७ मंसिर २०८१, शुक्रबार

‘छ्वालीकला’ मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह


‘छ्वालीकला’ मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह

काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज परेको ३००औँ जन्मजयन्तीका अवसरमा एक जना कलाकारले छ्वालीमार्फत उनको योगदानलाई स्मरण गराएका छन् ।

बाइसे चौबीसे राज्यलाई एकीकरण गरी एउटै राज्य नेपाल बनाउन सफल पृथ्वीनारायण शाहलाई राष्ट्र एकीकरणका नायकका रुपमा बुझ्ने गरिएको छ । त्यसैले राजधानीमा उनको योगदानलाई स्मरण गर्दै तीनदिने कार्यक्रम गरिरहेका बेला काठमाडौँको कागेश्वरी–मनहरा नगरपालिका–४ डाँछीका कलाकार ४० वर्षीय प्रकाश विकले छ्वालीको नौलो प्रयोग गररे उनको योगदानलाई क्यान्भासमा सजाएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)को अरनिको हलमा त्यही कलाकृतिले दर्शकको ध्यान खिच्च । हामीले जहाँतहीँ देख्ने गरेको पृथ्वीनारायण शाहको चोरऔँला ठड्याएको सिर्जना यहाँ छ । उक्त चित्र क्यान्भासमा रङले होइन गाउँघरमा पाइने छ्वालीले सजिएको छ ।

गाउँघरमा गहुँ निकालेपछि प्राप्त हुने नललाई छ्वाली भनिन्छ । त्यो हरियो छँदा गाई बस्तुलाई खुवाउन घाँसको रुपमा प्रयोग हुन्छ भने सुकेपछि छ्वाली बन्छ । कलाकार विकले त्यही छ्वाली (गहुँको नल) लाई विभिन्न रङ र आकार दिएर राष्ट्रनिर्माताको पूर्णकदको चित्र बनाई राष्ट्रिय एकताको सन्देश दिएका छन् ।

एक्रेलिक रङमा छ्वालीको फ्युजन गरेका कलाकार विकले कलामार्फत पृथ्वीनारायण शाहको हुन्, उनले गरेका योगदान केके छ भनेर प्रष्ट्याउन खोजेका छन् । “मेरो विधा नै त्यही भएकाले छ्वालीबाट राष्ट्र निर्मातालाई प्रस्तुत गरेको हुँ”, विकले भने ।

उनका अनुसार अन्य रङबाट जति प्रस्तुत गर्न सकिन्छ, छ्वालीबाट पनि त्यति नै गर्न सकिन्छ, त्यही अभ्यास यहाँ देख्न पाइन्छ । कलाकार विक परम्परागत कलालाई पनि छ्वाली टालेर हुबहु उतारे । उनी दैनिक क्रियाकलाप (समसामयिक), सम्पदा, संस्कृति, आर्किटेक्चर सबैमा छ्वाली खेलाए । आवश्यक पर्दा रङको संयोजन गरेर थप आकर्षक तुल्याए ।

नेपालमा छ्वाली खेलाउने कलाकार धेरै छन् तर यसैलाई व्यावसायिकरुपमा प्रयोग गर्ने कलाकार निकै कम रहेको उनले बताए । मसिनो, गोलो आकारदेखि कालो, पहेंलो, रातो, बैजनी लगायत थरीथरीका रङ र आकारमा छ्वालीलाई उपयोग गर्न निपूर्ण विक छ्वालीबाटै फरकफरक टोन र बुट्टा भर्न सक्छन् ।

“पृथ्वीनारायण शाहको चित्रमा देखिएको ओठको हल्का रातो बैजनी रङ देखाउँदै विकले भने, “त्यो कुनै तयारी रङ होइन, छ्वालीको वास्तविक रङ हो ।” पृथ्वीनारायण शाहको शिरमा रहेको श्रीपेच, शरीरका कपडा, कम्बरको खुकुरी, पेटी, हातको खड्ग पनि छ्वाली टाँसेरै बनाइएको छ । उनी कुनै बेला आगोले पोलेर वैजनी तथा कालो रङ निकाल्छन् । त्यसले सिर्जनालाई जीवन्तता प्रदान गरेको हुन्छ ।

कलाकार विकका अनुसार गहुँ र यसको छ्वाली मानिसको जीवनयापनसँग जोडिएको वस्तु हो । गाँस, बास र कपासका लागि प्रयोग हुन्छ । मानिसले घर छाउन छ्वालीको प्रयोग गर्दै आएका छन् । विपन्न परिवारको घरको छानो नै छ्वालीको हुन्छ । सुनौलो रङको छ्वाली छिट्टै नबिग्रिने हुँदा घर छाउन प्रयोग गरिएको हो । गहुँ महत्वपूर्ण खाद्य वाली हो । यसको नल गाईबस्तुका लागि घाँसको रुपमा प्रयोग हुन्छ, त्यही नै सुकपछि छ्वाली बन्ने हो ।

विगत दुई दशकदेखि छ्वाली कलामा रमाउँदै आएका विकलाई चिनियाँ कलाकारले यसप्रति आकर्षित गराएको हो । विगतमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एउटा अन्तर्राष्ट्रिय प्रदर्शनी भएको थियो । चिनियाँ कलाकारले छ्वालीबाट आकर्षक कलाकृति सिर्जना गरेको देखेपछि उनलाई तान्यो । निम्न वर्गीय कलाकारलाई रङ, ब्रस, कुची खेलाउन महँगो पर्न जाने हुँदा उहाँले आफ्नो जीवनसँग पनि जोडे ।

“कतिपय अवस्थामा तयारी सामान प्रयोग गर्न नसक्ने हुनसक्छ, त्यसैले गाउँघरमा नियमित उत्पादन हुने चिज हो छ्वाली”, सुरुआती क्षण सम्झँदै उनले भने, “मेरो आफ्नो अवस्थालाई शुट गर्छ, खर्चलगायत विभिन्न समस्या नआओस्, नियमित कला प्रस्तुत गर्न सकुँ भनेर छ्वाली रोजेको हुँ ।”

उनले त्यसलाई कुनै पनि प्रकारको गम प्रयोग गरेर क्यान्भासमा टाँसेर कला सिर्जना गर्छन् । यसपटकको चित्रको पृष्ठभूमिमा एक्रेलिक रङलाई छ्वालीसँग संयोजन (फ्युजन) गराएर राष्ट्र निर्मातालाई देखाएका छन् ।

उनका अनुसार छ्वाली कलाको माग बजारमा राम्रो छ । कलाकोस्तर अनुसार मूल्य पनि छ । यसको अन्तर्राष्ट्रिय माग पनि छ । उनले प्रश्न गर्दै भने, “नेपालमा चीनबाट चित्रहरु आइरहेको छ भने नेपालमै उत्पादन गर्न किन सकिँदैन, नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा किन लैजान सक्दैन ?” कलाकार विकले अमेरिका, जापान, अष्ट्रेलियामा आफ्नो छ्वाली कला पुगेकोसमेत जानकारी दिए ।

उहाँका छ्वाली कलाले राष्ट्रिय प्रदर्शनीमा कुनै न कुनै अवार्ड पाइरहेको छ । ललितकला प्रज्ञा प्रतिष्ठानबाटै उहाँले प्रथमसहित विभिन्न तीन पुरस्कार प्राप्त गरिसकेका छन् । यसपालि ३००औँ पृथ्वीजयन्तीको अवसरमा प्रतिष्ठानमा प्रदर्षित उहाँको सिर्जनाका साथमा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यको राष्ट्रिय एकताको सन्देश दिने गरी पृथ्वीनारायण शाहको चित्र छ । उनले चलनचल्तीमा रहेका रङको माध्यमबाट पृथ्वीनारायण शाहले समुदायलाई एक हुन आह्वान गरिरहेको चित्र उनेका छन् ।

यहाँ जारी प्रदर्शनीमा विभिन्न १३४ कलाकारका सिर्जना छन् । त्यसमध्ये सिमित मात्रै पृथ्वीनारायण शाह, उनको एकीकरण अभियान र राष्ट्रिय एकताको सन्देश दिने कलाकृति छन् । अन्यमा समसामयिक, मूर्त, अमूर्त, मिथिला कला तथा सम्पदा र संस्कृतिसम्बन्धी कलाकृति छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !