सोलुखुम्बुको लुकेको हिरा पिके डाँडा Nepalpatra सोलुखुम्बुको लुकेको हिरा पिके डाँडा
२१ फाल्गुन २०७७, शुक्रबार

सोलुखुम्बुको लुकेको हिरा पिके डाँडा


पिके डाँडा

पृष्ठभूमि : सोलुखुम्बु जिल्लामा अवस्थित पिके डाँडालाई पर्यटकहरुले ‘लुकेको हिरा’ पनि भन्दछन् ।

परिचय

पिके डाँडा क्षेत्र सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिकाको वडा नम्बर ३, ९, १० मा पर्छ । सगरमाथा रहेको तथा मनोरम हिमशृंखला र उच्च पर्वतीय क्षेत्र सोलुखुम्बु जिल्लाको पर्यटकीय महत्व बोकेको पिके हिल प्रकृतिले दिएको अनुपम उपहार हो । समुन्द्री सतहबाट ४०७० मिटर उचाईमा रहेको पिके डाँडाबाट आँखै अगाडि सगरमाथा नियाल्न सकिन्छ । पदयात्राका सौखिनहरुको लागि नयाँ गन्तव्यको रुपमा सोलुखुम्बुको पिके डाँडा उत्कृष्ट विकल्प हुन सक्छ । पिके डाँडामा अत्याधिक हावा चल्ने भएकाले न्यानो कपडा लगाएर जानुपर्छ । यहाँको चुप्लुङ, खिजी, फलाँटे, थोलेदेम्बा, ताक्लुङ, लाम्जुरा र पिकेलाई समेटेर पदयात्रा मार्ग निर्माण भएको छ ।

पर्यटकीय महत्व

पतालेदेखि पिके डाँडा हुँदै जुनवेसीबाट धार्मिक महत्व बोकेको दुधकुण्डसम्म पदमार्ग छ । पताले, पिके हुँदै जुनवेसी, दुधकुण्ड पदमार्गलाई ब्यबस्थित गर्न जरुरी छ । पदमार्गको बीच–बीचमा टि हाउस र पर्यटकलाई चाहिने सूचना बोर्डहरु विभिन्न स्थानमा राख्नु जरुरी देखिन्छ । पर्यटनसँग सरोकार राख्ने निकाय तथा प्रर्वद्धन गर्ने निकायले अलिकति सहयोग गर्नुभयो भने यो पदमार्गले सोलुखुम्बु क्षेत्रको मात्र नभएर राज्यको आर्थिक उन्नतिमा सहयोग गर्नेछ ।

धार्मिक तथा सांस्कृतिक महत्व

पिके डाँडा शेर्पा जातिको संस्कृतिसँग समेत जोडिएको छ । कुलदेवतालाई सम्झेर यहाँ शेर्पाहरु पूजाआजा गर्छन् भने हरेक साउन २ गते मेला नै लाग्ने गर्छ । शेर्पा समुदाय धुप (सुनपाती) टिप्नका लागि पनि यहाँ पुग्छन् ।

प्राकृतिक सौन्दर्य

८ हजार मिटरभन्दा अग्ला कन्चनजंघा, मकालु, लोत्से, सगरमाथा, धौलागिरी जस्ता हिमालहरु आँखै अगाडि देख्न पाउँदा जो कसैको पनि मन खुशीले गदगद हुन्छ । साथै पूर्वको कन्चनजघा हिमालदेखि पश्चिमको धौलागीरीसम्म दृश्यावलोकन गर्न सकिन्छ । काठमाडौंदेखि लुक्लाका लागि उडेको हवाईजहाज पिके डाँडाभन्दा तल भएर जाँदाको दृश्य उत्तिकै मनमोहक हुन्छ । प्राकृतिक सौन्दर्यका पारखीहरुका लागि त यो एउटा दिव्य अनुभव नै हुन्छ ।

पर्यटन प्रर्वद्धन

शेर्पा समुदायको संस्कृति र दृष्यावलोकनका लागि आकर्षक गन्तव्य मानिने सोलुखुम्बुको लिखुपिके गाउँपालिका र ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकालाई जोडेर नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी संयुक्त रुपमा पर्यटन प्रवद्र्धन अभियान थालिएको छ ।

पर्यटकिय सम्भावना

प्रचार-प्रसार गर्न सके यो आन्तरीक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तव्य स्थल बन्न सक्छ ।

आकर्षणहरू

विश्वको सर्वोच्च शिखर सगरमाथाको तल्लो क्षेत्रमा सोलुखुम्बुको पिके डाँडा र ओखलढुङ्गाको थोलेदेम्बर अवस्थित छ । यहाँको चुप्लुङ भञ्याङ, खिजी, फलाँटे, थोलेदेम्बा, ताक्लुङ, लाम्जुरा र पिकेलाई समेटेर ट्रेकिङ रुट समेत तयार गरिएको छ ।

समस्याहरु

सहजै पुग्न सकिने भएरपनि पिके डाँडाको उचित प्रचार–प्रसार तथा प्रवद्र्धन हुन सकेको छैन । सल्लेखरीदेखि पिकेडाँडासम्म पदमार्ग ब्यबस्थित गर्न भने जरुरी छ । सल्लेखरीबाट पिके डाँडासम्म जाँदा सूचना बोर्डहरु छैनन् । यसले पर्यटकलाई अलमलमा पर्न सक्ने भएकाले पर्याप्त मात्रामा सूचना बोर्डहरु राख्न जरुरी छ । अथाह सम्भावना भएको यो क्षेत्रको जति पर्यटन प्रवद्र्धन हुनुपर्ने हो, त्यति हुन सकेको छैन ।

कसरी पुग्ने ?

सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीदेखि ३ घण्टा पदयात्रामा पिके डाँडा पुग्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

सोलुखुम्बुको सुन्दर पर्यटकीय गन्तब्य पाँच पोखरी

उदयपुरको ऐतिहासिक पर्यटकीय गन्तब्य उदयपुरगढी

देउताहरूले सभा गर्ने संखुवासभाको धार्मिक तथा पर्यटकीय स्थल सभापोखरी

१ दर्जन भन्दा बढी हिमालहरू देखिने भोजपुरको सुन्दर पर्यटकीय गन्तव्य ट्याम्के डाँडा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु