पृष्ठभूमि : मकवानपुरगढी मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो । मकवानपुर गढी नेपालका लागि सधै रणनीतिक महत्वको स्थान हो । मकवानपुर गढी सेन वंशीय राजाहरूको विरासत हो । करिब १ सय ३५ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै सबैभन्दा ठूलो हो । करीव अढाइ सय वर्ष पुरानो अग्लो डाँडाको टुप्पामा वरिपरि चारैतिर अग्लो पर्खालले घेरिएको यो मकुन्दसेनको दरबार नै पृथ्वीनारायण शाहको ससुराली घर पनि हो ।
परिचय
ऐतिहासिक, पुरातात्विक र सामरिक दृष्टिले पनि महत्पूर्ण रहेको यो गढी आजको मकवानुपर जिल्ला सदरमुकाम हेटौंडाबाट करीब १७ किलोमिटर उत्तर–पूर्व मकवानपुरगढी गाउँपालिकामा पर्छ । नेपालमा ठूला-साना गरी करीब दुईसय गढी छन् । ती सबैका आ-आफ्नै महत्व छन् । त्यस हिसाबले पनि मकवानपुरगढीको महत्व फरक छ । मकवानपुर गढीमा प्रयोग गरिएका शिलाहरू कति परिश्रमले, कसरी त्यहाँ पुर्याइए होलान्, अहिले हेर्दा आश्चर्य लाग्छ । गढीमा प्रयोग गरिएका ढुंगा, इँटा लगायतका वस्तुहरूले चीनको ’ग्रेटवाल’ को झ्ल्को दिन्छ ।
नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको हो । यस अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वद्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा मकवानपुर जिल्लाको मकवानपुरगढीलाई पनि छनोट गरेको छ ।
इतिहास
सेन राजाहरूले १९७ वर्षसम्म आफ्नो राजधानी बनाएको मकवानपुर गढी वि.सं. १६२२ मा लुवाङ सेनले बनाएको मानिन्छ । नुवाकोट विजयपछि पृथ्वीनारायण शाहले मकवानपुरमा हमला गरेका थिए । काठमाडौंका मल्ल राजाहरूलाई कमजोर पार्ने रणनीति अनुसार उनको रोजाइमा मकवानपुर परेको थियो । नेपाल एकीकरणमा मकवानपुरगढीको महत्व यसले देखाउँछ । ९ भदौ, १८१९ मा पृथ्वीनारायण शाहको फौज विजय भएपछि मकवानपुरका राजा दिगबन्धन सेन मन्त्री कनकसिंह बानियाँ सहित भागेर बंगाल पुगेका थिए, नवाव मिरकासिमसँग सहयोग माग्न ।
दिगबन्धन सेनले मिरकासिमको सहयोगमा दुईहजार लडाका र एक हजार बन्दो बस्तीसहित ३००० फौज लिएर गोर्खाको नियन्त्रणमा रहेको मकवानपुर गढीमा १० माघ १८१९ मा आक्रमण गरे । गढीमा उक्लिने क्रममा सिकरकटेरीमा राति १० घण्टासम्म भएको लडाइँमा नवावको फौज पराजित भयो । त्यो लडाइँमा सानो संख्यामा रहेको गोर्खाली फौजको नेतृत्व रामकृष्ण कुँवरले गरेका थिए । गोर्खाली फौजलाई स्थानीयले घरेलु हतियार सहित सघाएका थिए । इतिहासकारहरूका अनुसार उक्त लडाइँमा मिरकासिमका तर्फबाट लड्न आएका १७०० सैनिक मारिए भने बाँकी भागेर गए । नवावको पराजित फौजबाट थुप्रै गोलीगठ्ठा र ११ थान तोप गोर्खाली सेनाको हात पर्यो ।
दिगबन्धन सेनले तीन कारणले मकवानपुरगढीमा पुनः प्रत्याक्रमण गरेका थिए । पहिलो त उनी आफ्नो गुमेको राज्य फिर्ता लिन चाहन्थे । दोस्रो, मकवानपुरगढीमा अंग्रेजको पनि चासो जोडिएको थियो । भारतस्थित अंग्रेजहरूले गोर्खाली सैन्य अभियानलाई रोक्न चाहिरहेको बखत पृथ्वीनारायण शाहको मकवानपुर विजयले उपत्यकाका मल्ल राजाहरूसँगको अंग्रेजको सम्बन्ध टुटाइदिएको थियो । तेस्रो, उपत्यकाका मल्ल राजाहरू पनि मकवानपुरबाट गोर्खालीहरू धपाइएको हेर्न चाहन्थे । त्यसरी मकवानपुर प्रत्याक्रमणका लागि दिगबन्धन सेनलाई अंग्रेज र मल्ल राजाहरूको पनि सहयोग थियो ।
यो युद्ध मकवानपुरगढीका सेना नायक सरदार नन्दु शाह थिए । उनीसँग ४०० जति सेना थोरै बन्दुक अरू परम्परागत हतियार, खुकुरी, तरवार, घुएत्रो लगायत रहेका थिए । त्यसैले उनीहरू हान र भागको रणनीतिका साथ उत्रेका थिए जस्ले शत्रुलाई अचम्मित पारी रहेको थियो । नेपाली सेनाले राति आक्रमण गर्नका लागि आक्रमण बेस तप्लाखर भन्ज्याङमा राखेको थियो ।
प्रर्यटकीय सम्भावना
यस्तो ऐतिहासिक गढीको संरक्षणले नयाँ पुस्तालाई विगत जान्ने अवसर दिनुको साथै पर्यटनमा पनि महत्वपूर्ण टेवा पुग्छ । चीन, भारत लगायतका मुलुकले यस्ता ऐतिहासिक स्थलहरूको संरक्षण गरेर पर्यटनमा राम्रो सफलता हासिल गरेका उदाहरण काफी छ ।
कसरी पुग्ने ?
हेटौँडाबाट करीव १७ किलोमिटर पूर्वमा महाभारत डाँडाको टुप्पामा मकवानपुरगढी रहेको छ । मोटर बाटो हुँदै त्यहा पुग्न सकिन्छ । काठमाडौंको बल्खुबाट कुलेखानी हुँदै हेटौंडासम्म ८० किमि ४ घन्टामा जीपमा मकवानपुरगढी पुग्न सकिन्छ ।
तस्वीर : मकवानपुर उद्योग वाणिज्य संघ
यो पनि पढ्नुहोस्
धादिङको सुन्दर पर्यटकीय गन्तव्य रानी झरना क्यानोनिङ
धादिङको सुन्दर पर्यटकीय गन्तव्य रुवी भ्याली