२१ पुस २०८१, आइतबार

रोल्पाको सुन्दर धार्मिक पर्यटकीय गन्तव्य जलजला


Rolpa-Jaljala2

पृष्ठभूमि : रोल्पा जिल्ला सदरमुकाम लिबाङबाट पैदल १ घण्टा दूरीको प्रसिद्ध जलजला धार्मिक पर्यकीय गन्तव्य बनेको छ  । जलजला पहाडमा लोपोन्मुख सेतो लालीगुराँसको फूल पाइन्छ ।

परिचय

सडक मार्गबाट जलजला पुग्न थबाङ र जेलबाङ हुँदै यात्रा गर्नुपर्छ  । प्रत्येक वर्ष तीनपटक नियमित वराह पूजा हुने उक्त क्षेत्र भौगोलिक रूपमा मनमोहक र रमणीय छ । जिल्लाकै अग्लो स्थानको जलजला थबाङ गाउँपालिकामा पर्छ । यो क्षेत्र समुद्री सतहबाट ९९० मिटरदेखि ३,२९५ मिटरसम्मको उचाइमा फैलिएर रहेको छ ।

जलजला क्षेत्रको आसपास स्थानमा आवश्यक पर्ने पानीका स्रोत पनि जलजला क्षेत्रको वनबाट आपूर्ति भइरहेको छ । हिउँदमा भेडा(बाख्रा चर्छन् । वर्षायाममा अन्य बस्तुभाउको चरन क्षेत्र बन्छ । भौगोलिक रूपमा सुन्दर भएकाले सबैलाई लोभ्याउँछ । समुद्र सतहबाट ३१९३ मिटर उचाइमा छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

वैशाख, जेठ र साउने पूर्णिमाका दिन जलजलामा विशेष मेला र पूजाआजा लाग्छ । जलजलामा जेठ पूर्णिमामा ठूलो मेला लाग्ने गर्दछ । बराह पूजा गरिने जलजलामा सयौँ भेडाको बलि चढाइन्छ । यहाँ पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । यहाँ वर्षमा तीनपटक ठूलो मेला लाग्ने गर्छ । जलजलाको समथर क्षेत्रमा मन्दिर छ भने मन्दिरदेखि करिब ५ सय मिटर दक्षिणमा भामापुप नामको गुफा पनि छ । मन्दिर र गुफाको दर्शन गरे सन्तान लाभ हुने जनविश्वास छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

पौराणिक कथा अनुसार १२ भाइ वराहको जन्म धौलागिरिमा भएको र त्यहीँबाट जलजला पहाडमा २२ बहिनी बजुको आगमन भएको विश्वास गरिन्छ । त्यसैले, कैलु वराहको पूजा गरेपछि २२ बहिनी रानी बज्युहरूको पूजा गर्ने प्रचलन छ । रोल्पालीको मात्र नभएर जलजला राप्तीवासीकै धार्मिकस्थल पनि हो । यहाँ तीनवटा वराहका मन्दिर रहेका छन् । जसलाई कैलु वराह, बजु वराह र सहदे वराह भन्ने गरिन्छ ।
प्राकृतिक सौन्दर्य

यस क्षेत्रमा विभिन्न प्रकारका वन्यजन्तुु रेड पान्डा, भालु, चितुवा, वन बिरालो, आदि पाइन्छन् । जलजलासँग बाग्लुङको घना वनलाई जोडेर ढोरपाटन सिकार आरक्षसम्म जैविक मार्गका रुपमा विकास गर्न सकेमा दुर्लभ तथा महत्वपूर्ण वन्यजन्तुको अवलोकन गर्न सकिन्छ ।

जैविक विविधता

जलजला क्षेत्र जैविक विविधता, वन्यजन्तु, पानीको स्रोत, खोलानाला, तथा पोखरीजस्ता प्राकृतिक सम्पदाले सम्पन्न छ । यस क्षेत्रमा दुर्लभ, महत्वपूर्ण तथा बहुमूल्य जडीबुटी जस्तैः टिमुर, चिराइतोे, सुगन्धकोकिला, पाँचऔले, कुट्की, रोजमेरी, गुच्छी च्याउ आदि पाइन्छन् । जलजला पहाडमा दुर्लभ पन्छी र वन्यजन्तुहरूको बसोबास पनि छ । यहाँ पाइने डाँफे, मुनाल, कालिज, प्युराजस्ता पन्छीले त्यहा“ पुग्ने पर्यटकलाई स्वागत गरिरहेका हुन्छन् ।

यस्तै विश्वमै दुर्लभ मानिने रेडपाण्डा लगायत विभिन्न बन्यजन्तु, पंछीहरु र विभिन्न प्रजातिका फूलहरु पाइन्छन् । जलजला आसपासमा सेतो समेत गुराँस पाइन्छ । यसैगरी, जलजलामा घोरल, थार, मृग, बँदेल, भालुजस्ता जंगली जनावरहरू पनि पाइन्छन् । दुर्लभ मानिने जटामसी, पदमचाल्ना, केशरनिङ जस्ता दर्जनौं जडीबुटीले पहाडको महत्व बढाएको छ ।

पर्यटकीय सम्भावना

जलामा ठूलो संख्यामा पर्यटक पु(याउन ‘लाइफस्टाइल होलिडे’ ट्राभलले प्याकेज बनाएको हो । समृद्ध रोल्पा फाउन्डेसनको संयोजन रहेको प्याकेजमा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन भ्रमण वर्ष २०२० ले सहकार्य गरेको छ । त्यस्तै थबाङ सामुदायिक होमस्टे र ट्राभल कम्पनीलेसमेत सहकार्य गरेको छ । लिबाङबाट करिब २४ कोश टाढा रहेको जलजला पुग्न धबाङको पेवा, घमिरे हुँदै जानु पर्छ ।

गएकै बाटो फर्कनुको साटो जलजलाबाट थबाङ, जेल्बाङको बाटो हुँदै पनि फर्कन सकिन्छ । थबाङबाट नजिकै मध्यपहाडी लोकमार्ग वा रुकुमपूर्वको भागको समेत अवलोकन गर्न सकिन्छ । जलजलाबाट थबाङको बाटो गएमा परिवर्तन गाउँपालिका हुँदै घर्तीगाउँबाट लिबाङ पुग्न सकिन्छ भने जेल्बाङबाट लिबाङ नगई सीधै सुलिचौर-काठमाडौं जान सकिन्छ ।

कसरी पुग्ने ?

काठमाडौंबाट गाडीमा रोल्पाको टोली नगरपालिकाको १० नम्बर वडा धबाङ पेवासम्म साना पुग्न सकिन्छ । त्यसपछि ओखरेनी हुँदै ६ घण्टा पैदलबाट जलजला पुग्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

पर्यटक लोभ्याउँने प्युठान झिमरुकमा अवस्थित रक गार्डेन

संस्कृत भाषाको व्याकरणको उत्पत्ति र रचना भएको अर्घाखाँचीको पाँणिनी तपोभूमि

विश्व सिमसार क्षेत्रमा सुचिकृत कपिलवस्तुको जगदिशपुर ताल

शान्ति खोज्दै मानिसहरु पुग्ने रुपन्देहीको धार्मिक तथा पर्यटकीय स्थल ग्लोबल पिस पार्क

गौतम बुद्धको मावलीघर रुपन्देहीको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र देवदह

रूपन्देहीको ऐतिहासिक तथा पुरातात्विक सम्पदाको धनी सैनामैना पर्यटकीय क्षेत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !