२३ बैशाख २०८१, आइतबार

संसदको अन्तिम बैठक आज बस्दै


असोज २७, काठमाडौँ । संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसद्को अन्तिम बैठक आज बस्दैछ । वर्तमान संसद्को कार्यकाल आगामी माघ ७ गतेसम्म रहने भए पनि संविधानको संक्रमणकालीन व्यवस्थामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म मात्रै व्यवस्थापिका संसद् कायम रहने उल्लेख छ ।

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन पद्धतिको सूची बुझाउने मिति असोज २९ गतेका लागि तोकिएको छ । समानुपातिक निर्वाचन पद्धतिको सूचीलाई उम्मेदवारी दर्ताकै रुपमा लिने भएकाले संसद्को कार्यकाल असोज २८ गते सकिने छ । कार्यकाल भोलिसम्म रहे पनि अन्तिम बैठक आजै बस्न लागेको हो । भोलि शनिबार परेकाले आज अन्तिम बैठक बस्ने सभामुख ओनसरी घर्तीले बताएकी छन् ।

सभामुख घर्तीले संसद्को अन्तिम बैठक आज दिउँसो ३ बजेका लागि बोलाएकी छन् । संसद्को आयु आज सकिने भए पनि बहुचर्चित चिकित्सा शिक्षा विधेयक र राष्ट्रिय सभा निर्वाचन विधेयकको हालसम्म टुंगो लाग्न सकेको छैन । अन्तिम दिन महत्वपूर्ण ठानिएका राष्ट्रिय सभा निर्वाचन र चिकित्सा शिक्षा विधेयकको टुंगो लगाउन प्रमुख दलबीच सहमतिको प्रयास पनि हुँदै छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !