१२ श्रावण २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डद्वारा कांग्रेसलाई गम्भीर छलफलका लागि आह्वान


प्रचण्ड र देउवा शीतल निवास फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई गम्भीर छलफलका लागि आह्वान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बेलुका ६ बजे कांग्रेसका नेताहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलका लागि बोलाएका हुन् ।

विपक्षी पाँच दलहरु सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा एकमत देखिएका छन् । आज शुक्रबार नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा भएको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालेका हुन् ।

यस्तै बैठकले हिजो बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाउँदै यसबारे उनलाई नै भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने भनिएको पूर्वनिर्धारित बैठक आज दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभाको हिजो अपराह्न बसेको बैठकमा कांग्रेस र सत्ता साझेदार दल नेकपा (एमाले) का सांसदहरुबीच धकेलाधकेल भएको थियो । सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबीच तनाव सिर्जना भएर धकेलाधकेल भएको थियो ।

सहकारी प्रकरणबारे गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसको माग राख्दै आएको छ भने सत्ता पक्षले उक्त समिति आवश्यक नरहेको बताउदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !