४ आश्विन २०८१, शुक्रबार

ज्येष्ठ शुक्लपूर्णिमा र गैडूपूजा एवं मष्टपूजाको सांस्कृतिक विवेचना


मष्ट कुलपूजा दिवाली
डा. जगमान गुरुङ
डा. जगमान गुरुङ

काठमाडौँ, जेठ २१ । चन्द्रमा ज्येष्ठा नक्षत्रको नजिकमा गएर आफ्नो सोह्र कलाले पूर्ण भएको दिन ज्येष्ठ शुक्ल पूर्णिमा कहलाउँद छ र ज्येष्ठ शुक्ल पूर्णिमाको नामबाट उक्त महिनाको ज्येष्ठ वा जेठ नाम रहेको हो । आजकल वैशाख शुक्ल पूर्णिमालाई उँभौली पूर्णिमा भन्न थालिएको छ तर वास्तवमा जेठ पूर्णिमा उँभौली पूर्णिमा र मङ्सिरे पूर्णिमा उँधौली पूर्णिमा हो किनभने ७/७ महिनाको फरकमा उँभौली र उँधौली पूर्णिमा हुन्छ । त्यसकारण जेठ पूर्णिमामा उँभौली र मङ्सिरे पूर्णिमामा उँधौली भूमेपूजा गरिन्छ ।

जेठ पूर्णिमा उँभौली पूर्णिमा र मङ्सिरे पूर्णिमा उँधौली पूर्णिमा हो किनभने ७/७ महिनाको फरकमा उँभौली र उँधौली पूर्णिमा हुन्छ । त्यसकारण जेठ पूर्णिमामा उँभौली र मङ्सिरे पूर्णिमामा उँधौली भूमेपूजा गरिन्छ ।

मङ्सिर महिनामा अन्नवाली भित्र्याई सकेपछि भूमि देवता प्रति अनुगृहित हुँदै मङ्सिरे पूर्णेमा उँधौली भूमेपूजा गरेर न्वागी खाने प्रचलन छ । हिउँद काल, वर्खा काल भन्ने कहावत छ । त्यसकारण अब वर्खा लाग्यो, खेतीपातीको समय भयो, वालीनाली सप्रोस्, खोलो पहिरो, रोग व्याध र मर भाग केही नहोस् भनेर जेठ पूर्णेमा उँभौली भूमे पूजा गरिन्छ ।

मङ्सिरमा अन्नवाली भित्र्याई सकेपछि खेत मल्न लेकबाट बेँसीमा गोठ झारिन्छ र खेतीवालीको समय आएर खेत वारीमा जोत चास गर्ने बेला भएपछि बेँसीको गोठ लेकमा सारिन्छ । त्यसकारण उँधौली – उँभौली मङ्सिरे पूर्णिमा र जेठ पूर्णिमामा गोठमा गैडूपूजा गरिन्छ । पशुधनको संरक्षण र वृद्धिको लागि गैडूपूजा गरिएको हो । त्यसकारण गैडूपूजा गर्दा गाउँको लश्कर (वस्तुभाउको ताँती) बेँसी र बेँसीको लश्कर गाउँ होस् भनेर पुकारा गरिन्छ । गैडूपूजा गर्दा खिर पकाइन्छ र त्यस अवसरमा केटाकेटीहरु कोही काग र कोही कुकुरको अभिनय गरेर रमाइलो गर्छन् । त्यसकारण गैडूपूजा बालविनोदको एउटा पर्व पनि हो । नेपालको हिमाली क्षेत्रका वासिन्दाहरुमा आजसम्म पनि जाडो याममा घमाइलो ठाउँतिर बसाइँ सर्ने र गर्मी बढेपछि आफ्नै थार थलोतिर फर्कने मानव जीवनचक्र (Trans Human Cycle) विद्यमान छ ।

नेपालको पहाडी भेगमा यसरी जाडो र गर्मी छल्न बसाइँ सर्ने प्रचलन छैन तापनि उँधौलीमा लेकको गोठ बेँसीमा झार्ने र उँभौलीमा बेँसीको गोठ लेकमा सार्ने प्रचलन भने अझै पनि प्रचलित छ । गाउँमाथि लेक, गाउँ मुन्तिर बेँसी र माझको घमाइलो डाँडा पाखामा गाउँ बसाल्नु नेपाल पहाडका नेपालीहरुको बस्ती बसाईको ढाँचा (Pattern of Settlement) हो ।

लेकमा जहाँसम्म गाई गोठ जान सक्छ, त्यहाँसम्म भैँसी गोठ जान सक्तैन । त्यसकारण भैंसी गोठ अलि तलै हुन्छ र गाई गोठ अलि माथि हुन्छ । यसैगरी जहाँसम्म भेडीगोठ जान सक्छ, त्यहाँसम्म गाई गोठ जान सक्तैन । त्यसकारण गाई गोठ अलि तलै हुन्छ र भेडीगोठ भने उच्च हिमाली चरन (High Himalayan Pastural Land) सम्म पुग्दछ ।

उच्च हिमाली चरनमा जहाँसम्म भेडीगोठ लगिन्छ, असार महिनाभित्र त्यहाँ गोठ लगिसक्नुपर्छ । त्यसपछि साउन महिनाभर र भदौको आधा-आधीसम्म उच्च हिमाली चरनमा भेडीगोठ बस्दछ । हिमालमा पनि मुनाल अलि तलै बस्छ र उच्च हिमाली चरनमा ता कस्तुरी र डाँफे मात्र बस्छ । त्यसकारण उच्च हिमाली चरन (High Himalayan Pastural Land) लाई डाँफे चरन भन्दछ ।

भदौको ११ सम्म भेडाको शिर उत्तरतिर फर्केको हुन्छ । भदौ १२ मा सगर गर्जेपछि खण्डवृष्टि हुन्छ र हिमालबाट चिसो सिरेठो चल्न थाल्छ । भेडीको मूली माउले हिमालबाट चिसो सिरेठो चन्ल थालेको चाल पाउँछ र भदौ १२ देखि भेडीको मूली माउले दखिनतिर शिर फर्काउँछ । भेडीको मूली माउले दखिनतिर टाउको फर्काएको देखेपछि भेडी गोठालाले तल्लो कन्लामा गोठ सार्छ र उँधौली भनेको त्यही हो ।

मङ्सिर महिनामा गाउँको माथि माथि गोठ ल्याएर राखेको हुन्छ । मङ्सिरमा धान र कोदो थन्क्याई सकेपछि बेँसीमा गोठ झारिन्छ । गाउँको बेँसीमा झिनुवा धान झुक्ने फांटहरु हुन्छन् । फाँटको छेउको खोलाको रानी रहमा असला र कत्ले माछाले भुत्भुती खेल्छ । त्यसकारण झिनुवा धान झुल्ने बेंसीको फाँटलाई माछा चरन भनिन्छ ।

फागुन १२ मा सगर गर्जेपछि धर्ती कमलाउँछ र खेतवारीमा जोत चास गर्ने बेला हुन्छ । त्यसकारण फागुअ १२ ददेखि बेँसीको गोठ बिस्तारै लेकतिर सारिन्छ । वर्खाभरि खोला हिँडेको र हिउँदमा खोलाले छोडेको जमिन बगर हो । यसैगरी हिउँदभरि हिउँले ढाकेको र वर्खामा हिउँले छोडेको जमिन खगर हो । यही खगर-गर, डाँफे चरन, माछा चरन, लेक-बेँसी, खर्क खर्चरी, चरिचरन र त्यसको सेरो फेरो, त्यहाँका वनस्पति र पशुपंक्षी, ऋतु अनुसार उँधौली र उँभौलीमा त्यसमा आउने परिवर्तन र तदनुरुपको जीवन शैलीले नेपालको जैविक विविधता (Bio Diversity) को सुन्दर नमूना प्रस्तुत गर्दछ ।

ज्येष्ठ शुक्ल पूर्णिमा मष्ट पूर्णिमाको नामबाट पनि प्रसिद्ध छ । मष्ट परम्परा खस संस्कृतिको प्रमुख विशेषता हो । मष्ट परम्पराको विकास पश्चिम नेपालको कर्णाली प्रदेशमा भएको हो । ढँडार छुट्यौँ, खप्तड फुट्तौँ भन्ने लोकोक्ति प्रसिद्ध छ । त्यसकारण बझाङको ढँडार र खप्तड मष्ट परम्पराका मुख्य दुई केन्द्र बिन्दु (Major Point ) का रुपमा देखिन्छन् ।

ज्येष्ठ शुक्ल पूर्णिमा मष्ट पूर्णिमाको नामबाट पनि प्रसिद्ध छ । मष्ट परम्परा खस संस्कृतिको प्रमुख विशेषता हो । मष्ट परम्पराको विकास पश्चिम नेपालको कर्णाली प्रदेशमा भएको हो ।

मष्टलाई कतै कतै मष्टो भनेको पनि पाइन्छ । एउटालाई एउटो र चरालाई चरो भने जस्तै मष्टलाई मष्टो भन्दा अवहेलित हुन्छ । त्यसकारण मष्टो भन्न हुँदैन, मष्ट भन्नुपर्दछ । मष्टका सन्दर्भमा विभिन्न मत मतान्तरहरु पाइन्छन् । पश्चिम नेपालको हिमालयमा पूजिने देवी देवताहरुको बारेमा विस्तृत अनुसन्धान गर्नुहुने प्रा. डा. प्रयागराज शर्माले मष्टलाई अपौराणिक भन्नू भएको छ । उहाँले अपौराणिक भन्नुको तात्पर्य अवैदिक भन्न खोज्नु भएको बुझिन्छ । त्यसकारण अब मष्ट कस्तो खालको देवता हो ? भनेर बुझ्नुपर्दछ । अझ मष्टको बारेमा बुझ्नु भन्दा पहिले मष्टलाई कुल देवता मान्ने खस समुदायको बारेमा जान्न बुझ्न आवश्यक छ ।

भारतमा विदेशबाट आएका थुप्रै आर्येतर समुदायले आर्य धर्म ग्रहण गरेर भारतीय समाजमा आफ्नो वर्चस्व कायम गरि राज्यसत्ता प्राप्त गरेको ईतिहास छ । भारतीय साहित्यहरुमा यसरी राज्यसत्ता प्राप्त गरेकाहरुलाई म्लेच्क्ष भनेको पनि पाइन्छ। यसैगरी यी खसहरु पनि आर्यधर्म ग्रहण गरेर समाजमा आफ्नो वर्चस्व कायम गरि राज्यसत्ता प्राप्त गर्न सफल लडाका जातिका रुपमा देखिन्छन् । श्रीमद्भागवत महापुराणको यस श्लोकबाट यो वास्तविकता राम्ररी स्पष्ट हुन्छ, जस्रै-
किरातहूणान्ध्रपुलिन्दपुल्कसा
आभीरकङ्कायवना: खसादय: ।
येS न्ये च पापा यदुपाश्रयाश्रया:
शुध्यन्ति तस्मौ प्रभविष्णवे नम: ।।
– श्रीमद्भागवतमहापुराण।।२।४ ।१८ ।।

मष्ट परम्परामा बाह्रभाइ मष्ट, नौ बहिनी भावानी र तिनका मामा लामा-विष्णु यी तीन थरी देवता छन् । मष्टको नाम तिनका ठाउँ र स्वभाव अनुसार रहेको हुन्छ, जस्तै – ढँडार मष्ट, खप्पर मष्ट, दाह्रे मष्र, दूधे मष्ट, वाविरो मष्ट, कालोसिल्टो मष्ट, सुनार गाउँ मष्ट आदि । बाह्रभाइ मष्टमा कोही भोग ( पशुवलि ) खाने, कोही दूध खाने र कोही वावर ( रोटि) खाने हुन्छन् ।

नौ बहिनी भवानीमा कुनैका नाम कनकसुन्दरी, त्रिपुरसुन्दरी, कालिका, मालिका आदि शुद्ध संस्क्रुत भाषामा रहेका छन् । कुनैका खेसमालिनी जस्ता स्थानीय भाषामा रहेका छन् भने कुनैका चाहिँ ठिंग्याल्नी र पुंग्याल्नी जस्ता जाड भाषामा पनि रहेकाछन् । यसरी खसानका खसहरुको मष्ट संस्कृतिमा जडानका जाडहरुको संस्कृतिले प्रभाव पारेको देखिन्छ ।

खस संस्कृतिमा जाड संस्क्रुतिको प्रभावको एउटा सुन्दर नमूना लामा-विष्णु हो । लामा-विष्णु बाह्रभाइ मष्ट र नौ बहिनी भवानीका मामा हुन् । एउटै देवतालाई लामा पनि मान्ने र विष्णु पनि मान्ने हुनाले लामा-विष्णु भनेको हो । यस सन्दर्भमा लामा भन्नाले लामा बौद्ध धर्म अन्तर्गत फाग्प च्यङरेसी (आर्यावलोकितेश्वर) हुन् ।

कर्णाली प्रदेशको लामा-विष्णु मतले गण्डकी प्रदेशमा आएर मुक्तिनाथको रुप लिएको छ । मुक्तिनाथलाई हिन्दूहरु विष्णु र बौद्धहरु फाग्प च्यङरेसि (आर्यावलोकितेश्वर) मान्दछन् । हुन ता मष्टको घरमाडु र वनमाडु भन्दछन् तापनि खासमा वन भित्र रुखको फेदमा र ढुङ्गाको पखेरामा मष्टको पूजा गरिने हो । आजकल मष्टको थानमा छाना हालेको पनि पाइन्छ तर मष्टको थानमा छाना हल्न हुँदैन, किनभने यो विशाल आकाश नै मष्टको छाना र दिशाहरु नै द्वार हुन् । त्यसकारण मष्टलाई छानाले ढाक्न हुँदैन र खुला आकाश मुन्तिर मष्टलाई स्थापना गर्नुपर्छ ।

मष्टको कुनै स्वरुप र मूर्ति हुँदैन। मष्टको थानमा कुनै ढुङ्गा व कुनै प्रतीक पनि स्थापना गर्न हुँदैन, किनभने मष्ट निराकार र निर्विकार छ । मानिसले देवी देवताको साकार मूर्ति बनाएर प्रतिमा (Iconic) पूजा गर्नुभन्दा पहिले ढुङ्गा आदिलाई देवी देवताको रुपमा स्थापना गरेर प्रतीक (Uniconic) पुजा गर्दथे । मष्ट परम्परा र पूजा प्रतीक पूजाको विकास हुनुभन्दा पहिलेको थिति, मान्यता र परम्परा हो । त्यसकारण मष्टको कुनै प्रतीक र मूर्ति नभएको हो । मष्टको दीयो, घण्ट र चमर हुन्छ । उक्त दीयो, घण्ट र चमर मूल धामीको घरमा राखिन्छ । पूजा गर्ने बेलामा मूल धामीको घर अथवा घरमाडुबाटै दीयो बालेर वनमाडु अथवा पूजा गर्ने ठाउँमा लगिन्छ ।

मष्टको कुनै स्वरुप र मूर्ति हुँदैन । मष्टको थानमा कुनै ढुङ्गा व कुनै प्रतीक पनि स्थापना गर्न हुँदैन, किनभने मष्ट निराकार र निर्विकार छ । मानिसले देवी देवताको साकार मूर्ति बनाएर प्रतिमा (Iconic) पूजा गर्नुभन्दा पहिले ढुङ्गा आदिलाई देवी देवताको रुपमा स्थापना गरेर प्रतीक (Uniconic) पुजा गर्दथे ।

मष्टको पूजा गर्ने रुखको वरिपरि सेउलाले भित्री बाहिरी दोहोरो मण्डल बारेको हुन्छ । मण्डलको भित्री घेरामा त्यस कुलको जेठा बूढा र मष्टको धामी मात्र जान पाइन्छ। अरु वंश बगालहरु बाहिरी घेरा भित्र बस्दछन् । मष्ट पूजामा बाहुन पुरेत पनि राखेको हुन्छ तर भित्री घेरा भित्र ता बाहुन पुरेत पनि जान पाइँदैन । संस्क्रुति Tradition र Adaptatiion गरि दुई प्रकारका हुन्छन् । मष्ट पूजामा भित्री भागमा गरिएको पूजा खसहरुको आफ्नो Tradition हो र बाहुन पुरेत राखेर बाहिरी भागमा गरिने पूजा Adaptation हो ।

मष्ट परम्परा र पूजा प्रतीक पूजाको विकास हुनुभन्दा पहिलेको थिति, मान्यता र परम्परा हो । त्यसकारण मष्टको कुनै प्रतीक र मूर्ति नभएको हो । मष्टको दीयो, घण्ट र चमर हुन्छ । उक्त दीयो, घण्ट र चमर मूल धामीको घरमा राखिन्छ । पूजा गर्ने बेलामा मूल धामीको घर अथवा घरमाडुबाटै दीयो बालेर वनमाडु अथवा पूजा गर्ने ठाउँमा लगिन्छ ।

खसहरु गणजाति हुन् । गणजातिमा गण प्रमुखको मुख्य भूमिका रहेको हुन्छ । मष्रपूजामा मण्डलको भित्री भाग (Inner Core) बसेका जेठा बूढाले गण प्रमुखको भूमिका निर्वाह गरेको हुन्छ । धामीले ता मष्ट देवता कै प्रतिनिधित्व गर्दछ । मष्ट पूजा भर्खर भर्खर मानव सभ्यता र संस्क्रुति विकाश हुन लागेको आदिम जङ्गलात अवस्थाको थिति र परम्परा हो । त्यसकारण मष्टपूजामा पछि विकास भएको चित्रा र भकारिले नबारेर पुरानै थिति अनुसार सेउलाले नै मण्डल बारिएको हो ।

यसैगरी मष्ट देवताको कुनै मन्त्र र स्तोत्र पनि हुँदैन।दीयो बालेर हेर परमेश्वर फलानो मष्ट देवता भनेर धूप हाल्नासाथ धामीमा मष्ट चढिहल्छ।यस्तो प्रत्यक्ष छ । दीयो एउटा प्रकाशपुन्ज र ज्ञानरश्मि हो । अत: त्यही प्रकाशपुन्ज ज्ञानरश्मि दीयो नै मष्ट देवताको द्योतक हो । मष्ट देवता जीववाद (Animism) मा आधारित परम्परा हो । जीववादमा आफ्नै दिवङ्गत पुर्खा र आफ्नै वरिपरिका प्राकृतिक स्रोतहरुलाई नै देवता मानिन्छ । त्यसकारण प्रक्रुतिपूजा नै मष्टपूजाको मुख्य चरित्र हो ।

तिब्बत र नेपालको हिमालीक्षेत्रका बोन्पोहरु र मष्टका धामीले उभिण्डो पारेर घण्ट बजाउँदछन्, जसले बोनवादी र मष्टवादीको अन्तर सम्वन्धलाई प्रष्ट्याउँद्छ । पश्चिम नेपालको कर्णाली प्रदेशमा विकशित खस समुदायको जीववादमा आधारित मष्ट परम्परामा तिब्बतको बोन र बौद्ध मतले प्रभाव पारेपछि मष्ट परम्परा जीववाद (Animism) बाट मन्त्र, तन्त्र (Shamanism) तिर उन्मुख हुँदै गयो । त्यसपछि भारतको गङ्गाको मैदान र काश्मिरमा विकशित आर्य संस्क्रुतिले प्रभाव पारेपछि आदिम चरित्रको मष्ट परम्परामा अनेकन् मन्त्र र विधिविधानहरुले प्रश्रय पायो र त्यसपछि मष्ट परम्परा बिस्तारै आर्यकरण भएर अहिलेको यो अवस्थासम्म आइपुग्यो ।

मष्टका धामी आफ्नै वंशका खस, बाहुन नै हुन्छन् र मष्टका धामीले आफ्नै भाषामा पतुर्छन् तर धामीले आफ्नो भाषामा पतुर्नु भन्दा पहिले धामीले चाइँ चाइँ चुइँ चुइँ यस्तो लवज बोल्दछन् । कोही यसलाई देव भाषा पनि भन्दछन् । सम्भवत: मष्टको धामीले बोल्ने देव भाषा भनिने यो लवज कतै खसहरुको आफ्नो खास भाषा ता होइन ? यसतिर पनि सोच्नुपर्ने बेला आएको छ । यसरी नेपाली जनजीवनले ज्येष्ठ शुक्ल पूर्णिमालाई आफ्नै परिवेशको पर्व मानेको छ । यी कुराहरु हाम्रा मान्यता, निधि र अमूर्त सांस्कृतिक सम्पदा हुन् । यसैमा नेपालीको जीवन बाँचेको छ र नेपाली संस्कृति बचेको छ ।

यसबाट सबैको जय कल्याण होस् ।।शुभम्।।

*डा. जगमान गुरूङ नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ तथा उपकुलपति हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

गङ्गा दशहरा, पद्मसम्भव जयन्ती तथा गुरुङ साँजपूजाको धार्मिक महत्व

नेपालको गौरव र नेपालीको स्वाभिमान : नेपालको राष्ट्रिय झण्डा

नेपाल राष्ट्रका लागि जागौँ 

वैशाख शुक्ल पूर्णिमा र घाटु नृत्य नाटिका

वैशाख शुक्ल पूर्णिमा – सिद्ध गोरखनाथ जयन्ती

वैशाख शुक्ल पूर्णिमा – लुम्बिनी

वैशाख शुक्ल पूर्णिमा – कूर्म जयन्ती

वैशाख शुक्ल पूर्णिमा र यसको महत्त्व


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !