१४ बैशाख २०८१, शुक्रबार

मनोकामना पूरा गर्ने सप्तरीको धार्मिक शक्तिपीठ छिन्नमस्ता


छिन्नमस्ता

पृष्ठभूमि : छिन्नमस्ता भगवतीको मन्दिर भगवती धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित स्थान हो । छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुॅदा नेपाल र भारतका आम जनमानसको ठुलो आस्था रहेको छ । प्रमुख ५१ शक्तिपीठमध्ये छिन्नमस्ता पनि एक हो । छिन्नमस्ता भगतवतीको मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । भगवतीलाई छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी र सखडा माता भनेर पूजा–अर्चना तथा भाकल गरिन्छ । सखडेश्वरीको मस्तक अर्थात शीर नभएका कारण भक्तजनले सो भगवतीलाई छिन्नमस्ता तथा छिन्नमस्तिका भगवती भनेर सम्बोधन गर्ने गरेका हुन् ।

परिचय

छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र छिन्नमस्ता गाउँपालिकामा पर्छ । यो मन्दिर सप्तरी सदरमुकाम राजविराजबाट १० किमी को दुरीमा रहेको छ । मन्दिरभित्र मूल देवीको रूपमा भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ । उक्त मूर्तिको पाउतिर राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुङ्गामा कुँदिएको छ। मूल मूर्तिको देब्रेपट्टि दक्षिणकाली, महषमर्दिनी र दाहिनेतिर चामुण्डा भैरवी र त्यस्तै कालो रङको अर्को प्रस्तर मूर्ति स्थापित छ । ती मूर्तिहरूलाई पञ्चभगिनी पनि भनिन्छ ।

पूजा समितिले वर्षका चारवटै नवरात्रमा ५६ प्रकारका परिकार बनाई मध्यरातमा पूजा गर्ने गर्दै आएको छ । पूजा गर्दा केही विघ्नबाधा उत्पन्न हुन थालेपछि भगवतीको सिंहासनमा एउटा जन्तर राखी महाअष्टमीको राति तान्त्रिक विधिद्वारा पूजा गर्ने गरिएको छ । यहाँ बलि प्रदान गर्दा निस्केको रगतमा झिङ्गा नबस्नु, रगत लुगामा लागे पनि दाग नलाग्नु, रगत पोखरीको पानीमा मिसिदा रातो नहुनु, बलि प्रदान गर्ने नाममा राखेका खसी बाख्रालाई केही नहुनु, बलिका लागि किनेका पशुलाई कुकुर र स्याल टोकेको छ भने मन्दिर नपुग्दै मर्नु आदि आश्चर्यजनक काम हुँदै आएको भनाई रहेको छ ।

इतिहास

करिब सवासय वर्षअघि सखडाको भगवती मन्दिर एउटा गुफाको रूपमा थियो । त्यहाँ स्थानीय बासिन्दा च्याखुरी नानी र चुनीलाल ठाकुरले सफा गरी भीक्षाटनबाट सङ्कलित रकमबाट सानो मन्दिर निर्माण गरेका थिए तर सो मन्दिर वि.सं. १९९० सालको भूकम्पमा भत्किएकोले त्यस बेलाका पूजारी अनिरुद्ध ठाकुरले समाजको सहयोगमा टिनको छाना भएको मन्दिर बनाएका थिए सो पनि जीर्ण हुँदै गएकाले वि.सं. २०२८ सालमा तत्कालीन भारतीय रेल मन्त्री ललित नारायण मिश्रले पक्की मन्दिरको साथै तीन कोठे धर्मशाला पनि बनाउन लगाएका थिए। वि.सं. २०४४ सालमा तत्कालीन राजा बीरेन्द्रले मन्दिर निर्माणको लागि रु. पाँच लाख चढाएर भगवतीको प्यागोडा शैलीको भव्य मन्दिरको निर्माण गराए जुन अद्यावधि छ ।

वि.स. १९८४ मा सप्तरी जिल्लाको तिलाठी निवासी ज्योतिषी यदुनन्दन मिश्रले अष्टधातुले बनेको एउटा घण्टा सखडा मन्दिरमा चढाएका थिए । उक्त घण्टामा शक्रेश्वरी एकपटक र महिषमर्दिनी दुईपटक लेखिएको छ । यसबाट स्पष्ट हुन्छ शक्रसिंहले आफ्नो इष्टदेवी भगवती स्थापना गरेका थिए । सखडा भगवतीको मूर्तिलाई सूक्ष्मरूपले हेर्दा तीनवटा टुक्रा मिलाएर स्थापित गरिएको देखिन्छ । सन् १३२८ मा गयासुद्धिन तुगलकले तिरहुतमाथि आक्रमण गरेका थिए । जसको फलस्वरूप सिम्रोनगढ ध्वस्त भयो। सिम्रौगढका मूर्तिहरू समेत अहिले पनि फुटेकै अवस्थामा छन् । यस प्रकार सखडा भगवतीको मूर्ति पनि त्यहीबेलाको आक्रमणमा फुटेको इतिहासविद् हरिकान्तलाल दास अनुमान गर्नुहुन्छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुँदा यहाँ नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरूको बोका, भेंडा, परेवा, हाँस र माछा आदि बलिदान सामग्रीसहित दिनहुँ घुइँचो लाग्ने गर्छ । यहाँ प्रत्येक दिन ५० वटाभन्दा बढी तथा बडादसैँमा हजारौँ बोका, भेंडा, परेवा, हाँस र माछाको बलि चढाइन्छ । मनोकामना पूरा भएकाहरूले पञ्चबलिसमेत गर्छन् । यहाँ वर्षेनी ३० हजार भन्दा बढि बलि प्रदान हुने गरेको विश्वास गरिन्छ । छिन्नमस्ता भगवती मुसलमानहरूको पनि आस्थाको केन्द्र बनेको छ । मुसलमान समुदायका हजारौँ व्यक्ति विभिन्न मनोकामना लिएर छिन्नमस्ता भगवती आउने गर्छन ।

छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुककदा नेपाल र भारतका आम जनमानसको ठुलो आस्था रहेको छ । यो मन्दिर भारतीय सीमा नजिक रहेको छ । यस मन्दिरमा हिन्दुहरूको महान् चाड दशैँमा ठुलो घुइँचो लाग्ने गरेको छ र यहाँ बोकाको बलि दिने गरिन्छ । प्रायजसो हिन्दूहरू साना ठूला सवारी किन्दा चोख्याउन यहाँ आउने गरेका छन् । सप्तरी, सिरहा, सुनसरी, धनुषा, मोरङ, उदयपुर लगायत नेपाल तथा भारतको बिहार राज्यबाट श्रद्धालु भक्तजनहरूको घुइचो लाग्ने गर्दछ । दसैँको समयमा यहाँ घटस्थापना देखि टिकासम्म मेला लाग्ने गर्दछ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

प्राचीन इतिहास र किम्वदन्तीका अनुसार, सन् १०९७ मा मुसलमानले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव भागेर पाटलीपुत्र हुँदै मिथिला आई पुगेर सिम्रौनगढ (बारा) मा राजधानी कायम गरे । यिनै नान्यदेव वंशको पाँचौँ पुस्तामा शक्रसिंह देव राजा भएका थिए । उनी नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वा्सित जीवन बिताउन सप्तरी आए । त्यसबेला जङ्गलले ढाकिएको यस स्थानमा जङ्गल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उनले आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नो नामबाट देवीको नाम शक्रेश्वरी राखे भन्ने भनाइ छ । देवीको शिर नभएकोले केही समयपछि छिन्नमस्ता भगवती भन्न थालिएको हो। सिम्रौनगढका राजा शक्रसिंह देवले आफ्नो कुल देवी शुक्रेश्वरीको स्थापना गरी मन्दिर बनाएका थिए। राजा शुक्र सिंहको अपभ्रंश भएर नै उक्त गाउँ सखडा हुन गएको हो । तीन दशक पूर्वसम्म सखडा भगवतीलाई सखडेश्वरी भगवती भनेर नै पूजा गरिन्थ्यो।

प्राकृतिक सौन्दर्य 

पीठमा चढाइने बोकाको रगत पोखरीमै मिसिए पनि जलाशयको स्वच्छतामा कुनै कमी आएको छैन । जलाशयको मध्यभागमा स्थापित स्तम्भमाथि कमलदलमा श्रीयंत्र अंकित गरिएको छ, जसले जलाशय र पीठको सौन्दर्य बढाएको छ । जलाशयको चारैतर्फ पक्की तथा व्यवस्थित घाट निर्माण गरी बगैंचा लगाइएको छ । मन्दिर क्षेत्रमा बनभोज स्थल, गाडी पार्किङ्ग पोखरीमा स्नान घाट निर्माण गरिएको छ ।

जैविक विविधता

भगवती मन्दिरको अग्रभागमा पाँच सय वर्ग्फिटको एउटा जलायश छ । जुन कहिल्यै कहिल्यै सुक्दैन । जलाशयमा सुनको बुलाकी लगाएको विशाल कायाको माछा देखिन्थ्यो भनि जनविश्वास रहेको छ । स्थानीय भक्तजनका अनुसार बयलगाडाका जमानामा व्यापारीहरुले सखडाको बाटो प्रयोग गर्दथे । उनीहरु जलाशयको डिलमा थकाई मार्थे र पोखरीको पवित्र जलले तिर्खा मेटाउँथे ।

पर्यटन प्रर्वद्धन

आन्तरिक तथा अन्तराष्ट्रिय पर्यटकलाई आकर्षण गर्नका लागि छिन्नमस्ता भगवती व्यवस्थान समितिले नेपालको पूर्वदेखि पश्चिमसम्म र काठमाडौसम्म रथ यात्रा गर्ने गरेको छ । यहाँ भारतीय पर्यटकको आकर्षण रहेको छ । केही बंगालादेशी पर्यटक पनि आउने गरेका छन् । तेस्रो मुलुकको पर्यटक भित्र्याउनका लागि त्यही अनुसारको प्रचार प्रसारको आवश्यकता रहेको देखिन्छ ।

आकर्षणहरू

शक्तिपीठ परिसरमा निर्माणाधीन दश महाविद्या मन्दिरमा काली, तारा, त्रिपुर सुन्दरी, भुवनेश्वरी, त्रिपुर भैरवी, छिन्नमस्ता, धुमावती, बगलामुखी, मातंगी र कमलाको मूर्ति स्थापना गरिने लक्ष्य रहेको छ ।

समस्याहरु

हालसम्म पर्यटकलाई बस्नका लागि यहाँ वासको व्यवस्था छैन । मन्दिर वरिपरी होटल अथवा लज नहुँदा यो समस्या देखिएको हो । यदि कुनै पर्यटक आएर बस्न चाह्यो भने १० किलोमिटर टाढा राजविराज सदरमुकाममा गएर बस्नुपर्ने अवस्था छ । यद्यपी स्थानीय स्तरबाट त्यसका लागि पहल भइरहेको छ । पर्यटकहरुका वासमा लागि सुविधा सम्पन्न लज बनाउनुको साथै खानपिनको सुविधा प्रदान गर्नका लागि संरचनाहरु बनाउने पहल भइरहेको बताइएको छ ।

कसरी पुग्ने ?

सप्तरी सदरमुकाम राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकामा छिन्नमस्ता  भगवतीको मन्दिर रहेको छ ।

यो पनि पढ्नुहोस् 

सोलुखुम्बुको लुकेको हिरा पिके डाँडा

गुराँसको राजधानी तीनजुरे-मिल्के-जलजले

सोलुखुम्बुको सुन्दर पर्यटकीय गन्तव्य पत्ताले

खोटाङको सुन्दर पर्यटकीय गन्तब्य बराह पोखरी

सोलुखुम्बुको सुन्दर पर्यटकीय गन्तब्य पाँच पोखरी

दक्षिण एसिया र नेपाल कै दोस्रो अग्लो झरना ह्यातुङ

उदयपुरको ऐतिहासिक पर्यटकीय गन्तब्य उदयपुरगढी

ओखलढुङ्गाको सुन्दर रमणीय पर्यटकीय गन्तब्य थोलेदम्बा डाँडा

देउताहरूले सभा गर्ने संखुवासभाको धार्मिक तथा पर्यटकीय स्थल सभापोखरी

१ दर्जन भन्दा बढी हिमालहरू देखिने भोजपुरको सुन्दर पर्यटकीय गन्तव्य ट्याम्के डाँडा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु