१५ बैशाख २०८१, शनिबार

महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी छ : मन्त्री नेम्वाङ


वसन्त कुमार नेम्वाङ

पाँचथर, ११ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले कोभिड-१९ को महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी रहेको बताए ।

जिल्ला समन्वय समिति पाँचथरको चौथो जिल्ला सभालाई हिजो फिदिममा सम्बोधन गर्दै मन्त्री नेम्वाङले जनताको सपना पूरा गर्न महामारीको कठिनाईसँग जुध्दै समृद्ध मुलुक निर्माणका कार्यहरु जारी रहेको बताएका छन् ।

“ठूला पूर्वाधारका आयोजना द्रुत गतिमा अघि बढाउनुका साथै सेवा प्रवाहका क्षेत्रलाई चुस्त पार्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षा पूरा गर्न सरकार लागि परेको छ”, मन्त्री नेम्वाङले भने ।

जनताका आकांक्षालाई सरकारले सम्बोधन गर्ने विश्वास दिलाउँदै मन्त्री नेम्वाङले जनता निराश हुनुपर्ने अवस्था नरहेको दावी गरे । उनले महामारी नियन्त्रण, राष्ट्रिय स्वाधीनताको रक्षा र समृद्ध नेपाल निर्माण गर्ने यात्रामा सरकार हात्तीजस्तै लम्किरहेको दावी पनि गरे ।

“भएका समस्या सुल्झिन्छन् तर बहना बनाएर न सरकारी निकायले छुट पाउँछ न त निर्माण व्यवसायीले नै”, मन्त्री नेम्वाङले भने, “हामी जनप्रतिनिधिलाई पनि जनताले हेरिरहेका छन् र अर्को चुनावमा दण्ड वा पुरस्कारको व्यवस्था गर्छन् ।”

धेरै विकास आयोजना अलपत्र भइरहेको आफूले सुनेको बताउँदै मन्त्री नेम्वाङले अब कुनै पनि निर्माण व्यवसायी र तालुकदार निकायले छुट नपाउने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !