८ बैशाख २०८१, शनिबार

रसुवाको ऐतिहासिक पर्यटकीय गन्तव्य रसुवागढी


रसुवागढी

पृष्ठभूमि : रसुवागढीको नामबाट रसुवा जिल्लाको नामाकरण गरिएको हो ।

परिचय

रसुवागढी नेपाल-चीन सीमानामा रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वार्ड न. २ मा अवस्थित डेढ शताव्दी पुरानो ऐतिहासिक गढी हो । रसुवागढी चीनसँगको प्रमुख आर्थिक नाका मात्रै नभई नेपालको गौरवमय इतिहास बोकेको स्थान पनि हो । उत्तरबाट लिङ्दे र पश्चिमबाट केराङ खोला मिलेर भोटेकोशी नदी सुरू हुने दोभानमा रसुवागढी निर्माण भएको छ । रसुवागढी हाल लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ ।

ठूलाठूला ढुंगा कुँदेर बनाइएको अग्लो पर्खालमा शत्रुलाई निसाना लगाउन स-साना ४७ वटा प्वाल र ६० फिट लम्बाई ६ फिट उचाई र ६ फिट चौडाईको गढीमा बसेर नेपाली फौज आफू सुरक्षित रहदै चिनिया फौजसँग चार पटकसम्म लडाई लडेका थिए । रसुवागढी दुई भागमा छुट्टिएको जस्तो देखिन्छ । गढीको पूर्व र अलिकति उत्तरपट्टिको भाग अग्लो ठाउँमा छ भने पश्चिमतर्फको भाग अलि होचो ठाउँमा। पश्चिमपट्टिको गढीको अग्लो भागमा सेनाका जवानहरू रहने र पूर्वपट्टिको गढीको अग्लो भागबाट कमाण्डरले निरीक्षण गर्ने भनाइ छ । झ्ट्ट हेर्दा गढीको पूर्ण संरचनाको चित्र ठम्याउन सकिंदैन ।

इतिहास

बहादुर शाहको समयमा भएको नेपाल–भोट युद्धमा भोटको सहायताको लागि यही बाटो हुँदै आएका चिनिया फौजले नेपालीहरूलाई हराउँदै बेत्रावतीसम्म पुगेका थिए । पछि जंगबहादुरको पालामा भएको नेपाल-भोट युद्धमा तिब्बतीहरूलाई हराएपछि नेपाली फौज गढीको बाटो हुँदै केरूङ र दिगर्वसम्म पुगेका थिए। बिसं १९१२ सालमा यस गढीको निर्माण भएको थियो ।

यो नेपाली इतिहासको साक्षी पनि मानिन्छ । बहादुर शाह र जंगबहादुर राणाको पालामा तिब्बतसँग भएको लडाईमा यही गढीबाट नेपाली पुर्खाहरूले लडेर तिब्बतसँग युध्द जितेका थिए । प्राचीनकालमा नेपाल र भोटवीच चल्ने व्यापारको प्रमुख नाका थियो । लिच्छवीकालमा अंशुबर्माको शासनकालका बेला उनकी छोरी भृकुटी यही नाका हुँदै घरमाइती गर्ने गरेकी थिइन् ।

मल्लकालमा पनि रसुवागढी नाकावाट तिव्बतसँग ब्यापार हुने गरेकाले यो मुख्य परम्परागत ऐतिहासिक ब्यापारिक नाका हो। मध्यकालको उत्तरार्ध्दसम्म पनि यो ठाउँ प्रमुख ब्यापारिक मार्ग र केन्द्रको रूपमा परिचित रहेको देखिन्छ। बहादुर शाहको नायबीकालमा भएको नेपाल(भोट युध्दमा भोटको सहायताको लागि यहि बाटो हुदै आएका चिनियाँ सेना नेपाललाई हराउँदै बेत्रावतीसम्म पुगेको इतिहासमा उल्लेख छ।चीनसँगको लडाईका बेला नेपाली लडाकूले आफ्नो सुरक्षाका लागि बनाएका हुन यो गढी ।

प्राकृतिक सौन्दर्य

यस गढीबाट लिन्दे र केरूङ नदीको संगम भएर भोटेकोशी नदी बनेको सँगमस्थल नजीकै देख्न सकिन्छ ।

पर्यटन प्रर्वद्धन

रसुवागढीमा नयाँ स्तम्भ निर्माण गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालीजंग गणले निर्माण गरेको स्तम्भमा नेपालको राष्ट्रिय झन्डा प्रतिस्थापन गरिएको छ । सेनाले निर्माण गरेको स्तम्भको अगाडिको भागमा प्रतिस्थापन शिलालेख तथा बायाँतिर अंग्रेजीमा र दायातर्फ नेपालीमा रसुवागढीको संक्षिप्त इतिहास राखिएको छ । यसले रसुवागढीको इतिहास देखाउनुका साथै पर्यटन प्रर्वद्धन मा समेत सहयोग पुग्ने देखिन्छ ।

पर्यटकीय सम्भावना

नेपाली इतिहासको गौरवपूर्ण घटना र पुर्खाले सीमा रक्षाको लागि कति ध्यान दिएका रहेछन् भनेर स्मरण गराउने यो गढी ऐतिहासिक र पुरातात्विक कारणले मात्र नभएर पर्यटकीय दृष्टिकोणबाट समेत महत्वपूर्ण छ । यो गढीको राम्रो संरक्षण गरेर यसको ऐतिहासिक महत्व, गढी र नाकासँग सम्बन्धित विगतका महत्वपूर्ण घटना र यसले विगतमा पारेको र भविष्यमा पार्ने प्रभावहरू उल्लेख गरेर राख्ने हो भने यो गढी हेर्नकै लागि उल्लेख्य संख्यामा स्वदेशी(विदेशी पर्यटक आउन सक्छन् ।

समस्याहरु

इतिहासको एउटा महत्वपूर्ण घटनाको प्रतीकका रूपमा रहेको र सामरिक महत्वको स्थानमा पुर्खाले बनाइदिएको यो गढीप्रति नेपाल सरकारले देखाएको बेवास्ताले नेपालीको चित्त दुखाउँछ । रसुवागढी जस्तो महत्वपूर्ण स्मारकको संरक्षणमा न पुरातत्व विभागले केही गरेको छ, न त सरकारले नै । देशलाई अलिकति पनि माया गर्ने सरकारले आफ्नो सीमाको ऐतिहासिक सम्पदाको लागि आवश्यक खर्च गर्न कन्जुस्याईं गर्नुहुँदैन ।

तस्वीर : विकिपिडिया

यो पनि पढ्नुहोस्  

नुवाकोटको धार्मिक पर्यटकीय स्थल दुप्चेश्वर महादेव

काठमाडौं जिल्लाको ऐतिहासिक पर्यटकीय गन्तव्य दहचोक

भक्तपुरको धार्मिक पर्यटकीय गन्तव्य नीलबाराही मन्दिर

ललितपुरको पर्यटकीय क्षेत्र गोदावरी र फूलचोकी हाइकिंग

ललितपुर जिल्लाको सुन्दर पर्यटकीय गन्तब्य नागदह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !