४ जेष्ठ २०८१, शुक्रबार

जनप्रतिनिधि दैलोमा पुगेपछि सङ्क्रमितका आँखामा खुशीका आँशु


आँशु

रुपन्देही, ९ भदौ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य सोमबार वडा नं १३ को होम आइसोलेशनमा बस्नुभएका रुद्र आचार्यको घरमा पुग्नुभयो । कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमै बसेको उहाँको परिवारको मनोबल बढाउन उपप्रमुख दैलोमा आएपछि आचार्य छक्क पर्नुभयो । उपप्रमुख आचार्यले उहाँलाई उच्च मनोबल राख्न सके कोरोना भाइरस सङ्क्रमणले कुनै असर नगर्ने भन्दै उहाँको परिवारलाई सुस्वास्थ्यको शुभकामना दिनुभयो ।

“कोरोना लागेको भनेर मानिसहरु टाढा–टाढा भाग्छन्, दैलोसम्म आउने आँट कसैले गर्दैनन् तर उपप्रमुख दैलोमै आएर कस्तो छ भनेर सोध्दा साह्रै खुशी लाग्यो”, सङ्क्रमित आचार्यले भन्नुभयो । आचार्यले कोरोना भाइरस सङ्क्रमण भएपछि सामाजिक सञ्जालमै राखेर टोलवासीलाई सचेत रहन अनुरोध गर्नुभएको थियो ।

एक हप्तादेखि उपमहानगरका विभिन्न वडामा प्रमुख शिवराज सुवेदी, उपप्रमुख आचार्य र वडाका प्रतिनिधिहरु कोरोना सङ्क्रमितको मनोबल बढाउन घरघरमा पुग्नुभएको छ । यो अभियानले कोरोना सङ्क्रमितको मनोबल बढेको मात्रै होइन, सङ्क्रमितलाई दुव्र्यवहार गर्न खोज्ने, सहयोग नगर्ने तथा सङ्क्रमितका कुरा काटेर बस्नेहरुको मुख समेत बन्द भएका छन् । जनप्रतिधिहरु आएपछि छरछिमेकीहरुको माया र सद्भाव झन् बढेको सङ्क्रमितहरुको प्रतिक्रिया छ ।

बुटवल­११ का सङ्क्रमित परिवारलाई नियमित दूध दिंदै आएका एक व्यक्तिले सङ्क्रमित भएको थाहा पाएकै दिनदेखि दूध ल्याइदिन छाडे । छेउछाउका घरमा फोन गरेर सङ्क्रमितहरुका दुबै घरमा ताला लगाइदिन, घरमा बस्न नदिन तथा छरछिमेकलाई नजिक नजान समेत दबाब दिए । यसका कारण छिमेकीहरु पनि दोधारमा परे तर जब नगर प्रमुख र उपप्रमुख सहितको टोली घरदैलोमा पुगेर सङ्क्रमितलाई भेट्नुभएपछि छिमेकीहरुको माया र सद्भाव झन् बढ्यो । “नजिकैका छिमेकीहरुको व्यवहार त एकदम राम्रो थियो बरु अलिक पर बस्ने व्यक्तिहरुले राम्रो व्यवहार गर्न खोजेनन् तर प्रमुख–उपप्रमुखको घरदैलोले निकै सकारात्मक सन्देश दियो”, एक सङ्क्रमितले भन्नुभयो ।

नगर प्रमुख र उपप्रमुखको यो अभियानले नजिक आउन नखोज्ने, हेय भाव राख्ने र असहयोग गर्नेहरुलाई ठूलो शिक्षा दिएको अनुभव सङ्क्रमितका परिवारले गरेका छन् । “अरु बेला नभ्याए पनि दुःख पर्दा आए, हाम्रो लागि त्यही नै ठूलो कुरा हो”, आपुूले मतदान गरेका जनप्रतिनिधि घरदैलोमा आएको देखेर आँखाभरि खुशीका आँसु झार्दै बुटवल १३ का सङ्क्रमितले भन्नुभयो ।

गत भदौ ५ गते हिन्दू नारीहरुको चाड हरितालिका तीजको दिनमा समेत उपमहानगरपालिकाले सञ्चालन गरेको एन्फा आइसोलेशन सेन्टरमै पुगेर उपप्रमुख गुमादेवी आचार्यले शुभकामना आदानप्रदान गर्नुभयो । “चाडको दिनमा आइसोलेशनमै आएर शुभकामना दिनुभयो, हामी अत्यन्तै उत्साहित भयौँ । हामीप्रति उहाँले देखाउनु भएको स्नेह, माया र सद्भावनाले हौसला प्रदान गरेको छ”, वडा नं १३ का सङ्क्रमित दीपक पन्थीले सामाजिक सञ्जालबाटै उपप्रमुखलाई धन्यवाद दिनुभयो ।

उपप्रमुख आचार्यले तीजको दिनमा आइसोलेशनमा रहेका ३४ सङ्क्रमितलाई भेटेर शुभकामना आदानप्रदान गर्नुभएको थियो । स्वास्थ्य सावधानीका उपायको जानकारीसहित स्वास्थ्यलाभको शुभकामना पत्र र वैकल्पिक उपचार पद्दतिका आयुर्वेदिक ओखती बोकेर जनप्रतिनिधिहरु आइसोलेशनमा पुगेपछि सङ्क्रमितको मनोबल बढेको छ । सङ्क्रमितलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुका साथै थप सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको उपप्रमुख आचार्यले बताउनुभयो ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार उपमहानगरपालिकामा अहिलेसम्म १६५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यसमध्ये महिला ५४ जना र पुरुष १११ जना छन् । सबैभन्दा बढी वडा नं ११ मा ४८ जना सङ्क्रमित देखिएको उपमहानगरपालिकाका कोरोना फोकल पर्सन कुन्दनकुमार सिंहले जानकारी दिनुभयो ।

उपमहानगरपालिकामा अधिकांश सङ्क्रमितमा लक्षण नदेखिएकाले सङ्क्रमण फैलिदै गएको छ । सङ्क्रमण कहाँबाट फैलियो भन्नेबारे खोजी गर्ने काम भइरहेको र कन्ट्रयाक्ट ट्रेसिङको कामलाई निरन्तरता दिइएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । उपमहानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि बन्दाबन्दीलाई कडा पारिएको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !