३ चैत्र २०८२, मंगलबार

रास्वपालाई चीनको बधाई : रवि-बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्याउन विश्वस्त छौं


रास्वपालाई चीनको बधाई

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक रुपमा बधाइ र शुभकामना व्यक्त गरेको छ । विभागले दुई देशवीचको विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै चिनियाँ कम्युनिस्ट पार्टीबाट शुभकामनापत्र प्राप्त भएको जानकारी गराएका छन् । विभागले रास्वपालाई पठाएको सन्देशमा चीन र नेपाललाई पहाड र नदीले जोडेको उल्लेख गर्दै दुई देशबिच परम्परागत मित्रताको लामो इतिहास रहेको स्मरण गराएको छ ।

सीपीसीले सन्देश पत्रमार्फत रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गरेको र आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास दिएको पनि उल्लेख छ । दुवै देशका नेताहरूको रणनीतिक नेतृत्वमा चीन र नेपालले विकास र समृद्धितर्फ उन्मुख पुस्ता–पुस्तासम्म चल्ने मैत्रीपूर्ण रणनीतिक साझेदारी सम्बन्ध स्थापना गरेको विभागले जनाएको छ ।

विभागले वर्तमान नयाँ परिस्थितिमा चीन नेपालसँग मिलेर राजनीतिक आपसी विश्वासलाई अझ गहिरो बनाउन इच्छुक रहेको बताएको छ । उच्च गुणस्तरको ‘बेल्ट एण्ड रोड’ (बीआरआई) सहयोगलाई अगाडि बढाउन, अझ नजिकको चीन–नेपाल साझा भविष्यको समुदाय निर्माण गर्न तथा दुवै देश र जनतालाई लाभ पुर्‍याउन चीन प्रतिबद्ध रहेको सन्देशमा उल्लेख छ ।

सीपीसीले रास्वपासँग विगत लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध कायम राखेको पनि जनाएको छ । विभागले रास्वपाका अध्यक्ष रवि लामिछाने र महामहिम बालेन शाहको नेतृत्वमा रास्वपाले चीनसँग मैत्रीपूर्ण नीतिहरू निरन्तर कायम राख्ने, परम्परागत मित्रतालाई प्रवर्द्धन गर्ने र विभिन्न क्षेत्रमा आदानप्रदान तथा सहयोगलाई गहिरो बनाउन नयाँ योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

सीपीसीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सँगै काम गर्ने तत्परता देखाएको पनि विज्ञप्तिमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !