२३ असार २०८२, सोमबार

मेयर बालेन र उपमेयर डंगोलबीच तीन महिनापछि वार्ता


बालेन साह र सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच तीन महिनापछि भेट भएको छ । महानगरका प्रवक्तासहित तीन वडाध्यक्षसँगै मेयर र उपमेयरबीच भेटवार्ता भएको हो ।

वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको छ । राष्ट्रिय सभागृहमा उनीहरूबीच भेटवार्ता भएको बताइएको छ ।

काठमाडौं–३२ का अध्यक्ष नवराज पराजुली र वडा नम्बर–१५ का अध्यक्ष ईश्वरमान डंगोल पनि बैठकमा सहभागी थिए । डंगोलले मेयरसँग आफ्नो नियमित भेट भइरहेको बताए ।

महानगर स्रोतका अनुसार सुरुमा मेयर, उपमेयर र तीन वडाध्यक्षबीच भेटवार्ता भएको थियो । त्यसपछि बुधबारै अपराह्न करिब ४ बजेतिर मेयर र उपमेयरबीच छुट्टै भेटवार्ता भएको थियो । आज पनि उनीहरूबीच भेटवार्ताको तयारी छ ।

उपमेयर डंगोलनिकट स्रोतका अनुसार, मेयर र उपमेयरबीच गत वर्ष पुसदेखि खटपट सुरु भएको थियो । उपमेयर डंगोलले विभागीय प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग भेटघाट कायमै राखेकी थिइन् ।

महानगरमा अन्तिमपटक ०८१ पुस ८ गते कार्यपालिका बैठक बसेको थियो । त्यसयता बैठक बस्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !