स्वास्थ्यका लागि गुणकारी र पोषक मानिएका दुई वा दुईभन्दा धेरै खानेकुराहरू पनि एकैपटक खाँदा एउटा खाद्य पदार्थको गुण धर्म अर्कोसँग नमिल्दा त्यसले स्वास्थ्यलाई हानि पुर्याउन सक्छ । यी खानेकुरालाई हामी विरूद्ध आहार भनेर चिन्छौं । विरूद्ध आहारहरू छुट्टाछुट्टै खाँदा त्यसले स्वास्थ्यलाई फाइदा गरेपनि एकसाथ खाँदा यो नोक्सानदायक हुने गर्छ ।
विरुद्ध आहार सेवन गर्दा तत्कालै वा कालान्तरमा अनेकौं रोगहरूको खतरा रहन्छ । अधिकांश अवस्थामा हामीलाई यस्ता रोगहरूको कारणै थाहा नहुन सक्छ । तर विरूद्ध आहारको सेवनले पनि धेरै प्रकारका रोगहरू उत्पन्न गराउन सक्छ । यी खाद्य पदार्थहरूको विरूद्ध थाहा नहुँदा हामी रोगको चपेटामा जानी नजानी परिरहेका हुन्छौं । यसर्थ विरूद्ध आहारका विषयमा तपाईं हामी सबैजना जानकार हुनुपर्छ ।
कस्ता कस्ता विरूद्ध आहार ?
आहार संयोगको आधारमा मात्र विरूद्ध हुँदैन । देश, काल, परिस्थिति, मौसम, पाचन क्षमता, मात्रा, दोष, प्रकृति, विकृति (रोग), बल, बय, संस्कार, वीर्य अदिका आधारमा पनि विरूद्ध हुन्छ ।
१. देश वा स्थान विरुद्ध आहार
स्वास्थ्यका लागि सबैभन्दा हितकर खानेकुरा भनेको व्यक्ति बसिरहेकै स्थानमा फलेफूलेको खानेकुराहरू हुन् । स्थानीय वा क्षेत्रीय खानेकुराहरू खाँदा व्यक्ति र खानेकुराको प्रकृति मिल्छ तर एक क्षेत्रमा फलेफूलेको खानेकुरा अर्को क्षेत्रका मान्छेले खाँदा विरूद्ध हुन्छ ।
२. काल विरूद्ध आहार
काल अथवा समयका आधारमा पनि आहार विरूद्ध हुन सक्छ । जस्तो काँक्रो बिहान १० बजेभन्दा पहिले खानु अति उत्तम, १० देखि ४ बजेसम्म खानु ठिकै तर चार बजे पश्चात खानु हानिकारक हुन जान्छ । यसैगरी दही, सातु, अमिलो खानेकुराहरू राति खान हुँदैन ।
३. परिस्थिति विरूद्ध आहार
मान्छेको जीवनमा युद्ध, शान्ति, तनाव, चिन्ता, शोक, उदाशीनता, प्रणय जस्ता अनेक परिस्थितिहरू आइलाग्छन् र खानेकुरा यी परिस्थति अनुरूपको हुनुपर्छ । जस्तै, शोकको घडीमा नुनको सेवन, तनावको परिस्थितिमा गरिष्ठ भोजनलाई विरूद्ध मानिन्छ ।
४. मौसम विरूद्धको आहार
जाडो-गर्मी, वर्षा–सुख्खा वा भिन्न–भिन्न मौसममा जे फल्छ त्यही खाए राम्रो हुन्छ । जस्तै, असारको आँप पुषमा खानु राम्रो होइन यसैगरी पुषको सुन्तला असारमा खानु राम्रो होइन । यसैगरी जाडोको चिसो र सुख्खा खानेकुरा खानु र गर्मी मौसममा तातो खानेकुरा खानु मौसम विरूद्धका आहार हुन् ।
५. पाचन विरूद्ध आहार
हरेक मान्छेमा पाचन क्षमता भिन्नभिन्न हुन्छ । कसैले गरिष्ठ भोजन पनि मजाले पचाइदिन्छन् त कसैले सामान्य भोजन पनि पचाउन सक्दैनन् । यसर्थ कमजोर पाचन क्षमता भएकाहरूले तारेको र भुटेको धेरै तेल हालेको माछा–मासु, अण्डाजस्ता गरिष्ठ खानेकुरा खानुहुँदैन ।
६. मात्रा विरूद्धको आहार
मह र घिउलाई समान मात्रामा सेवन गर्दा विषाक्त हुने मानिएको छ ।
७. दोष विरूद्ध आहार
वात प्रकृतिको मान्छेका लागि वात बढाउने खालको, कफ प्रकृतिको मान्छेका लागि कफ बढाउने खालको र पित्त प्रकृतिको मान्छेका लागि पित्त बढाउने खालको खानेकुरा विरूद्ध आहार हुन् ।
८. प्रकृति विरूद्ध आहार
मान्छे सात्विक, राजसिक र तामसिक गरेर तीन प्रकृतिको छ । सात्विक प्रकृतिको मान्छेलाई तारेको र भूटेको, गरिष्ठ र उत्तेजक खानेकुरा दिँदा त्यो खाना गरिष्ठ हुन जान्छ भने राजसिक व्यक्तिलाई सादा खानादिँदा त्यो खाना पनि विरूद्ध खाना हुन्छ ।
९. विकृति (रोग) विरूद्ध आहार
हरेक रोगमा खानुहुने र खानु नहुने कुराहरूको सूची हुन्छ । रोग अनुरूप नभएको खानेहुरूलाई विकृति विरूद्धको आहार भनिन्छ ।
१०. बल (परिश्रम) विरूद्ध आहार
मान्छे परिश्रमका आधारमा निष्क्रिय, सामान्य र सक्रिय जीवनशैलीको हुन सक्छ र उसले गर्ने परिश्रम पनि सामान्य मध्यम र कठिन हुन सक्छ । यसर्थ कठिन परिश्रमीलाई कम खान दिनु र सामान्य परिश्रमीलाई धेरै खानदिनु बलविरूद्धको आहार मानिन्छ ।
११. बय (उमेर) विरूद्ध आहार
लिटो खानेलाई भात खान दिनु र भात खानेलाई लिटो खानदिनु बय विरूद्धको आहार हो ।
१२. पाक संस्कार विरूद्ध आहार
अमिलो खानेकुरालाई तामा वा पित्तलको भाडामा राख्दा वा पकाउँदा खाना विषाक्त हुन्छ । यसैगरी मह वा दहीलाई तताउँदा पनि हानिकारक हुन्छ । यस्ता खानेकुरालाई पाक संस्कारविरूद्धको आहार भनिन्छ ।
१३. वीर्य विरूद्ध आहार
शीतवीर्य पदार्थहरूलाई उष्णवीर्य पदार्थहरूसँग खाएको आहारलाई वीर्य विरूद्धको आहार भनिन्छ ।
१४. रूचि विरूद्ध आहार
आफूलाई रूचि नभएको खानेकुराहरू परिस्थितिबस खानुपरेको खानेकुरालाई हामी रूचिविरूद्धको आहार भन्छौं ।
१५. संयोगका विरूद्ध आहार
दुई वा दुईभन्दा धेरै पदार्थको मिश्रण स्वास्थ्यका लागि हानिकारक हुन सक्छ भने त्यस खानेकुरालाई संयोगविरूद्ध आहार भनिन्छ ।
केसँग के नखाने ?
१. दूधसँग : दही, नुन, मुला, कटहर, सलाद, शीतल चिनी, तित्री, खरबुजा, तरभूजा, बेल, नरिबल, कागती, जमुना, अनार, अमला, सक्खर, करौदा, तिलौरा, गहत, सातु, कोदो, मुङ, मास, गहततेल, माछा, जस्ता खानेकुराको सेवन नगर्नुहोस् । यसैगरी दूधमा कुनै पनि परिकारसँग माछा, मासु अण्डा आदि खानु हुँदैन।
२. दहीसँग : चिया, कफी, दूध, पनीर, खिर, काँक्रा खरबुजा, मेवा ।
३. खिरसँगः रूख कटहर, भुइँकटहर, माछा-मासु, अमिलो फलफूल, सातु, मदिरा आदि ।
४. महसँग : समान मात्रामा घिउ, तेल, बोसो, अंगुर, कमलको बिउ, मुला, तातोपानी या दूध, सक्खर, वर्षा कोपानी आदि पिउनु हुँदैन ।
५. चिसो पानीसँग : घिउ, तेल, तातो खानेकुरा, दूध, तरबुजा, अम्बक, मुङ्गफली आदि खानु वा पिउँनु हुँदैन ।
६. जौको पिठोलाई अन्य अन्नसँग नमिलाई नखानुहोला । यसैगरी सातुलाई पनि पानी नराखी खानु हुँदैन ।
७. भोजन लगत्तै पानी पिउनु हुँदैन । दिउँसो भोजन गरे पछाडि मोही र राति भोजनपछि दूध लिनु लाभदायक हुन्छ ।
८. दिसापिसाब गरेपछि, खानाखानुभन्दा पहिले, रूघामर्की लागेको तथा मुखमा घाउ आएको अवस्थामा र पसिना आइरहेको अवस्थामा पानको सेवन गर्नुहुँदैन ।
९. बिहानको भोजन पश्चात छिटोछिटो हिँड्नु हुँदैन तर साँझको खाना खाएपश्चात बिस्तारै हिँड्न सकिन्छ । साथै खाना खानेबित्तिकै सुत्नु हुँदैन ।
१०. तातो पानी वा तातो पदार्थका साथमा मह, कुल्फी, आइसक्रिम वा शीतल प्रकृतिका पदार्थहरूको सेवन गर्नुहुँदैन ।
११. खरबुजा वा तरबुजासँग लसुन, दही, दूध, मूला, पुदिना चिसो पानीजस्ता खानेकुरा नखाऔं ।
१२. भातमा अमिलो मिसाएर खानुहँुदैन । धेरै नुन हालेको खानेकुराहरू खाँदा पनि स्वास्थ्य चौपट्ट हुन्छ ।
१३. मासको दाल र मुलाको साग वा सलाद खानुहुँदैन ।
१४. केरा र मोही एकसाथ नखानुहोला ।
१५. मह, दही, रक्सी र भलायोको साथमा गरम आहारको सेवन गर्नु हुँदैन ।
१६. खिर र खिचडी पनि एकैसाथ खानु हुँदैन ।
१७. खिरसँग सातु खानु वा खिर खाएको ४ घण्टा नबित्दै पानीमा सातु घोलेर पिउनु हुँदैन ।
१८. काँचो केराको तरकारीसँग दही खाँदा तत्काल वा केही समयपछि उल्टी हुन सक्छ ।
१९.पाकेको बडहरसँग दही, मासको दाल, घिउ, मह र सख्खर अत्यन्त हानिकारक हुन सक्छ ।
२०. सुँगुर, बङ्गुर र माछा जस्ता प्राणीहरूको मासुसँग मह, सक्खर, तिल, दूध, मुला, मास र अङ्कुरित अन्न खानु हुँदैन ।
२१.परेवाको मासु तेलमा पकाउनु हुँदैन । परेवाको मासु र प्याज एकै भोजनमा मिलाएर खानु हुँदैन ।
२२. मासको दालसँग सख्खर खानु हुँदैन ।
२३. तामा, पित्तल र काँसको भाँडोमा दूध, दही र घिउ राख्दा विषाक्तता उत्पन्न हुन्छ ।
२४. पाकेको रुख कटहर खाएको दश घण्टासम्म पान, सूर्ति तथा अन्य चुना वा खरानी मिसिएको खानेकुरा खाँदा तत्काल ज्यानै पनि जान सक्छ ।
२५. खाली पेटमा आँप नखाएको राम्रो ।
२६. बकुल्लाको मासुलाई सुँगुरको बोसोमा पकाएर खाँदा भोजन विरूद्ध हुन्छ ।
२७. सुँगुरको मासु र बयर एकसाथ खानुहुँदैन ।
२९. तीन महिना नपुगेको अन्न र एक वर्ष पुरानो अन्नलाई एकसाथ पकाएर खानु हुँदैन ।
३०. दूधलाई फलामको कराइमा तताउनु, काठ वा बाँसको भाडाकुँडामा राख्नु र स्टिलको भाडाँवर्तनमा प्रयोग गरौं ।
लेखक डा. हेमराज कोइराला योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर-१ वागीश्वरी चितवनका मेडीकल डाईरेक्टर हुनुहुन्छ ।