोलेशनमा उपचाररत रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !