७ मंसिर २०८१, शुक्रबार

युवा स्वरोजगार र अनुदान कार्यक्रम कार्यकर्तालाई मात्रै होकी जनतालाई पनि ?


रामचन्द्र तिम्सिना

एउटा राम्रो कामको शुरुवात भएको थियो तर जनतालाई कि कार्यकर्तालाई मात्र ? लोकप्रिय यस्ता कार्यक्रमले कार्यकर्ता पोस्ने र नेता मोटाएका मात्र पो हुन कि ? जनता माझ प्रश्नै प्रश्न र अन्यौलताको बिजारोपरण भैरहेको बेलामा बर्षौंदेखि बेरोजगार गाउँका अरु दाजुभाई देख्दा मन कटक्क खायो ।

खाडी मलेसिया भासिनु पर्ने बाध्यता वीच म जस्ता धेरै मजदुर त आशावादी नै थियौं । आहा घर मै बसेर रोजगार पाईने भो, मीठो मसिनो जे छ आफ्नै लालाबाला र प्राण प्यारीसंगै बसेर खान पाईने भयो । जिन्दगीको भारीले थिचिएर थलिएका बुबाको सेवा गर्न पाईने भयो आफू पटुकी कसेर छोराछोरीको भविष्य खोज्ने आमालाई तातो जाउलो पकाएर खान दिन पाईने भयो । छोरा-छोरीले कापी कलम माग्दा टाउको कन्याउन नपर्ने भयो ।

नुन तेल मसलाको लागि एका बिहानै साहुकोमा भिख माग्न जान नपर्ने भयो । हप्तामा ३ दिन काम गरेर घर धान्न गारो भाको बेला ४ दिन चिन्ताले रक्सी पिउनु नपर्ने भयो । बेरोजगारले पिरोलिदै गाउँ डुल्दा तास खेलेर दिन बिताउनु नपर्ने भयो । श्रीमतीले चोली माग्दा पैसा छैन भनेर हप्काउनु नपर्ने भयो । चाडवाड आउँदा पिडाले पोलेर सिरानी भिजाउनु नपर्ने भयो ।

तर……..तर ,

बिगतका अनुभवलाई हेर्दा यो पनि एउटा मीठो भाषण नै हो जस्तो लाग्दैछ । चिल्ला र मिठा कुरामा अल्झाएर देशलाई पुन: २०१७ साल र २०२५ को जस्तै पीडा दिने पो हुन कि शंका धेरै रह्यो । ठुला कलकारखानाहरु निजिकरणको नाममा बेचिएको देशमा बिश्वास गर्ने कुनै दरिलो आधार पनि देखिएन ।

१० रुपैयाँको हात्तिछाप पड्काउँदै हिडेकाहरु हात्ती चढेर हिडेको देख्दा झनै आशा बिलायो । सर्वहाराको मुक्तिका लागि भन्दै हजारौं युवाको बलि चढाएकाहरु तिनै लुटेरासंग मिलेर लुटेको देख्दा झनै आशा हरायो । सोझा र निमुखा जनता भुलाएर आफ्नो रावण राज टिकाउन चालिएका यस्ता षड्यन्त्रका महाजालहरुमा अल्झिएर तड्पिनु भन्दा त बिदेशीको गुलामी नै सहि ।

तड्पिएरै भएपनि भुराहरुले केही अक्षर चिन्न पाउँछन किनेरै भए पनि पेट् भर्न त पाउँछन । नत्र त यहाँ रोगले थलिदा भोक प्यास र छट्पटीले पिरोल्दा कठै भनेर कुनै दलले भनेनन र भन्ने पनि छैनन सबै दलाल हुन चोर हुन फटाहा हुन् । गरीव जनता मरुन कि बाँचुन यिनलाई के मतलब ।

खेती गर्यो समय मै मल पाईदैन बीउ पाईदैन । उत्पादित अन्नपातले बजार पाउँदैन । बजार पए उचित उचित मूल्य पाईदैन । लुटि खाने खोसी खाने बिचौलियाको भरमार छ । ढोलक जति ठूलो र जति नै जोडले बजे पनि भित्र खोक्रो नै हुन्छ, दरिलो आशाको दियालो निभिसकेको छ, बिदेशीको मैनबत्तिले जगाउन नखोज ।

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !