गुराँसको राजधानी तीनजुरे-मिल्के-जलजले Nepalpatra गुराँसको राजधानी तीनजुरे-मिल्के-जलजले
१७ फाल्गुन २०७७, सोमबार

गुराँसको राजधानी तीनजुरे-मिल्के-जलजले


तीनजुरे-मिल्के-जलजले

पृष्ठभूमि : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा तेह्रथुम जिल्लाको तीनजुरे-मिल्के-जलजलेलाई छनोट गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने गरी २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यको जिम्मा तीनजुरे–मिल्के–जलजलेलाई पनि दिइएको छ ।

परिचय

‘गुराँस’को राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले क्षेत्र अन्तर्गत तेह्रथुमको तीनजुरे, संखुवासभाको जलजले र ताप्लेजुङको मिल्के क्षेत्र मिलेर टिएमजे संरक्षित क्षेत्र बनेको छ । यो क्षेत्रलाई तीन जिल्लाको सङ्गमस्थलको रुपमा समेत चिनिन्छ । टिएमजे क्षेत्रभित्र गुराँस बाहेक अन्य प्रजातिका वनस्पति साना र पोथ्रा मात्र छन् ।

यहाँका उच्च भागहरुमा चौकी, गुफा, मंगलबारे, चाँगे, सम्दु, साँघु जस्ता साना–ठूला वस्तीहरु रहेका छन् । संरक्षित क्षेत्रको रुपमा तेह्रथुमका मोराहाङ, श्रीजुङ, पौठाक, ओयाक्जुङ, इसिवु, सम्दु, खाम्लालुङ, वसन्तपुर, सुङनाम, सोल्मा, जिरिखिम्ती र आम्बुङ गाउँ तोकिएका छन् । सो क्षेत्रभित्र ताप्लेजुङका हाम्पाङ, चाँगे, ढुङ्गेसाँघु, साँघु, फाकुम्बा र थिङ्लाबु तथा संखुवासभाका तामाफोक, मादीमूलखर्क, नूनढाकी, सिद्धपोखरी, जलजला र सभापोखरी गाउँहरु पर्दछन् ।

पर्यटकीय महत्व

गुराँसका प्रजातिको अवलोकनकै लागि यहाँ वर्षेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । समुद्री सतहदेखि एक हजार ७०० मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइमा टिएमजे क्षेत्र फैलिएको छ । यो क्षेत्र तीन जिल्लाका १३ वटा स्थानीय तह अर्थात् साविकका २५ वटा गाविसमा फैलिएको छ । पदयात्राका लागि रमणीय यो क्षेत्रमा प्रत्येक वर्ष ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने अनुमानित तथ्याङ्क छ ।

नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस यहाँ एकै ठाउँमा पाइने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनिएको छ तर, अहिले गुराँसे वन मासिएर कुल वन क्षेत्रको करीब १५ प्रतिशत मात्रै गुराँस रहेको तथ्याङ्क छ ।

प्राकृतिक सौन्दर्य

टिएमजे क्षेत्रमा एउटै बनमा २८ प्रजातिका गुराँस पाइने गर्छ । यहाँ गुराँस फुल्दा पर्यटकको भीड लाग्छ ।

जैविक विविधता

टिएमजे क्षेत्रको गुराँसे वन, विविध प्रजातिको कुहिरे वन, जैविक विविधता, जडीबुटी, सिमसार र तालपोखरी, दुर्लभ प्रजातिका चराचुरुङ्गी तथा वन्यजन्तु लगायतको संरक्षण गर्न स्थानीय स्तरमा राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समिति गठन भएको थियो । टिएमजे क्षेत्रमा चिराइतो, पाखनवेद, लौठसल्ला, बिख्मा, पाँचऔँले, मजिठो, जटामसी, हडचुर, टिमुर लगायत जडीबुटीहरु पाइने गरेका छन् ।

अहिले यो क्षेत्रमा चिराइतोको भने व्यावसायिक खेती समेत भइरहेको छ । बाँकी जडीबुटीहरुको खेतीको सम्भावना भएपनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुगेको छैन । टिएमजे क्षेत्रमा ३३ वटा भन्दा बढी पोखरी रहेका छन् । तीमध्ये सभापोखरी, गुफापोखरी, लामपोखरी, पाँच पोखरी लगायतका पोखरीहरु चर्चित छन् ।

पर्यटन प्रर्वद्धन

तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्रले तीनजुरे मिल्के जलजले क्षेत्रको गुफाबजारमा पहिलो पर्यटक सूचना केन्द्र संचालनमा आएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमको रुपमा रहेको यो क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई एकै ठाउँबाट धेरै जानकारी प्रदान गर्न पर्यटन सूचना केन्द्र स्थापना गरिएको हो । स्थानीय युवाहरुको पहलमा गठन भएको तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्रले नेपाल ग्रामीण पुननिर्माण संस्थाको आर्थिक सहयोगमा सूचना केन्द्र स्थापना गरेको हो ।

पर्यटकिय सम्भावना

धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुले भरिपूर्ण यो क्षेत्र प्रदेश नं १ कै उत्कृष्ट पर्यटकीय आकर्षणको केन्द्रको रुपमा विकास भइरहेको छ । यस क्षेत्र हुँदै कञ्चनजंघा र मकालु हिमाल भ्रमण गर्ने, तमोर नदीमा र्या्फ्टिङ गर्ने र टिएमजे क्षेत्रमा घुम्न आउनेको संख्या पनि उच्च छ । उनीहरुलाई यस क्षेत्रको महत्वबारे दर्शाउन पर्यटन सूचना केन्द्रसँगै संग्रहालय पनि स्थापना गरिएको छ । संग्रहालयमा यो क्षेत्रको ऐतिहासिक पहिचान, लोक संस्कृति तथा परम्परा झल्किने बस्तुहरु राखिएको छ ।

समस्याहरु

संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानुनी रुपमा रूख कटान र जडीबुटी सङ्कलन हुँदै आएको छ । वर्षेनी जनसङ्ख्याको बढ्दो चापसँगै यस्ता गतिविधि वृद्धि भएर गइरहे पनि यसतर्फ कसैको ध्यान गएको छैन । संरक्षण गर्नुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि इन्धनका लागि दाउराको विकल्प नभएकै कारण स्थानीयवासीले गुराँसे वन फँडानी गरिरहेका छन् ।

विभिन्न चाडपर्व र जाडोका लागि उपभोक्ताले इन्धनको जोहो गर्न धमाधम रुख काटिरहेका छन् । खाना पकाउन र आगो ताप्न सरकारले स्थानीय बासिन्दालाई दाउराको विकल्प नदिएसम्म फँडानी नरोकिने देखिन्छ । यहाँ बसोबास गर्ने सर्वसाधारणको इन्धनको स्रोत गुराँसको दाउरा नै हो ।

बाह्रै महिना चिसो र ठण्डा हुने भएकाले आगो ताप्न समेत दाउरा नै प्रयोगमा ल्याइन्छ । माथिल्लो क्षेत्रमा छुर्पीको व्यवसाय अत्यधिक हुने गरेको र गुराँसको काँचो दाउराले छुर्पी सुकाउँदा राम्रो रङ बस्ने भएकाले पनि गुराँसे वन फँडानी बढेको छ ।

यो पनि पढ्नुहोस्

सोलुखुम्बुको लुकेको हिरा पिके डाँडा

सोलुखुम्बुको सुन्दर पर्यटकीय गन्तव्य पत्ताले

खोटाङको सुन्दर पर्यटकीय गन्तब्य बराह पोखरी

सोलुखुम्बुको सुन्दर पर्यटकीय गन्तब्य पाँच पोखरी

उदयपुरको ऐतिहासिक पर्यटकीय गन्तब्य उदयपुरगढी

देउताहरूले सभा गर्ने संखुवासभाको धार्मिक तथा पर्यटकीय स्थल सभापोखरी

१ दर्जन भन्दा बढी हिमालहरू देखिने भोजपुरको सुन्दर पर्यटकीय गन्तव्य ट्याम्के डाँडा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !