पृष्ठभूमि : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा ओखलढुङ्गा जिल्लाको थोलेदम्बा डाँडालाई छनोट गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने गरी २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यको जिम्मा थोलेदम्बा डाँडोलाई पनि दिइएको छ ।
परिचय
थालेदेम्बा डाँडा ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकामा अवस्थित ओखलढुङ्गाको सबैभन्दा अग्लो रमणीय डाँडा हो । समुन्द्र सतहदेखि ३१५० मिटर उचाईमा रहेको त्रिभुजाकार थोलेदेम्बा नेपालका उस्ता–उस्तै उचाईका ७ प्रख्यात डाँडाहरु मध्येको एक हो । पूर्व क्षेत्रमा धनकुटामा १, ओखलढुंगामा १, रामेछाप र दोलखा साँधमा रहेको सैलुङ डाँडा १ गरी ३, मध्य क्षेत्रमा (ललितपुरको फुलचोकी) १, र पश्चिम क्षेत्रमा ३ गरी जम्मा ७ प्रख्यात डाँडाहरुबाट छिमेकी मुलुक भारत र चीनको सिमानाको नक्सा लिन समेत प्रयोग भएको मानिन्छ । किल्खोरदिङ गुम्बाका धर्मगुरु लामाहरुका अनुसार थोलेदेम्बा डाँडालाई पनि उक्त काममा प्रयोग गरिएको थियो । नेपालमा पाईने अधिकांश गुराँस त्यहाँ पाइन्छ ।
धार्मिक तथा सांस्कृतिक महत्व
हरेक वर्ष श्रावण पूर्णिमाका दिन शेर्पाहरुले थोलेदेम्बामा याज्र्याङ अर्थात् कुल देवताको पूजा गर्दछन् । त्यसैगरी कुलपितृहरुको आत्म तथा विश्व शान्तिको कामना गर्दै तामाङहरुले उभौलीमा सङ्रीत्बोन र उधौली दाल्बोन पूजा गर्ने चलन छ । अन्य जातजातिहरुले भने थोलेदेम्बालाई विभिन्न देवीदेवताहरुको पवित्र बासस्थान मानेर विश्व शान्तिको कामना गर्दै चैत–बैशाखमा सन्सारी, देवी र वातावरणको पूजा गर्ने चलन रहेको छ । धार्मिक हिसाबले भदौ पूर्णिमाबेला यारजाङ मेला लाग्ने गर्छ ।
आदिवासी कोइँच सुनुवारको पुख्र्यौली थलो थोलेदेम्बाको आधार भू–भाग पोकाली, रगनी, खिजी, काती, रावादोलु, भुसिङ्गा, पात्ले, खिजी फलाटेमा शेर्पा, तामाङ, क्षेत्री बाहुन, गुरुङ, नेवार, मगर, भूजेल, विक, परियार र मिझार लगायतका जातजातीहरुको बसोबास छ । विभिन्न जातजातिहरुको बसोवास रहेको थोलदेम्बाको आधार भूमि भाषिक, साँस्कृतिक र सामाजिक विविधताले भरिपूर्ण रहेको छ ।
भाषिक रुपमा हेर्दा कोइँच सुनुवार भाषाको जन्मथलो थोलेदेम्बाको आधार भूमि नै हो । पहिलो भाषा अर्थात सम्पर्क भाषा खस नेपाली बोलिए पनि कोइँच सुनुवार, शेर्पा, तामाङ भाषा पनि सँग सँगै बोल्ने गरिन्छ । डाँडा नजिकै जिल्लाकै ठूलो किल खोरदिङ गुम्बा छ । गुम्बा भने भूकम्पले क्षतीग्रस्त छ । त्यस अलवा स्थानीय संस्कृती, भाषा तथा खानपान पनि हो । त्यहाँ शेर्पा, तामाङ, नेवार, सुनुवार लगायतका जातीको बाक्लो बसोवास छ । त्यसैगरी डाडाबाट प्यारग्लाइडिङ गर्न सकिने सम्भावना रहेको छ ।
ऐतिहासिक तथा पौराणिक मान्यताहरु
ओखलढुङ्गाका साविकका ६ वटा गाविस पात्ले, खिजीफलाटे, खिजीचण्डेश्वरी, खिजीकाती, रावादोलु र भुसिङ्गाको बीचमा उभिएको थोलेदेम्बा, आदिवासी जनजाति कोइँच सुनुवारको चाइँ शिकारी अर्थात् पुख्र्यौली भूभागको सुरक्षा किल्लाका साथै पित्रीहरुको पवित्र बासस्थान मानिन्छ । सुनुवार भाषामा देल्शा देम्शा बामाबा थेम देम्बा अर्थात् पितृहरु जमघट भएर बस्ने थलो, पवित्र स्थान भएको हुँदा थोलेदेम्बा नाम रहन गएको कोइँच सासि मुक्दुममा उल्लेख छ । यसर्थ थोेलेदेम्बालाई कोइँच सुनुवारको कुलपुरोहित पोइँबोग्याँमि, नाओसोले लहरे चाइँ, मेहेले चाइँ, देम्बा चाइँ, थोले चाइँ पुकार गर्दै चाइँसिकारी पुजा गर्दछन् ।
थोलेदेम्बा भुसिंगा, रावादोलु, खिजीकाती, खिजीचण्डेश्वरी र खिजीफलाटेका सबै बासिन्दाहरुको वर्षे गोठखर्क मानिन्छ । ४०(५० को दशकसम्म पनि थोलेदेम्बा, छेर्माले, जोरपानीमा बेँसीबाट लेक खर्क गोठ लैजाने चलन थियो र थोलेदेम्बा वरिपरीका चौरी पाल्ने शेर्पाहरुले भने वर्षा याममा चौरी खर्क राख्ने चलन अझै छँदैछ ।
प्राकृतिक सौन्दर्य
दर्जनौं हिमश्रङखला सहितका मनोरम रमणीय दृष्यको प्रत्यक्ष अवलोकन गर्न सकिने देम्बा डाँडाको प्रचार प्रसार र पुर्वाधार निर्माण हुन्न जरुरी छ । थोलेदेम्बाबाट रोल्वालिङ हिमश्रृङ्खलाको गौरीशंकर, नुम्बुर, महालङ्गुर हिमश्रृङ्लाको आमडब्लम, लोत्से, नुप्चे, सगरमाथा (चोमालुङ्मा) कञ्चनजङ्गा लगायत अन्य विभिन्न हिमालहरुलाई नजिकैबाट दृश्यावलोकन गर्न सकिन्छ । थोलेदेम्बाबाट आकर्षक दृष्यहरु प्रष्ट देख्न सकिन्छ ।
देम्बाबाट दर्जनौं हिमसृङखला सहितका मनोरम रमणीय दृष्यको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । जिल्लाका खिजिफलाटे, चण्डेश्वरी, भूसिंग, रागदोलु, खिजिकती र पात्लेलाई देम्बा डाडाँले छोएको छ । डाडाँबाट हिमालको दृश्यवलोकन गर्न सकिन्छ । त्यहाँबाट काठमाडौं समेत देखिन्छ । त्यसैगरी रामेछाप, भोजपुर, खोटाङ, सिन्धुली, काभ्रे, दोलखाका विभिन्न भागहरु नियाल्न सकिन्छ ।
जैविक विविधता
थोलेदेम्बा क्षेत्रमा विभिन्न प्रजातिका जाडीबुटीहरु पाइन्छ । छोटा छोटा घाँसले ढाकिएको थोलेदेम्बाको वरिपरि कोणधारी रुखहरु लेसेङ, ठिङ्ग्रे, धुपी लगायत २० भन्दा बढी विभिन्न किसिमका लालीगुराँस र गुलावी तथा सेतो रङ्गको चिमाल प्रशस्त मात्रमा पाइन्छ । थोलेदेम्बा बाघ, भालु, चितुवा, बोँसो, थार, मृग, डाँफे, मुनाल, कालीज जस्ता वन्यजन्तु तथा पशुपन्क्षीहरुको बासस्थान छ ।
पर्यटन प्रर्वद्धन
थोलेदेम्बालाई नयाँ पर्यटकीय गन्तव्य स्थलको रूपमा परिचित गराउनका लागि थोलेदेम्बा पदयात्राको विषयमा व्यापक प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माणमा जोड दिनु नै पहिलो आवश्यकता हो । त्यसमा राजनीतिक प्रतिवद्धता र स्थानीय नागरिकको जनचासो हुनु पनि जरुरी छ ।
पर्यटकिय सम्भावना
थोलेदेम्बा, तल्लो सोलुखुम्बुु ट्रेकिङ ट्रेल अन्तर्गत पर्ने पोकली(थोलेदेम्ब–पिके ट्रेकिङ ट्रायल पैदल यात्रीहरूको लागि सहज र सुरक्षित गन्तव्य स्थल बन्ने सम्भावना छ । त्यस अनुसार विकास गर्न सके राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटन व्यवसायी र आन्तरिक तथा वाह्य पर्यटकहरुको रोजाईमा पर्ने प्रवल सम्भावना छ ।
समस्याहरु
पर्यटकीय दृष्टिकोणमा अनेक सम्भावना बोकेको थोलेदेम्बा, सामाजिक, सांस्कृतिक, भाषिक, जैविक विविधता सम्बन्धि सूचना सामाग्रीहरु (पदयात्रा सङ्केत तथा तालिका सहितको नक्सा), यातायातको सहज पहुँच, पर्यटकीय भौतिक पूर्वाधार निर्माण नहुनु जस्ता विविध कारणले अझै पछाडि छ । वर्तमान परिस्थितिमा स्थानीयस्तरको पर्यटन विकासमा सरकारी निकाय, राजनीतिकर्मी र स्थानीयहरुको गहिरो लगाव र जनजासोको कमि नै थोलेदेम्बाको विकासको मुख्य चुनौति देखिन्छ ।
कसरी पुग्ने ?
थोलेदेम्बा डाँडा काठमाडौंबाट करिब २१०-२१५ किलो मिटर पूर्वमा अवस्थित छ ।
यो पनि पढ्नुहोस्
सोलुखुम्बुको लुकेको हिरा पिके डाँडा
गुराँसको राजधानी तीनजुरे-मिल्के-जलजले
सोलुखुम्बुको सुन्दर पर्यटकीय गन्तव्य पत्ताले
खोटाङको सुन्दर पर्यटकीय गन्तब्य बराह पोखरी
सोलुखुम्बुको सुन्दर पर्यटकीय गन्तब्य पाँच पोखरी
दक्षिण एसिया र नेपाल कै दोस्रो अग्लो झरना ह्यातुङ
उदयपुरको ऐतिहासिक पर्यटकीय गन्तब्य उदयपुरगढी
देउताहरूले सभा गर्ने संखुवासभाको धार्मिक तथा पर्यटकीय स्थल सभापोखरी
१ दर्जन भन्दा बढी हिमालहरू देखिने भोजपुरको सुन्दर पर्यटकीय गन्तव्य ट्याम्के डाँडा