
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेललाई नियुक्त गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।
आज मंगलबार अर्थ मन्त्रालयमा बसेको अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको सिफारिस समितिले डा. पौडेलको नाम पहिलो नम्वरमा राखेर नयाँ गभर्नरका लागि पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।
पहिलो नम्बरमा प्रा. डा पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराई रहेका थिए । तर अर्थविद् समेत रहेका पौडेलले राष्ट्र बैंकको गभर्नर पद बाजी मारेका हुन् ।
सर्वोच्च अदालतले अर्थशास्त्री डा. पौडेललाई गभर्नर बन्ने बाटो खुला गरिदिएको थियो । आज मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उनलाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको थियो ।
यसअघि नेकपा एमाले र नेपाली कांग्रेसबीच अर्थविद्समेत रहेका डा. पौडेललाई गभर्नर बनाउन सहमति जुटेको थियो । कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव राखेका थिए ।
गत वैशाख २९ गते र आज बालुवाटारमा भएको कुराकानीमा सभापति देउवाले पौडेललाई गभर्नर बनाउन प्रस्ताव गरेकोमा प्रधानमन्त्री ओलीले सहमति जनाएका हुन् ।