ताप्लेजुङ । बैशाख १० गते बिहीवार मेरो जन्मदिन हो । यी वर्षहरू बित्दै जाँदा, यो दिन व्यक्तिगत खुसीभन्दा बढी एउटा आत्मा प्रश्नको दिन बन्न थालेको छ—म कहाँबाट उठेँ, र कहाँ पुग्न खोज्दैछु ?
म जन्मिएको ठाउँ—ताप्लेजुङको सिनाम, पञ्चमी बजार । त्यो भूगोल केवल नक्सामा देखिने बिन्दु होइन; त्यो मेरो चेतनाको जरा हो । त्यहीँ मैले अभाव देखेँ, त्यहीँ सेरोफेरोमा सम्भावना पनि देखिरहेको छु ।
मेरो परिवारको इतिहास पनि मेरा यात्राकै अभिन्न कथा हुन् । भक्तपुरको “मास्के” वंशबाट पूर्वतिर सरेर, समयसँगै “श्रेष्ठ” बनेको हाम्रो पहिचानले मलाई सानैदेखि एउटा कुरा सिकायो—नाम बदलिन सक्छ, तर जरा बदलिँदैन । त्यो जरा माटोसँग गाँसिएको हुन्छ र यसले नै मानिसलाई चिनाउँछ ।
मेरो बाल्यकाल अनुपातिक सहज थियो तथापि विद्यालय नजिकै थिएन । खुलाबारीमा काठको पटाईमा धुलो छर्किएर बाँसको छेस्कोले अक्षर कोर्दै पढ्न सुरु गरेको सम्झना अझै मेरा मनस्पटलमा ताजै छन् । मेरो पहिलो गुरु पूर्णबहादुर बुढाथोकी जो शारीरिक अशक्त हुनुहुन्थ्यो । खुला आकाशमुनी : पानी परे छेउको घरमा ओत लाग्ने, घाम लागे बारीमै बसेर पढ्ने । त्यो पढाइ औपचारिक थिएन, तर त्यहीँबाट मैले जीवनको पहिलो पाठ सिकेँ—परिस्थितिले रोकेको ठाउँमा पनि अघि बढ्ने बाटो खोज्नुपर्छ ।
त्यहीँबाट सुरु भएको यात्रा हरन्दी प्रा।वि, सिनाम मा.वि., भानु मा.वि. हुँदै काठमाडौँ पुग्यो । अनि अझ टाढा—सोभियत संघको आर्मेनिया । पहाडको धुलोमा अक्षर कोर्ने एउटा बालक अन्तर्राष्ट्रिय इन्जिनियरिङ कक्षासम्म पुग्नु कुनै चमत्कार थिएन; त्यो निरन्तर प्रयासको परिणाम मात्र थियो ।
५ बर्षको इन्जिनियरिङ अध्ययन सकेपछि मैले सजिलो बाटो रोजिनँ, यद्यपि विदेशमै बस्ने अवसर हुँदाहुँदै म फर्किएँ—नेपाल । नेपाल विद्युत प्राधिकरणको भारप्रेषण केन्द्रबाट करिअर सुरु गर्दा एउटा कुरा प्रमाणित हुँदै गयो—ऊर्जा केवल बिजुली होइन; त्यो विकासको आधार हो ।
पाँच वर्षपछि मैले सरकारी जागिर छोडेर जोखिम रोजेँ । मेलम्चीको जलविद्युत आयोजनामा १० बर्ष, त्यसपछि हुग्दी खोला, चरनावती, बराम्चे, हाडी खोला हुँदै कावेली ‘ए’सम्मको यात्रा—यी सबैले मलाई एउटै कुरा सिकायो : योजना कागजमा होइन, आफ्नो धर्तीमा लेखिनुपर्छ ।
म फेरि आफ्नै जिल्ला फर्किएँ किनकि मलाई लाग्यो—विकासको सबैभन्दा ठूलो परीक्षा केन्द्रमा होइन, परिधिमा हुन्छ । साना–ठूला जलविद्युत आयोजनाहरूमा काम गर्दै मैले बुझेँ—एक मेगावाटकै विद्युत आयोजनाले केवल बत्ती बाल्दैन; त्यो गाउँको अर्थतन्त्र चलाउँछ, बाटो खोल्छ र मानिसमा आशा र चेतना जगाउँछ ।
जीवनको अर्को पाटो संगीत हो । देउसी–भैलोमा गीत गाउने बाल्यकालको उत्कण्ठाले पछि “घर हाम्रो लेकैमा, जाले रुमाल, आउन माया, ताप्लेजुङको शिरैमा” जस्ता दर्जनौ गीतहरूले एक सिनियर इन्जिनियरलाई कलाकारको रुपमा उभ्यायो । म इन्जिनियर हुँ, तर मभित्रको कलाकार कहिल्यै मरेन । सायद यही सन्तुलनले मलाई अझ मानवीय अनि सरल बनायो ।
राजनीतिमा मेरो यात्रा पनि कुनै आकस्मिक निर्णय होइन । उ बेलाको विद्यार्थी आन्दोलनदेखि सुरु भएको मेरा राजनीतिक यात्रा, विभिन्न चरण (नेपाली काँग्रेसको मनोनित जिल्ला कमिटी सदस्य हुँदै महाधिवेशन प्रतिनिधि) पार गर्दै आज वैकल्पिक राजनीतिमा उभिएको छु । मेरो लागि राजनीति पदको विषय होइन; त्यो जिम्मेवारीको विषय हो । मलाई यो देशमा एक निमुखाले पाउने न्याय, निमुखाका छोराछोरीले पाउने उपचार र शिक्षामा बिभेदरहित होस भन्ने आकांंक्षा राखेको छु ।
आज म आफैंलाई र देशलाई एउटै प्रश्न सोध्छु—
हामी शहर बनाउँदैछौं कि देश ?
गाउँहरू खाली हुँदैछन् । किन ?
किनकि गाउँमा गुणस्तरीय शिक्षा छैन ।
स्वास्थ्य सेवा कमजोर छ ।
रोजगारीको सुनिश्चितता छैन ।
यही तीन कारणले मानिस शहरतिर धकेलिएका छन् । तर शहरले पनि त्यो बोझ धान्न सकिरहेको छैन ।
त्यसैले अबको बहस नारा होइन, ग्यारेन्टी हुनुपर्छ ।
पहिलो— जीवनसँग जोडिएको गुणस्तरीय शिक्षा गाउँमै ।
दोस्रो—गुणस्तरीय स्वास्थ्य सेवा ।
रोग लागेपछि शहर धाउनुपर्ने बाध्यता अन्त्य ।
तेस्रो—रोजगारीको ग्यारेन्टी ।
जलविद्युत, पर्यटन, कृषि र आइटी—यी चार क्षेत्रलाई गाउँसँग जोडेर अवसर सिर्जना गर्नुपर्छ ।
मेरो विश्वास स्पष्ट छ—
गाउँमा बस्न मिल्ने वातावरण बनायौं भने मात्र देश बन्छ ।
आज धेरैले परिवर्तनको कुरा गर्छन् । तर परिवर्तन भाषणले हुँदैन । अनि सबैभन्दा अत्यधिक परिवर्तन, विकास र सुशासन हाम्रो जस्तै कठिन भुगोल भएको स्थान (जिल्ला)मा चाहिन्छ । त्यसका लागि पसिना चाहिन्छ, निरन्तरता चाहिन्छ, र भुगोलसँगको सम्बन्ध चाहिन्छ । यसको लागि आफू सबैभन्दा पहिला परिवर्तनको कित्तामा उभिन सक्नु पर्दछ ।
गएको फागुन २१ को निर्वाचनमा मलाई रास्वपाले विस्वास गरेर टिकट दिएको थियो । म र ताप्लेजुङको टिमले पनि सक्दो प्रयत्न गरेका थियौ तर सफल हुन सकिएन । समस्त प्रत्यक्ष अनि परोक्ष सहयोगी तथा मतदाताहरुलाई साधुवाद – हामिले परिवर्तनको अकाट्य बीउ ताप्लेजुङमा रोपेका छौं – अर्को पटक अवस्य लटरम्म फल्नेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटको ऐतिहासिक जीत हासिल गरेसगै सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारले आशातित उत्कृष्ट काम गर्नेमा दुईमत छैन तर गाउँ घरका नागरिकको हरेक दैनिकी नै स्थानीय सरकारसग जोडिएको हुनाले अब स्थानीय निकायको प्रतिस्पर्धामा बढी केन्द्रित हुन जरुरी छ, यो निर्वाचनमा सबै लागेर रास्वपालाई हरेक वडा बडाहरुमा स्थापित गराउनु छ ।
मेरो जीवनको सार यही हो—
खुला बारीमा सुरु भएको यात्रा अझै जारी छ। गन्तव्य टाढा छ, तर दिशा स्पष्ट छ ।
जसले गन्तव्य छोड्दैन, उसैले समाजको भविष्य बनाउँछ ।
जय मुकुम्लुङ ! जय ताप्लेजुङ !! जय देश !!!
(लेखक ई. वीरेन्द्र श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङका सभापति हुनुका साथै तीन दशकदेखि व्यावसायिक तवरले जलविद्युत क्षेत्रमा काम गरिरहेका वरिष्ठ इन्जिनियर तथा जलविद्युत आयोजनाका प्रवर्धक हुन् भने जलस्रोतको अधिकतम सदुपयोग गर्दै यसैबाट मुलुकको समृद्धिको ढोका खोल्न सकिन्छ भन्ने अभियन्ता समेत हुन्।)












