४ श्रावण २०८२, आइतबार

बालेन र सुनिताबीच कार्यपालिका बैठक र नगरसभा डाक्ने सहमति


बालेन र सुनिताबीच कार्यपालिका बैठक र नगरसभा डाक्ने सहमति

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलबीच कार्यपालिका बैठक र नगरसभा डाक्ने सहमति भएको छ । काठमाडौं महानगरका मेयर शाह कार्यपालिका बैठक र नगरसभा बोलाउन सहमत भएका हुन् ।

हिजो बुधबार उपमेयर सुनिता डंगोलसहित फरक पाटीका तीन वडाध्यक्षसँगको गोप्य भेटवार्तापछि उनी बैठक बोलाउन सहमत भएका हुन् । साहले लामो समयदेखि रोकिएको कार्यपालिका बैठक र नगरसभा बोलाउन बल्ल पहल अघि बढाएका हुन् ।

स्रोतका अनुसार वार्तामा महानगरका प्रवक्तासमेत रहेका कांग्रेसबाट निर्वाचित १७ नम्बर वडाका वडाध्यक्ष नवीन मानन्धर एमालेबाट निर्वाचित ३२ नम्बरका वडाध्यक्ष नवराज पराजुली र नेकपा एसबाट निर्वाचित १५ नम्बरका वडाध्यक्ष ईश्वरमान डंगोलको सहभागिता रहेको थियो ।

बैठकमा बालेनले मिलेर अगाडि बढ्ने प्रस्ताव गरेको एक सहभागीले बताए । चाँडै कार्यपालिका बैठक र नगरसभा डाक्न उनी सहमत भएका छन् । राष्ट्रिय सभागृहमा उनीहरूबीच भेटवार्ता भएको बताइएको छ ।

उपमेयर डंगोलनिकट स्रोतका अनुसार, मेयर र उपमेयरबीच गत वर्ष पुसदेखि खटपट सुरु भएको थियो । उपमेयर डंगोलले विभागीय प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग भेटघाट कायमै राखेकी थिइन् । महानगरमा अन्तिमपटक ०८१ पुस ८ गते कार्यपालिका बैठक बसेको थियो । त्यसयता बैठक बस्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !