पृष्ठभूमि : सिम्रौनगढमा ११ औंदेखि १४ औं शताब्दीसम्मका सिम्रौन (कर्नाटवंशी राज्य) र १८०० वर्ष पुरानो गुप्ताकालीन पुरातात्विक कलाकृति तथा पुरावशेषहरू भेटिएका छन् । सन् १३२४ मा ग्यासुद्दिन तुग्लकबाट पराजित भएपछि पहाडतिर लागेका सिम्रौनगढका अन्तिम राजा हरिसिंह देव सिन्धुलीको तिनपाटन भन्ने स्थानमा दिवंगत भएका थिए । रानी देवलदेवी र छोरा जगतसिंह देवसहित उनका भारदारहरुको टोली भक्तपुरको मल्ल राजवंशमा समाहित भएको थियो ।
परिचय
नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको हो । यस अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वद्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा बारा जिल्लाको सिम्रौनगढलाई पनि छनोट गरेको छ ।
ऐतिहासिक र पुरातात्विक महत्व बोकेको सिम्रौनगढकै नामले प्रदेश न २ अन्तर्गत बारा जिल्लाको दक्षिणपूर्वी भागमा सिम्रौनगढ नगरपालिका बनाइएको छ । सिम्रौनगढ, वीरगञ्जबाट २८ कि.मी. पूर्वमा र काठमाण्डौबाट दक्षिण ९० कि.मी.को सिधा दूरीमा अवस्थित छ । किलाबन्दी रहेको सिम्रौनगढको परिधिलाई ‘बाही’ भनिने गरिन्छ । यसको आकार आयताकार रहेको र उत्तर–दक्षिणमा ६ किमी र पूर्व(पश्चिममा औसत ४.५ किमी रहेको छ । तिरहुतक्षेत्रभरी कर्णाटकालका मूर्ति, पोखरा, इनार, दुर्ग, भित्ता, खण्डहर तथा अन्य पुरातात्विक अवशेषहरू व्याप्त छन् । सिम्रौनगढ कर्नाटवंशको राजधानी रहेको हुनाले यहाँ यी वस्तुहरू धेरै बढ़ी र उच्चकोटिका भेटिने गरेका छन् ।
सिम्रौनगढ पुरातात्विक स्थल हो । यो स्थल सिमरा वनगढ, सिम्मनगाडा, पाटा इत्यादिको नामले समेत परिचित छ । यहाँ ११ औं देखि १४ औं शताब्दीका ‘सिम्रौन राज्य’ अथवा ‘कर्नाटवंशी राज्य’ र १८०० वर्ष पुरानो गुप्ताकालका विभिन्न पुरातात्विक कलाकृतिहरू तथा पुरावशेषहरू भेटिएका छन् । ‘सिम्रौन’ राज्यलाई ग्यासुद्दिन तुग्लकले सन् १३२४ तिर पराजित गरेपछि, त्यहाँका अन्तिम राजा हरिसिंहदेव पहाडतिर गएर काठमाडौं उपत्यकाको मल्ल राजवंशमा समाहित भएका थिए । यसको शासनका क्रममा उपत्यकाले कला, शिल्प, साहित्य र वास्तुको क्षेत्रमा उच्चतम् विकास हासिल गरेको इतिहासविदहरु बताउँछन् ।
धार्मिक तथा सांस्कृतिक महत्व
बलि नचढाइने संसारकै एकमात्र हिन्दु धर्मावलम्बीको शक्तिपीठको नामले परिचित कंकाली मन्दिर यस क्षेत्रमा नै छ । १२ औं शताव्दीमा तत्कालीन राजा शिवसिंहद्वारा निर्माण गरिएको महत्त्वपूर्ण राष्ट्रिय सम्पदा रानीवास मन्दिरले पनि आफ्नो छुट्टै पहिचान बोकेको छ । राष्ट्रकै सबभन्दा ठूलो पोखरा ‘५२ बिघा झरौखर पोखरा’ले पनि यसलाई थप रौनकता प्रदान गरेको छ । यस नगरकै हरिहरपुरमा अवस्थित एक विशाल पत्थरको बाकसको आफ्नै रहस्यमय सन्दर्भ छ । सन् १७३९ मा इटालियन पादरी क्यासियोनो, अंग्रेज विद्वान ब्राइन हड्सनले समेत यस क्षेत्रको अनुसन्धान गर्दा तयार पारेको पुस्तकले पनि यसलाई रहस्यमयको निष्कर्ष दिएका थिए । यसरी अहिले पनि यहाँका खेतहरूमा उत्खनन गर्दा तिरहुत सभ्यता झल्किने सुनचाँदीका मूर्ति र अन्य अवशेषहरू पाइने गरेका छन् ।
इतिहास
नान्यदेवले कर्णाटवंशको स्थापना सन् १०९७ मा सिम्रौनगढमा गरे । उनी पश्चात् कम्तिमा ५ जना शासकहरू क्रमशः गंग देव, नरसिंह देव, रामसिंह देव, शक्तिसिंह देव र हरिसिंह देव कोशीदेखि गण्डकी र महाभारत शृंखलादेखि गंगासम्म आधिपत्य कायम गरे । गोपालराज वंशावली अनुसार चारपटक यहाँका राजाहरूले उपत्यकामा समेत आक्रमण गरेका थिए । हिमालयी राज्यदेखि दक्षिण भारतको सांस्कृतिक सम्पर्क शंकराचार्यद्वारा विधिवत स्थापना भएपश्चात कर्णाटकीहरूले समेत यस परम्परालाई कला, साहित्यको आदान–प्रदानले निरंतरता दिए । तैपनि तीरभुक्तिका कर्णाटवंशी महाराजाहरूको उद्भव बारे विद्वानहरूमा एकमत छैन ।
कर्णाटवंशीहरूलाई चालुक्यहरूको उत्तरी भारत वर्षमा सोमेश्वर (प्रथम) र विक्रमादित्य (छैठौं) को पालामा एघारौं शताब्दीको पश्चाद्र्र्धितर गरिएको आक्रमणसंग जोडेर हेर्ने गरिन्छ । नान्यदेव बंगालका रामपाल, मदनपाल, विजयसेन, वल्लालसेनस कन्नौजका गोविन्दाचार्य गहड़वाल र कलिंगका राघवका समकालिन हुन् । उनले युद्ध तथा शान्ति विकास दुबैमा आफ्नो कौशल स्थापित गराएका थिए ।
तीरहुतिया कर्णाटहरू र बंगालका सेनहरू संघर्षरत थिए भन्ने कुरा देवपारा अभिलेखबाट प्रमाणित हुन्छ । नान्यदेवले आफ्नो शासनलाई स्थायित्व दिन सफल भएका थिए र उनले नेपालसम्म आफ्नो राज्य स्थापित गरेका थिए । नान्यदेवले यस क्षेत्रमा आधिपत्य कायम गर्न सम्भवतः चालुक्य राजा विक्रमादित्य (छैठौं) को सहयोग लिएका थिए । जसले सन् १०६८ को केही समय पश्चातनै नेपालमाथि आक्रमण गरेका थिए ।
सिम्रौनगढ विदेह र तिरहूत क्षेत्रमा विद्वत कामको केन्द्र रहेको थियो । महाराजाहरूले विद्वानहरूको समूहलाई आफ्ना सल्लाहकारको रूपमा राख्दथे र प्रधानमंत्री समेत प्रसिद्ध विद्वानहरू मध्येलाई नै बनाइन्थ्यो । कर्नाटकालका केही महान विद्वानहरू यसप्रकार थिए– चण्डेश्वर ठाकुर, ज्योतिरिश्वर ठाकुर, वाचस्पति मिश्र, देवादित्य, कर्र्मािदत्य, रामदत्त, इत्यादि ।
पर्यटन प्रर्वद्धन
पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको बाराको सिम्रौनगढ क्षेत्र पूर्वाधार विकास र प्रचार–प्रसारको अभावमा ओझलमा परेको छ । सम्वन्धित सरकारी निकायले यस क्षेत्रको विकासमा पूर्वाधार निर्माण र प्रचार–प्रसारमा चासो नदेखाएपछि पर्यटकहरूको आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना बोकेको यो क्षेत्र ओझलमा परेको हो ।
पर्यटकिय सम्भावना
यस क्षेत्रमा रहेका पोखरी र मन्दिरहरू पर्यटकका लागि आकर्षणका केन्द्र बन्न सक्ने सम्भावना रहेको छ । सिम्रौनगढ क्षेत्रमा इसरा र झरोखर जस्ता ठूला पोखरी, रानीबास र कङकाली जस्ता पुराना मन्दिरहरू छन । पोखरीमा डुङगा विहार गराएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ । पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको विकास हुन नसक्दा पर्यटक आउन सकेका छैनन् । झरोखर ५२ बिघा र इसरा पोखरीको जलाशय करिब २२ बिघा क्षेत्रमा फैलिएको छ ।
कसरी पुग्ने
बारा जिल्लाको पूर्वी-दक्षिणी क्षेत्रमा सिम्रौनगढ नगरपालिका अवस्थित छ र यहा सजिलै सवारी साधन मार्फत पुग्न सकिन्छ ।
यो पनि पढ्नुहोस्
रौतहटको ऐतिहासिक पर्यटकीय स्थल नुनथर
धनुषाको ऐतिहासिक धार्मिक स्थल मणि मण्डप
सर्लाहीको मनोरम पर्यटकीय गन्तब्य नाढीमन ताल
महोत्तरीको प्रसिद्ध धार्मिक तीर्थस्थल जलेश्वर महादेव