५ असार २०८२, बिहीबार

को हुन् नवनियुक्त गभर्नर डा. विश्व पौडेल ?


डा. विश्व पौडेल

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा. डा. विश्व पौडेललाई नियुक्त गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।

लामो रस्साकस्सीबीच सरकारले आज राष्ट्र बैंकको १८औं गभर्नरमा डा. पौडेललाई नियुक्त गरेको हो । आज मंगलबार अर्थ मन्त्रालयमा बसेको अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको सिफारिस समितिले डा. पौडेलको नाम पहिलो नम्वरमा राखेर नयाँ गभर्नरका तीन जनाको नाम सिफारिस गरेको थियो ।

पहिलो नम्बरमा प्रा. डा पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराई रहेका थिए । तर अर्थविद् समेत रहेका पौडेलले राष्ट्र बैंकको गभर्नर पद बाजी मारेका हुन् ।

डा. पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । यसअघि उनी सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

को हुन् डा. विश्व पौडेल ?

अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका विश्व पौडेल पछिल्लो समय काठमाडौं विश्वविद्यालयको ‘स्कुल अफ म्यानेजमेन्ट’का प्रोफेसर थिए । केयुको प्राध्यापक हुने बेलादेखि नै उनी कांग्रेसको क्रियाशील राजनीतिबाट अलग भएका थिए।

२०३२ सालमा चितवनको रत्ननगर नगरपालिकामा पौडेलको जन्म भएको हो । पौडेल चीनको शाङ्हाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन समेत गरेका छन् ।

उच्च शिक्षा अध्ययनका लागि अमेरिकाको राइस विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् भने युनिभर्सिटी अफ क्यालिफोर्निया , बर्कलेबाट अर्थशास्त्रमा पीएचडी गरेका हुन् ।

यसअघि आईएलओको सल्लाहकारका रूपमा तथा अफिस अफ द मिलेनियम च्यालेन्जमा अर्थशास्त्रीको रूपमा काम गरेका छन् । उनी २०१२ देखि २०१३ सम्म सानिमा बैंकको डिरेक्टरको रूपमा काम गरेका थिए ।

उनले विश्व बैंकको कन्सल्ट्यान्ट, अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालयमा पनि अर्थशास्त्रीको रूपमा कार्य गरिसकेका छन् । डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए ।

डा. पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासका अध्येता हुन् । उनले इतिहास र अर्थशास्त्रबारे विशेष ज्ञान राख्छन् । उनले लेखेका अर्थशास्त्र तथा इतिहाससम्बन्धी लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !